बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाली चलचित्र

चुनावी सरगर्मी बढ्यो, सिनेमा हलमा चहलपहल घट्यो

सोमबार, ०४ फागुन २०८२, ०८ : ००
सोमबार, ०४ फागुन २०८२

सारांश

  • निर्वाचनको कारणले गर्दा फागुन महिनामा रिलिज हुने फिल्महरू प्रभावित भएका छन् र हलमा दर्शकको संख्या घटेको छ।
  • निर्वाचनको मिति घोषणा भएपछि केही फिल्महरूले प्रदर्शन मिति सारिसकेका छन्, भने केही फिल्महरू रिलिज भए पनि दर्शकको कमी देखिएको छ।
  • फिल्म वितरकहरूले निर्वाचनको समयमा दर्शकको प्राथमिकता र सुरक्षाको अवस्थालाई लिएर अन्योल व्यक्त गरेका छन्, जसले गर्दा लगानी जोखिममा पर्न सक्ने देखिएको छ।

काठमाडौं । देशभर चुनावी सरगर्मी बढिरहेको छ । राजनीतिक माहोल बढ्दै जाँदा सिनेमा हलमा भने चहलपहल घट्न थालेको छ । फागुन महिना नेपाली फिल्मको व्यापारका लागि राम्रो मानिन्छ । विगतका वर्षलाई हेर्ने हो भने फागुनमा फिल्म चलाउन निर्माताहरूबिच ठुलै हानथाप हुन्थ्यो । त्यस हिसाबमा यो फागुन नेपाली बक्स अफिसका लागि खल्लो देखिन्छ ।

चुनावका कारण फागुनको सुरूवाटै फिल्म रिलिज प्रभावित बनेको छ । निर्वाचन मिति तोक्नु अगाडि फागुन १ गते ५ फिल्मले प्रदर्शन मिति तोकेका थिए । तर निर्वाचन घोषणा भएपछि ‘कल्ली’ र ‘लालीबजार’ पछि हटे । बाँकी रहेका तीन फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ मात्र रिलिज भए । ‘लालीबजार’ सरेर वैशाख २८ मा पुगेको छ भने ‘कल्ली’ले नयाँ मिति तय गर्न बाँकी छ । प्रदर्शनमा आएका फिल्मले पनि सोचेजस्तो दर्शक पाउन सकेका छैनन् ।

हुन त राजनीति र फिल्म दुवै मानिसको मनोविज्ञानलाई प्रभाव पार्ने विषय हुन् । जब–जब राजनीति मैदानमा उत्रिन्छ, तब मनोरञ्जनको क्षेत्र ओझेलमा पर्ने गर्छ । त्यसैले पनि फागुन १ पछि रिलिज फिल्मको भिड छैन । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा फागुन ८ गते खाली देखिएको छ भने १५ मा एक ‘प्रवासी जीवन’ मात्र छ । फागुन २१ मा निर्वाचन मिति भएकाले फागुन २२ मा कुनै फिल्म छैन । फागुनको अन्तिम साता अर्थात् २९ गते भने एक फिल्म ‘लालिमा’ प्रदर्शनमा आउने तयारीमा छ । निर्वाचन भएपनि मतगणना सकिएन भने ‘लालिमा’को प्रदर्शन पनि प्रभावित हुनसक्छ ।

फिल्म वितरक करण श्रेष्ठ अहिलेको अवस्था पर्ख र हेरको रहेको बताउँछन् । ‘यो फागुन महिना नेपाली फिल्म उद्योगका लागि निकै उत्साहजनक हुनुपर्ने थियो, तर २१ गतेको निर्वाचनले माहोल फरक बनाइदियो’, श्रेष्ठ भन्छन्, ‘हामी वितरक र लगानीकर्ताहरूका लागि निर्वाचनको यो समय अन्योलपूर्ण छ । निर्वाचनका बेला दर्शकको प्राथमिकता के हुन्छ र सुरक्षाको अवस्था कस्तो रहन्छ भन्ने कुराले हामीलाई पिरोल्छ ।’

समयानुकूल नदेखेर यसपटक फागुनका फिल्महरूलाई आफूहरुले पछि पारेको उनी बताउँछन् । ‘कतिपयलाई फिल्मको अभावले यस्तो भएको हो कि भन्ने लाग्न सक्छ’, श्रेष्ठ भन्छन्, ‘हामीसँग फिल्मको कुनै कमी छैन । यदि अबको दुई वर्षसम्म कुनै पनि नयाँ फिल्म छायाङ्कन नगर्ने हो भने पनि प्रदर्शनका लागि पर्याप्त फिल्महरू स्टकमा छन् ।’ चुनावको रापतापमा फिल्म रिलिज गर्नु भनेको लगानीको जोखिम मोल्नु भएको उनी बताउँछन् ।

‘व्यापार मात्र सबैथोक होइन । हामी चलचित्रकर्मी हुनुभन्दा पहिले यो देशको जिम्मेवार नागरिक पनि हौँ । देशमा निर्वाचन हुनु भनेको लोकतन्त्रको सुदृढीकरण हो,’ श्रेष्ठ भन्छन्, ‘यदि यो निर्वाचनले देशको हित गर्छ भने हाम्रो व्यावसायिक योजनामा केही सम्झौता हुनुलाई हामीले सकारात्मक रूपमै लिएका छौँ ।’

निर्वाचनका बेला आम मानिसको ध्यान राजनीतिक समाचार, उम्मेदवार र भोटतिर मोडिएको हुन्छ । यस्तो अवस्थामा फिल्मको प्रचारप्रसार ओझेलमा पर्ने र दर्शकको प्राथमिकतामा फिल्म नपर्ने डर निर्माताहरूलाई रहन्छ । फिल्म बनाउनु एउटा पाटो हो, तर सही समयमा प्रदर्शन नगरे लगानी बालुवामा पानी जस्तै हुन्छ ।

फागुनमा रिलिजमा देखिएको असरलाई लिएर अभिनेता तथा चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछाने पनि चिन्तित छन् । उनी फागुनमा फिल्म नहुनुको मुख्य कारण निर्वाचनकै डर भएको बताउँछन् ।

‘विगतका वर्षहरूमा फागुन फिल्म रिलिजका लागि निकै व्यस्त महिना हुने गर्थ्यो, तर यसपालि ९ र १५ गतेका एक पनि फिल्म छैन’, लामिछाने भन्छन्, ‘यो सबै निर्वाचनकै प्रभाव हो । मेकरहरूमा निर्वाचनको माहोलका कारण दर्शकहरू हलसम्म आउँदैनन् कि भन्ने एउटा आकलन छ, जसले गर्दा उनीहरूले यो समयमा रिस्क लिन चाहेनन् ।’ उनी अहिले चलिरहेका फिल्महरूको व्यापार उत्साहजनक नहुनुको कारण पनि नजिकिँदो निर्वाचन भएको उनको बुझाइ छ ।

  • के होला यी फिल्म ?

निर्वाचन नजिकिँदै गर्दा फिल्म हलहरूमा दर्शकको कमी अहिलेदेखि नै देखिन थालेको छ । चुनावी चटारोका कारण फिल्म क्षेत्र सुस्ताउँदा आगामी फागुन १५ र २९ गते प्रदर्शनको तयारीमा रहेका दुई फिल्म ‘प्रवासी जीवन’ र ‘लालिमा’ तोकिएकै मितिमा आउँछन् वा सर्छन् अन्योल छ । फागुन १५ गते निर्वाचन प्रचारप्रसारको पिक समय हो भने २९ गतेसम्म मतगणनाको परिणाम आउने क्रम नसकिन पनि सक्छ । यस्तो राजनीतिक सरगर्मीका बिच फिल्म रिलिज गर्नु निर्माताका लागि ठुलो जोखिम हुनसक्छ ।

‘प्रवासी जीवन’ अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म हो । फागुन १५ गतेदेखि देशव्यापी प्रदर्शन हुने भनिएको यस फिल्मले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष र सफलताको कथा प्रस्तुत गर्छ । श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा हमालका साथै सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत लगायतको अभिनय छ ।

यस्तै, फागुन २९ गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ तीन हजार यौनकर्मीको वास्तविक अनुभव र भोगाइमा आधारित भएर निर्माण गरिएको छ । रोशन मिराजको निर्देशन रहेको फिल्ममा रोशनी कार्की, शिशिर बाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलाको मुख्य भूमिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप