मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपको सुपर आठमा पुग्नसके नेपाली क्रिकेटले ठूलो फड्को मार्छः उपाध्यक्ष सिंह

बिहीबार, २९ माघ २०८२, १३ : २९
बिहीबार, २९ माघ २०८२

काठमाडौं । भारतमा जारी आइसिसी टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा नेपाल जितको नजिक पुगेर पनि पराजित भयो। दुईपटकको विश्व च्याम्पियन इङ्ल्याण्डसँग चार रनले हार बेहोरेपछि ठूला राष्ट्रसँग खेल्ने अनुभवको कमी देखिएको टिप्पणी हुन थालेको छ।

पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले टेस्ट राष्ट्रविरुद्ध नियमित खेल्ने अवसर नपाएको स्वीकार गरे। अघिल्लो संस्करणमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको नेपालले यसपटक पनि अन्तिम क्षणमा जित जोगाउन सकेन। लगातार दुई विश्वकपमा ठूला टोलीविरुद्ध नजिकको हार बेहोर्नु नेपाली टोलीका लागि चुनौती बनेको छ।

कप्तान रोहितले भारत, अस्ट्रेलिया र इङ्ल्याण्डजस्ता टोलीलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलाउन पहल गर्नुपर्ने बताएका छन्। उनका अनुसार घरेलु मैदानमा यस्ता खेल हुँदा नेपाली खेलाडीले अनुभव बटुल्ने अवसर पाउनेछन्।

यहीबिचमा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले सन् २०२२ देखि टेस्ट राष्ट्रसँग द्विपक्षीय श्रृंखला आयोजना गर्ने प्रयास गरिएको बताए। अन्तिम समयमा श्रीलंका र अफगानिस्तानसँगको सम्भावित श्रृंखला सफल हुन नसकेको उनले उल्लेख गरे। श्रीलंकामा एशिया कपका बेला त्यहाँको बोर्डसँग सकारात्मक छलफल भएको भए पनि व्यस्त अन्तर्राष्ट्रिय क्यालेण्डरका कारण योजना अघि बढ्न नसकेको उनको भनाइ छ।

उनका अनुसार दक्षिण अफ्रिकाविरुद्धको प्रतिस्पर्धापछि अन्तर्राष्ट्रिय समुदायमा नेपाली क्रिकेटप्रति सकारात्मक दृष्टिकोण बनेको छ। गत वर्ष वेस्ट इन्डिजसँग श्रृंखला खेल्नु महत्वपूर्ण उपलब्धि भएको र त्यस्ता खेलले खेलाडीको आत्मविश्वास बढाउने विश्वास उनले व्यक्त गरे।

वाङखडे स्टेडियममा नेपाली समर्थकको उल्लेखनीय उपस्थितिले पनि अन्तर्राष्ट्रिय निकायको ध्यान तानेको उनले बताए। इङ्ल्याण्डविरुद्ध नेपाली खेलाडीको प्रदर्शनप्रति आइसिसी पदाधिकारीले प्रशंसा गरेको दाबी गर्दै उनले यसले भविष्यमा सहकार्य र अवसर बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। विश्वका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा नेपाली खेलाडीले अवसर पाउने आधार बलियो बन्दै गएको उनको भनाइ छ।

जारी विश्वकपमा नेपाल सुपर आठ चरणमा पुग्न सके क्रिकेट विकासमा ठूलो फड्को मार्ने उनले उल्लेख गरे। समूह ‘सी’ मा रहेको नेपालले इङ्ल्याण्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। नेपालले बिहीबार दोस्रो खेलमा इटालीसँग खेल्नेछ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप