एप्स्टिनको टापुमा गएको अमेरिकी व्यापार मन्त्री लुटनिकको स्वीकारोक्ति
सारांश
- अमेरिकी न्याय मन्त्रालयले जेफ्री एप्स्टिनसँग सम्बन्धित ३० लाख नयाँ दस्तावेज सार्वजनिक गरेको छ, जसले विश्वभर हलचल मच्चाएको छ।
- फाइलहरूमा अमेरिकी व्यापार मन्त्री हावार्ड लुटनिक एप्स्टिनको टापुमा गएको र हिलारी क्लिन्टनको फन्डरेजरमा एप्स्टिनलाई निम्तो दिएको विवरण रहेको छ।
- दस्तावेजहरूले एप्स्टिनको शक्तिशाली व्यापारी, प्राविधिक र राजनीतिक व्यक्तिहरूसँगको जटिल सम्बन्ध उजागर गरेको छ, जसले नयाँ बहस निम्त्याएको छ।
वासिङ्टन डीसी । अमेरिकाको न्याय मन्त्रालयले यौन दुराचारी जेफ्री एप्स्टिनसँग सम्बन्धित ३० लाख नयाँ दस्ताबेज सार्वजनिक गरेपछि विश्वभर तरङ्ग उत्पन्न भएको छ । यसमा संसारका कयौँ धनाढ्य र शक्तिशाली व्यक्तिहरूसँग एप्स्टिनको सम्बन्ध छताछुल्ल भएको छ ।
त्यस्तै, अमेरिकी व्यापार मन्त्री हावार्ड लुटनिक पनि एप्स्टिनको टापुमा गएको तथ्य देखिएकाे छ । फाइलहरू ढिलो सार्वजनिक गरेर ट्रम्प प्रशासनले ढाकछोप गर्न खोजेको कुरा उपमहान्यायाधिवक्ता टोड ब्लान्चले अस्वीकार गरेका छन् ।
फाइलमा एप्स्टिन र उनका पूर्व प्रेमिका तथा निकट सहयोगी घिस्लेन म्याक्सवेलको जेल समय, पीडितहरूसँगको साक्षात्कार र एप्स्टिनको मृत्युको सरकारी अनुसन्धानसम्बन्धी सामग्री समावेश छन् ।
मंगलबार लुटनिकले आफू परिवारसहित एप्स्टिनको टापु भ्रमणमा गएको स्वीकारेका छन् । यसअघि उनले सन् २००५ मै एप्स्टिनसँग सम्बन्ध तोडेको र सन् २०१२ सम्म एप्स्टिनसँग कुनै समय नबिताएको दाबी गरेका थिए ।
लुटनिक र एप्स्टिन सन् २०११ मा कम्तीमा दुई पटक बैठकमा भेटेका थिए । फाइलमा लुटनिकले सन् २०१५ मा हिलारी क्लिन्टनको फन्डरेजरमा एप्स्टिनलाई निमन्त्रणा गरेको र सन् २०१७ मा एप्स्टिनले लुटनिकको नाममा अज्ञात संस्थालाई ५० हजार डलर दान गरेको इमेल पनि छ ।
लुटनिकले भेटघाटहरू ‘सामान्य’ रहेको र भ्रमणमा ‘कुनै आपत्तिजनक कुरा’ नभएको बताएका छन् । भ्रमणमा किन गएको भन्ने चाहिँ आफूलाई सम्झना नभएको उनको भनाइ थियो । फाइलहरूले एप्स्टिनसँगको सम्बन्धमा विभिन्न शक्तिशाली व्यापारी, उद्योगका दिग्गज प्राविधिक र राजनीतिक व्यक्तिहरूसँगको जटिल नेटवर्क उजागर गरेको छ ।
यसले अमेरिकी अदालत र सेनेटमा नयाँ बहस र सुनुवाइहरूलाई जन्म दिएको छ । दस्ताबेज सार्वजनिक भएसँगै एप्स्टिन मामिलासँग सम्बन्धित व्यक्तिहरूको व्यापारिक र व्यक्तिगत सम्बन्धमा विवाद र अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण