बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वजन कम गर्ने अचुक उपाय तपाईंकै भान्सामा छ उपलब्ध

मङ्गलबार, ०५ फागुन २०८२, ०७ : १३
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • मोटोपन धेरैको समस्या बनेको छ र तौल घटाउन मसला सहयोगी हुनसक्छन्।
  • रातो खुर्सानी, दालचिनी, अदुवा, बेसार र मरिचले मेटाबोलिजम सुधार गर्छन् र तौल घटाउन मद्दत गर्छन्।
  • मसलाले तौल घटाउन सहयोग गरे पनि स्वस्थ आहार र क्यालोरी नियन्त्रण आवश्यक छ।

काठमाडौँ । पछिल्लो समय मोटोपन धेरैको टाउको दुखाइ बनेको छ । तौल घटाउन मानिसहरू बिहान जिम जानेदेखि महँगा औषधिको समेत सेवन गरिरहेका छन् । तपाईँ पनि तौल घटाउन त्यस्ता औषधि वा ट्रेन्डी डाइटमा भर पर्दै हुनुहुन्छ ? तर बोसो पगाल्न हाम्रै भान्सामा सदैव पाइने केही मसला नै सहायक हुन सक्छन् भन्ने के तपाईँलाई थाहा छ ?

बेलायती पोषणविद् जिब एटकिन्सका अनुसार केही सामान्य मसलाहरूले शरीरको मेटाबोलिजम सुधार गरेर तौल घटाउन सहयोग गर्न सक्छन् । यी मसलाहरूले जादु गरेजसरी काम त गर्दैनन्, तर तपाईँ पहिले नै स्वस्थ आहार पालना गरिरहनुभएको छ र क्यालोरी नियन्त्रण गर्दै हुनुहुन्छ भने तौल घटाउने तपाईंको प्रयासमा यी मसला सहायक हुन सक्छन् ।

रातो खुर्सानी
रातो खुर्सानीले शरीरको मेटाबोलिजमलाई गति दिन मद्दत गर्दछ । यसले भोक कम गर्छ र तपाईँलाई लामो समयसम्म पेट डम्म भरिएको महसुस गराउँछ । यसको मतलब तपाईंले कम क्यालोरी खानुहुन्छ र तपाईंको शरीरले बढी क्यालोरी जलाउँछ ।

दालचिनी  
दालचिनीले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्दछ । जब रगतमा चिनी अचानक बढ्छ, शरीरले बढी बोसो भण्डारण गर्छ । दालचिनीले यो प्रक्रियालाई सन्तुलनमा राख्न र तौल बढ्नबाट रोक्न मद्दत गर्न सक्छ ।

अदुवा
अदुवाले शरीरमा थर्माेजेनेसिस बढाउँछ । यसको अर्थ शरीरले बढी गर्मी उत्पादन गर्छ र बढी क्यालोरी जलाउँछ । यसले बोसो घटाउने गति बढाउन सक्छ ।

बेसार  
बेसारमा करक्युमिन नामक यौगिक हुन्छ, जसले सुन्निएको कम गर्ने र इन्सुलिन संवेदनशीलता सुधार गर्न मद्दत गर्दछ । चिनीलाई बोसोको रूपमा भण्डारण गर्नुको सट्टा ऊर्जाको रूपमा प्रयोग गर्न यसले शरीरलाई मद्दत गर्दछ ।

मरिच  
मरिचमा पाइपरिन नामक यौगिक हुन्छ । यसले शरीरमा नयाँ बोसो कोषहरू बन्नबाट रोक्न मद्दत गर्न सक्छ । यसले बोसोको ब्रेकडाउनलाई पनि गति दिन्छ । तर तौल कम गर्न मसलाहरूको सेवन मात्रै पर्याप्त हुँदैन । यी मसला सेवन पक्कै पनि फाइदाजनक छन् । तर यसले मात्रै तौल घटाउन सक्दैन ।

शरीरको बोसो घटाउन सबैभन्दा महत्त्वपूर्ण कुरा सकेसम्म कम क्यालोरीको खपत हो । अर्थात् तपाईंले उपभोग गर्नुभन्दा बढी क्यालोरी नष्ट गर्नुपर्छ ।

(अस्वीकरणः सल्लाहसहित यो सामग्री सामान्य जानकारीका लागि तयार पारिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप