वैदेशिक व्यापार : वीरगञ्ज भन्सार आयात र निर्यात दुवैमा शीर्ष स्थानमा
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा वीरगञ्ज भन्सारले सबैभन्दा बढी व्यापार गरेको छ।
- वीरगञ्ज भन्सारले कुल आयातको ४६.२० प्रतिशत र निर्यातको ३४.३४ प्रतिशत हिस्सा ओगटेको छ।
- तातोपानीबाट आयातमा सुधार देखिए पनि निर्यात शून्य छ भने गौतम बुद्ध विमानस्थलको योगदान नगण्य छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) मा वैदेशिक व्यापारमा वीरगञ्ज भन्सार कार्यालयले सबै भन्दा बढी व्यापार गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पछिल्लो सात महिनाको तथ्याङ्कले यस्तो जनाएको हो । मुलुकमा भित्रिने कुल आयात र बाहिरिने निर्यात दुवैमा वीरगञ्ज भन्सारको हिस्सा सबैभन्दा ठुलो देखिएको छ ।
सात महिनाको अवधिमा नेपालले कुल ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमध्ये वीरगन्ज भन्सार एक्लैले ५ खर्ब १९ अर्ब ३५ हजार रुपैयाँ (४६.२० प्रतिशत) बराबरको वस्तु भित्र्याएको छ । यो अन्य भन्सार नाकाको तुलनामा निकै फराकिलो अन्तर देखिएको छ ।
आयातका आधारमा भैरहवा भन्सार दोस्रो स्थानमा छ । भैरहवाबाट १ खर्ब ६५ अर्ब ८ लाख (१४.६९ प्रतिशत) को आयात भएको छ ।
त्यस्तै, विराटनगर भन्सार तेस्रो स्थानमा रहँदै १ खर्ब ३५ अर्ब ३५ लाख (१२.०५ प्रतिशत) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौथो स्थानमा रहँदै १ खर्ब २६ अर्ब २५ लाख (११.२४ प्रतिशत) रुपैयाँ बराबरको वस्तु आयात गरेका छन् ।
निर्यातमा पनि वीरगञ्ज नै अगाडि
आयात मात्र नभएर वीरगञ्ज भन्सार तेस्रो मुलुकतर्फ हुने निर्यातमा पनि मुख्य नाका बनेको छ । कुल १ खर्ब ६८ अर्ब १४ करोडको निर्यात व्यापारमा वीरगन्ज भन्सारबाट मात्रै ५७ अर्ब ७३ लाख रुपैयाँ (३४.३४ प्रतिशत) बराबरको वस्तु निर्यात भएको छ ।
निर्याततर्फ भने विराटनगर भन्सार दोस्रो ठुलो नाका बनेको छ । विराटनगरबाट ४८ अर्ब ५२ लाख (२८.८६ प्रतिशत) को निर्यात भएको छ । तेस्रो स्थानमा रहेको त्रिभुवन विमानस्थलबाट २१ अर्ब २७ लाख (१२.६५ प्रतिशत) र चौथो स्थानमा रहेको भैरहवाबाट १८ अर्ब ३ लाख (१०.७३ प्रतिशत) को निर्यात भएको छ। मेची भन्सारले पनि निर्यातमा ९.५३ प्रतिशत हिस्सा ओगटेको छ ।
तातोपानीबाट आयात राम्रो, निर्यात शून्य
उत्तरी नाका तातोपानीबाट आयात व्यापारमा सुधार देखिएको छ । यो नाकाबाट सात महिनामा २६ अर्ब २७ लाख रुपैयाँ (२.३४ प्रतिशत) बराबरको सामान भित्रिएको छ । तर, यस अवधिमा तातोपानी नाकाबाट निर्यात भने शून्य देखिएको छ। त्यस्तै, भद्रपुर, गौतम बुद्ध विमानस्थल, जनकपुर, कञ्चनपुर लगायतका नाकाबाट पनि निर्यात भएको देखिँदैन ।
सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यापारिक योगदान भने अझै नगण्य देखिएको छ । यो नाकाबाट सात महिनामा जम्मा ४ हजार ५ सय ९३ रुपैयाँ बराबरको मात्र आयात भएको छ भने निर्यात शून्य छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण