बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
१०औँ स्मृति दिवस

सम्झनामा ‘सुशील दा’ : २०१७ सालको ‘कु’पछि हलिउड यात्रा छाडेर राजनीतिमा

सोमबार, २६ माघ २०८२, १६ : ४६
सोमबार, २६ माघ २०८२

सारांश

  • सुशील कोइरालाको १०औँ स्मृति दिवस मनाइयो, उनी २०७२ मा संविधान जारी हुँदा प्रधानमन्त्री थिए।
  • कोइराला निमोनियाबाट ग्रसित भई निधन भएको थियो, उनी कांग्रेसमा 'सुशील दा' को नामले परिचित थिए।
  • कोइरालाले लामो समय राजनीतिमा बिताए, उनले मन्त्री पद अस्वीकार गरे र संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेले।

काठमाडौँ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आज १०औँ स्मृति दिवस ।

संविधानसभामार्फत २०७२ असोज ३ गते संविधान जारी हुँदा उनी नेपालका प्रधानमन्त्री थिए, संविधान जारी भएको चार महिनापछि अर्थात् माघ २६ गते काठमाडौँको महाराजगन्जस्थित आफ्नै निवासमा उनको निधन भएको थियो । निमोनियाबाट ग्रसित उनको आकस्मिक निधन भएको थियो ।

कांग्रेसीमाझ ‘सुशील दा’का नामले चिनिने कोइराला दोस्रो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बन्न सफल भएका थिए । सोही वर्षको माघ २७ गते उनी नेपालको ३७औँ प्रधानमन्त्री बनेका थिए ।

पिता बोधप्रसाद र माता कुमुदिनीका जेठो छोरा कोइरालाको जन्म १९९५ सालमा विराटनगरमा भएको थियो । बोधप्रसादका ६ छोरा र एक छोरी थिए, उनी वन अधिकृत थिए । बोधप्रसाद जागिरको सिलसिलामा बाँकेको नेपालगन्ज पुगेका थिए, सुशील पनि त्यहीँ हुर्किए ।

२०१० सालदेखि राजनीतिमा सक्रिय सुशील २०१७ मा प्रजातन्त्रको अपहरणपछि १६ वर्षसम्म भारतमा प्रवासमा रहे । त्यहाँ रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र ‘तरुण’को सम्पादन गरे । नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका उनी २०३६ सालमा कांग्रेसको केन्द्रीय सदस्य भएका थिए । ०३६ सालको जनमत संग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाएका सुशीलले ०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए ।

कांग्रेसको लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म भए उनी । ११औँ महाधिवेशनपछि उपसभापतिको जिम्मेवारी सम्हालेका उनी २०६४ असोजमा कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरण भएसँगै कार्यवाहक सभापतिको जिम्मेवारीमा थिए ।

१२औँ महाधिवेशनबाट भने उनी शेरबहादुर देउवालाई पराजित गर्दै सभापतिमा निर्वाचित भए, प्रधानमन्त्रबाहेक सरकारी लाभमा नबसेका सुशीललाई कांग्रेस वृत्तमा सन्त राजनीतिक नेताका रूपमा लिइन्छ ।

२०४६ सालपछि पार्टीको परराष्ट्र सम्बन्ध विभागका प्रमुख भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०४८ र २०५६ मा बाँके जिल्लाबाट निर्वाचित भएका उनी २०५८ सालमा संसदीय दलको नेतामा देउवासँग पराजित भए । २०५१ को मध्यावधि र २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पराजित उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने बाँकेबाट निर्वाचित भए ।

पाँच दशक राजनीतिमा बिताएका कोइरालाले २०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए ।

२०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा सुशीललाई कांग्रेसका नेताहरूले परराष्ट्रमन्त्री बन्न आग्रह गरेका थिए, तर त्यो आग्रह आफूले अस्वीकार गरेको कोइरालाले सार्वजनिक कार्यक्रमहरूमै बताएका थिए, कोइरालालाई त्यसपछि पनि पटकपटक उपप्रधानमन्त्री बन्न आग्रह गरिए पनि उनले अस्वीकार गरिरहे ।

एकैपटक प्रधानमन्त्री बनेका उनले नेतृत्व लिएको बेलामा नेपालमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको थियो ।

  • महेन्द्रले सत्ता हातमा लिएपछि राजनीति सुरु

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले विश्वेश्वरप्रसाद कोइराला (बीपी) नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि सुशीलको राजनीतिक यात्रा सुरु भएको थियो । राजाको ‘कू’ पछि भारत निर्वासनमा रहेका बीपीको सहयोगीका रूपमा उनले राजनीतिक यात्रा प्रारम्भ गरेका थिए ।

लोकतन्त्रप्रतिको निष्ठा र लगावलाई यिनका विरोधीहरू पनि प्रशंसा गर्छन् । २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका कोइराला थप कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा थिए, त्यसैबेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेपछि उनको यात्रा मोडियो । हलिउड (अमेरिका) जान लागेका सुशीलले राजनीतिक यात्रा सुरु गरेका थिए ।

कांग्रेस सभापति गगन थापा सुशीलले सबैलाई समन्वय गर्दै संविधान जारी गराउन सफल भएको बताउँछन् । कोइरालाको योगदानले संविधानको प्रभावकारी कार्यान्वयनतर्फ दृढ प्रतिबद्ध रहन प्रेरणा दिइरहेको उनको भनाइ छ । ‘सबैलाई समन्वय गर्दै संविधान जारी गराउन सफल आदरणीय सुशील कोइरालाको योगदानले आज पनि हामी सबैलाई संविधानको प्रभावकारी कार्यान्वयनतर्फ दृढ प्रतिबद्ध रहन प्रेरणा दिइरहेको छ,’ सभापति थापा कोइरालालाई सम्झँदै भन्छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले सुशीललाई निष्ठावान र त्यागी नेताका रूपमा चित्रण गर्दै उनकै दृढ संकल्प र नेतृत्वमा नेपाली जनताको सात दशक लामो ‘संविधानसभाबाट संविधान’ पाउने सपना साकार भएको बताउँछन् ।

‘नेपाली राजनीतिका निष्ठावान र त्यागी नेता, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइराला ज्यूको १०औं स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ डा. कोइराला भन्छन्, ‘उहाँकै दृढ संकल्प र नेतृत्वमा नेपाली जनताको सात दशक लामो ‘संविधानसभाबाट संविधान’ पाउने सपना साकार भएको थियो । उहाँको सरल जीवनशैली र ’निष्ठाको राजनीति’ आज पनि हामी सबैका लागि प्रेरणाको स्रोत हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप