बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘यो निर्वाचनमा यथास्थितिवाद र प्रियतावाद दुवै हार्नुपर्छ’

यो चुनावपछि झन् ठुलो संकट आउँछ : डम्बर खतिवडा, विश्लेषक तथा पिपुल फस्ट पार्टीका नेता
आइतबार, १० फागुन २०८२, १० : ००
आइतबार, १० फागुन २०८२

खरो तर यथार्थ अभिव्यक्ति र सशक्त कलम डम्बर खतिवडाको एउटा परिचय हो। राष्ट्रिय राजनीतिमा गहिरो अध्ययन गरेका खतिवडा अन्तर्राष्ट्रिय घटना र परिघटनामा पनि उत्तिकै विश्लेषण गर्ने ल्याकत राख्छन्।

राजनीतिक विश्लेषकको पहिचान बनाएका उनी अहिले भने आफूलाई 'पिपुल फस्ट पार्टी'को नेता भन्न रुचाउँछन्। खतिवडा अहिलेको चुनावको विकल्प त देख्दैनन्, तर यो चुनावप्रति उनका थुप्रै प्रश्न छन्। यो कस्तो चुनाव हो ? किन गर्न लागिएको हो ? भन्ने प्रश्न त छँदै छ।

जेनजी विद्रोहका माग सम्बोधन नगरी गरिएको चुनावले अर्को संकट निम्त्याउने उनको आशंका छ। चुनावपछि जेनजी आन्दोलनको मर्म र भावनाको सम्बोधन नहुने, संसद्को संरचना पनि असाध्यै अप्ठ्यारो प्रकृतिको आउने, कसैको बहुमत नआउने र दलहरूले मिलेर सरकार बनाउन पनि नैतिक संकट हुने आशंकाबिच विश्लेषक तथा पिपुल फस्ट पार्टीका नेता खतिवडासँग रातोपाटीले संवाद गरेको छ।

(विस्तृत अन्तर्वार्ता भिडियोमा हेर्न सकिन्छ)

  • यो निर्वाचन किन हुँदै छ ?

चुनाव नै कस्तो परिस्थितिमा, किन हुँदै छ भन्ने कुराचाहिँ महत्त्वपूर्ण हो। के यो हाम्रो संविधानअनुसारको ५–५ वर्षको आवधिक चुनाव हो ? होइन नि। यो मध्यावधि चुनाव पनि होइन। एउटा सिस्टम कोल्याप्स गरेर नयाँ संविधानअन्तर्गत भइरहेको चुनाव हो र ? त्यो पनि होइन। नेपालमा जुन प्रकारको चुनाव हुँदै छ, यस्तो प्रकारको चुनाव यसअघि कहिल्यै पनि भएको थिएन।

  • यो तीनवटै चरित्रसँग मिल्दैन भने यो चुनावचाहिँ के चुनाव हो त ?

यो चुनाव भनेको खासमा जेनजी आन्दोलनलाई न्याय गर्नुपर्ने चुनाव हुनुपर्थ्यो। तर दुर्भाग्य के भयो भने हाम्रो चुनावले त्यो ल्याकत राख्दैन। यो चुनावको एउटा मात्रै औचित्य छ- जेनजी आन्दोलनले 'डिरेल' भएको संविधानलाई लिकमा फर्काउने। यो एउटा तर्कमात्र निर्वाचनको पक्षमा हुन सक्छ।

यो चुनावको औचित्य एकदमै कम छ। जे कारणले हाम्रो देशमा जेनजी विद्रोह भयो, यो चुनावले ती मुद्दाहरूलाई सम्बोधन गर्न सक्दैन।
  • अनि जेनजी आन्दोलन भनेको प्रणाली, व्यवस्थालाई डिरेल गर्ने, कोल्याप्स गर्ने आन्दोलन मात्र थियो त ?

उनीहरूले बिगारे, अब हामी सपारिदिँदै छौँ चुनावमार्फत। अन्तरिम सरकार पनि त्यही भन्दै छ, राष्ट्रपति पनि त्यही भन्दै छन्। तथाकथित जेनजी आन्दोलन हामीले सहयोग गरेका थियौँ, नेतृत्व गरेका थियौँ भन्ने पक्षहरू पनि त्यही भन्दै छन्। भन्नुको अर्थ जेनजी आन्दोलनको उद्देश्य चुनावचाहिँ थिएन। तर अब लोकतान्त्रिक मुलुकमा चुनाव त ढिलोचाँडो हुन्छ। तर चुनाव कस्तो परिस्थितिमा, कसले, कस्तो शक्ति संरचनाअन्तर्गत, कस्तो कानुनी तथा संवैधानिक व्यवस्था अनुरूप हुँदैछ भन्ने कुराको पनि त महत्त्व हुन्छ।

  • यसको मतलब यो चुनावको अर्थ छैन ? औचित्य छैन ?

यो चुनावको औचित्य एकदमै कम छ। जे कारणले हाम्रो देशमा जेनजी विद्रोह भयो, यो चुनावले ती मुद्दाहरूलाई सम्बोधन गर्न सक्दैन। सक्दैन मात्र होइन, अझ परिस्थिति बिग्रिन्छ यो चुनावपछि भन्ने मलाई लागिरहेको छ।

  • कसरी बिग्रिन्छ ?

चुनावपछि के हुन्छ भन्दा, जेनजी आन्दोलनको मर्म र भावनाहरूको सम्बोधन पनि नहुने, संसद्को संरचना पनि असाध्यै अप्ठ्यारो प्रकृतिको आउने, कसैको बहुमत नआउने, दलहरूले मिलेर सरकार बनाउन पनि नैतिक संकट हुने, मुद्दाहरू नमिल्ने हुन्छ। एकले अर्कालाई कारबाही गर्नुपर्ने खालको स्थितिमा कसरी मिलेर सरकार बनाउने ? या तुरुन्तै संसद् भङ्ग गरेर फेरि अर्को मध्यावधि चुनावमा जानुपर्ने ? एउटा त्यो परिस्थिति चुनावपछि आउन सक्छ।

  • तपाईंले भनेअनुसार त यो चुनाव हुँदैन कि क्या हो ?

चुनाव त अब हुनेतिर गयो। अब फेरि म लोकतन्त्रमा विश्वास गर्ने मान्छे भएको हुनाले मैले चुनावको विरोध, बहिष्कार गर्न पनि मिल्दैन।

  • अर्थहीन चुनाव किन गर्नु त ?

त्यो त चुनाव गराउनेहरूले, सबै पक्षले बुझ्नुपर्थ्यो।

जेनजी आन्दोलनले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा पनि परिवर्तन जरुरी छ भनेको थियो।
  • यो चुनाव अर्थहीन चाहिँ किन, कसरी ?

कुनै पनि विद्रोहपछि, आन्दोलनपछि, क्रान्तिपछि– त्यो विद्रोह, आन्दोलन, क्रान्ति किन भयो भनेर त्यसको कारण खोजी गरिन्छ कि गरिँदैन ? नेपालमा त्यसको कारणको खोजी पनि भएन। ल जेनजी विद्रोह किन भयो ? एउटा सामाजिक सञ्जाल प्रतिबन्ध भयो अनि भयो ? यति नै हो त कारण ?

  • जेनजीका माग त त्यति नै थिए होइन र ?

मलाई त्यस्तो लाग्दैन। जेनजी आन्दोलनले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा पनि परिवर्तन जरुरी छ भनेको थियो। यो दशकमा त धेरै ठुला भ्रष्टाचारका काण्ड भए, तिनीहरूको विश्वसनीय छानबिन र कारबाही भएन, त्यसको लागि छानबिन हुनुपर्थ्यो भनेको थियो। अवैध सम्पत्ति आर्जन, राज्यका ठुलठुला पदमा पुगेका राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन हुनुपर्छ भनेको थियो। देशमा वित्तीय संकटहरू, आर्थिक संकटहरू निरन्तर चुलिँदै गएका थिए। राज्यले सुशासनको प्रत्याभूतिका लागि प्रशासनिक सुधारहरू कसरी गर्ने भन्ने कुराहरू थियो। निर्वाचन प्रणालीमै र दलसम्बन्धी व्यवस्थामै कतिपय सुधारहरू जरुरी छ भन्ने थियो। यी सब चिज त हामीहरूले केही पनि गरेनौँ नि।

  • बिग्रियो कहाँबाट त यो त्यसो भए ?

यो सारा चिज भदौ २७ गते जब सुशीला कार्कीको सरकारलाई ६ महिनाभित्र चुनाव गराउने भनेर एकल म्यान्डेट दिइयो, त्यहाँबाट बिग्रियो।

  • सरकारलाई म्यान्डेट नै चुनाव गराउने थियो, होइन र ?

म्यान्डेट राष्ट्रपतिले दिने हो कि म्यान्डेट आन्दोलनले दिने हो ? आन्दोलनप्रति हाम्रो कुनै रेस्पोन्सिबिलिटी (उत्तरदायित्व) छैन ? जेनजी आन्दोलनमा मारिएका ७६ जनाप्रति कुनै उत्तरदायित्व छैन ? सरकारमा आइसकेपछि त्यसको अनरसिप (स्वामित्व) लिनुपर्थ्यो, हैन ? अनि यो पनि नगर्ने, त्यो पनि नगर्ने, एउटा चुनाव गराइदेर भाग्ने ! ठीक छ उहाँको आँटै त्यति रहेछ, अब भाग्दै हुनुहुन्छ भाग्नुस्। यो एकल म्यान्डेट कार्कीले लिन चाहेको हो कि पौडेलले दिन चाहेको हो ? त्योचाहिँ भोलि उनीहरूले आत्मकथा लेख्दा क्लियर गरून्।

आयोगको म्याद थप्दै थप्दै थप्दै लगेर चुनावभन्दा अगाडि त्यसले रिपोर्ट नै नदिने भयो। यदि यो जेनजी आन्दोलनको कारणले हुँदै गरेको चुनाव हो भने, गौरीबहादुर कार्की आयोगले चुनावभन्दा अगाडि रिपोर्ट दिनुपर्ने थिएन ?
  • बङ्गलादेशमा जस्तो संक्रमणकाल लम्ब्याउँदा ठिक हुन्थ्यो ?

बङ्गलादेशमा युनुसले १८ महिना त लिए नि। १८ महिना कुनै लामो अवधि त होइन। युनुसले सत्ता लम्ब्याउँदै छन्, चुनावै गराउँदैनन् भन्ने पनि हल्ला गरिँदै थियो। तर त्यहाँको प्रोसेस (प्रक्रिया) के फरक भयो त ? त्यहाँ जसको कारणले गर्दा करिब १४ सय मान्छेहरूको हत्या भएको थियो, आन्दोलनमा मृत्यु भएको थियो, त्यसको जिम्मेवार को हो भनेर त्यहाँ पहिला खोजी गरियो। शेख हसिनालाई त मृत्युदण्ड दिइयो। खैर हामीकहाँ मृत्युदण्डको कानुन छैन। तर अभियोजन गर्ने र जेल हाल्ने अथवा दण्डित गर्ने कानुन त हामीकहाँ पनि छ नि त। जेनजी आन्दोलनका दमनकर्ताहरूलाई उन्मुक्ति दिनुपर्ने हो र ?

  • गौरीबहादुर कार्की आयोगले काम गरिरहेको छैन त ?

आयोगको म्याद थप्दै थप्दै थप्दै लगेर चुनावभन्दा अगाडि त्यसले रिपोर्ट नै नदिने भयो। यदि यो जेनजी आन्दोलनको कारणले हुँदै गरेको चुनाव हो भने, गौरीबहादुर कार्की आयोगले चुनावभन्दा अगाडि रिपोर्ट दिनुपर्ने थिएन ? जुन रिपोर्ट हेरेर जनताले यो थाहा पाऊन् कि त्यसको जिम्मेवार को थियो र चुनावमार्फत कसलाई दण्डित या कसलाई पुरस्कृत गर्नुपर्थ्यो भन्ने कुराको एउटा आधार त हुन्थ्यो।

  • रिपोर्ट किन दिएन होला त चुनावअघि ? जेनजीले पनि माग गरेका छैनन्। बरु चुनावमै गएका छन् उनीहरू पनि।

जेनजी आन्दोलनको त लिडर नै थिएन, त्यो त एउटा बेवारिसे आन्दोलन पो भयो अहिले आएर। कि त जेनजी आन्दोलनका दमनकर्ताहरू छन् यो देशमा, कि त जेनजी आन्दोलनका दुरुपयोगकर्ताहरू छन्। कि हत्याराहरू छन्, कि हाइज्याकरहरू छन्। दुइटैलाई जेनजी आन्दोलनको रियालिटी बाहिर आयो भने डर छ। हत्याराहरूलाई पनि दमन गरेको कुराले डर छ।

निर्वाचन अलि ढिलो हुन्थ्यो, के फरक पर्थ्यो र ? ६ महिनाको साटो १ वर्ष, डेढ वर्ष।
  • बङ्गलादेशमा चाहिँ के गरियो यहाँभन्दा फरक ?

उनीहरूले एउटा संवैधानिक सुधार आयोग बनाए। ‘जुलाई रेभोलुसन’ भनेर मान्यता दिए। त्यसको नामै उनीहरूले ‘जुलाई चार्टर’ भनेर ४७ बुँदे संविधान संशोधनको प्रस्ताव बनाए। त्यो ४७ बुँदे संविधान संशोधनको प्रस्ताव जनतालाई स्वीकार्य छ कि छैन भनेर चुनावसँगै ब्यालेट दिएर जनमतसंग्रह गराए। त्यो रिफर्म (सुधार) सम्बन्धी काम हो।

  • तपाईंले भनेजस्तो, २३ गतेका दमनकारी र २४ गतेका हाइज्याकर सबैलाई कारबाही गरेर यो देशमा निर्वाचन सम्भव थियो त ?

निर्वाचन अलि ढिलो हुन्थ्यो, के फरक पर्थ्यो र ? ६ महिनाको साटो १ वर्ष, डेढ वर्ष। २ वर्षसम्म पनि चुनाव ढिलो गयो भने पनि हाम्रो रेगुलर प्रोसेस (नियमित प्रक्रिया) भन्दा त ढिलो जाँदैन थियो नि त। ०८४ मा पो हुन्थ्यो हाम्रो चुनाव। हैन ?

  • चुनावबारे तपाईं र पूर्वराजाका भनाइ समान पो सुनियो त !

मलाई पनि गद्दीमा राखेरचाहिँ चुनाव गराए हुन्थ्यो भन्ने पूर्वराजाको धारणा होला। मेरो भनाइचाहिँ कुनै पनि आन्दोलन, विद्रोह, क्रान्तिको न्याय गर्नुपर्छ भन्ने हो। दमनकारीहरूमाथि कुनै कारबाही गरेनौँ। नयाँ राजनीतिक दलहरूलाई ध्रुवीकृत हुने, बन्ने अवधि पनि दिएनौँ। जेनजीहरूको कुनै दल छ त अहिले ?

  • दल भएर के गर्नु ? बङ्गलादेशमा जेनजीको हरिबिजोग भएको देख्नुभएन ?

बङ्गलादेशमा जेनजी दल हार्‍यो भन्छन् हैन ? कम्तीमा त्यहाँ एउटा पार्टी त बनेको थियो नि। यहाँ त जेनजीको नाममा कुनै पोलिटिकल फोर्स (राजनीतिक शक्ति) युनाइट हुन पनि पाएन।

  • यसको मतलब यो चुनावले केही पनि दिँदैन ?

त्यो त अघि भनिसकेँ त मैले। संविधानलाई लिकमा ल्याउँछ।

पुरानाले जित्छन् पनि, हार्छन् पनि, दुइटै हुन्छ। मेरो अनुमान कसैको पनि बहुमत आउँदैन भन्ने छ। अब नयाँ पनि कसलाई भन्ने फेरि ?
  • त्योचाहिँ ल्याउँछ ?

त्यति त हुन्छ।

  • जे भने नि निर्वाचन त हुन्छ नि हैन अब ? कि हुँदैन ?

अब निर्वाचन हुन्छ। निर्वाचन अब त हुनु पनि पर्छ। किनभने यो त एकदम नजिक आयो नि त। अब यसलाई डिस्टर्ब गर्नु भनेको त त्यही जुन काम हुँदै छ, त्यो पनि डिस्टर्ब हुन्छ। मैले त ओभरअल (समग्र) ऐतिहासिक सन्दर्भमा यो कसैको आलोचना गरेको पनि होइन। मैले त इतिहाससँग आफ्नो विमति राखेको हो। कि जेनजी आन्दोलनमाथि कसरी विश्वासघात भयो भनेर भविष्यका हाम्रा पुस्ताहरूले पढून् र त्यही बेला यस्तो धारणा राख्ने मान्छेहरू पनि थिए भनेर थाहा पाऊन् भनेर भनेको हुँ। मैले चुनाव भाँड्न भनेको होइन।

  • आन्दोलनलाई न्याय गर्ने भनिएका दल जितेर आउलान्। अनि तपाईंले भनेका काम गर्लान् भन्ने आश गर्न सकिँदैन त ? कि यो निर्वाचनपछि पनि तिनै पुराना भनिएका दलका मान्छेहरू नै जितेर आउँछन् भन्ने तपाईंलाई लागेको हो ?

पुरानाले जित्छन् पनि, हार्छन् पनि, दुइटै हुन्छ। मेरो अनुमान कसैको पनि बहुमत आउँदैन भन्ने छ। अब नयाँ पनि कसलाई भन्ने फेरि ? जसलाई नयाँ भनिँदै छ त्यो आफैँ नयाँ होइन।

रास्वपा भन्ने पार्टी जेनजी आन्दोलनपछिको बनेको हो ? पुरानाहरूसँग मिलेर सरकार नखाएको पार्टी हो ? सुशासनप्रति त्यसको कमिटमेन्ट (प्रतिबद्धता) के ? ठगीप्रति त्यसको कमिटमेन्ट के ?
  • कांग्रेस सभापति गगन थापाले भन्नुभएको छ, सबभन्दा नयाँ म हुँ, अस्ति माघमा महाधिवेशनबाट म सभापति भएको हो।

त्यसो भए कांग्रेसको इतिहास ०८२ माघ १ गतेबाट सुरु भयो त ? २००३ सालबाट सुरु हुँदैन अब कांग्रेस ? कांग्रेसमा बीपी कोइराला, गणेशमान सिंह, देउवा कोही पनि थिएनन् ?

  • जेनजी आन्दोलनकै उपलब्धि हो नि त त्यो त ?

त्यो त हो, त्यो त कांग्रेसले अलिकति एडजस्ट गर्‍यो भनेँ नि त मैले। तर अरू त कसैले गरेन नि।

  • रास्वपा पनि नयाँ नै होइन र ?

रास्वपा भन्ने पार्टी जेनजी आन्दोलनपछिको बनेको हो ? पुरानाहरूसँग मिलेर सरकार नखाएको पार्टी हो ? सुशासनप्रति त्यसको कमिटमेन्ट (प्रतिबद्धता) के ? ठगीप्रति त्यसको कमिटमेन्ट के ? जुन पार्टीको सभापति देशका पाँचवटा अदालतमा करोड-करोडको धरौटी बुझाउँदै हिँडेको छ, त्यसमा एउटा स्वतन्त्र मेयर प्रवेश गर्‍यो भन्दैमा त्यो पार्टी नयाँ हुन्छ ?

  • तर पनि लहर त फेरि आएको छ भनिन्छ नि ?

त्यस्ता लहर त मैले जिन्दगीमा हेर्नुस् १२/१५ वटा भोगिसकेँ, देखिसकेँ ०३६ सालदेखि अहिलेसम्म।

  • एमाले अध्यक्ष केपी ओलीले ‘देश जलाउने र देश बचाउने अथवा बनाउने बिचको यो निर्वाचन हो’ भनिरहनुभएको छ। यो ठीकै होइन र ?

बेतुकको कुरा। देश जलाउने, देश बिगार्ने त उहाँहरू नै त हो नि। उहाँहरूले सामाजिक सञ्जाल बन्द नगरेको भए, उहाँहरूले भ्रष्टाचार नगरेको भए, उहाँहरूले दुई ठुला दलको गठबन्धन नबनाएको भए, एउटा ठुलो दलले सरकारको नेतृत्व गरेको भए, अर्को ठुलो दलले प्रतिपक्षको भूमिका गरेको भए, जेनजी आन्दोलन हुन्थ्यो त ? सेकेन्ड पार्टीको भूमिका के हुन्छ पार्लियामेन्टमा ? अपोजिसनको नेतृत्व गर्नु होइन ? यति, ओम्नी, के-के भ्रष्टाचारी काण्डहरू, ३३ किलो, क्विन्टल सुन, हैन ? गिरीबन्धु, भुटानी शरणार्थीजस्ता सर्वपक्षीय, सर्वदलीय भ्रष्टाचारहरू नगरेको भए जेनजी आन्दोलन हुन्थ्यो त ? को देश बनाउने ? पार्लियामेन्टमा जुन पार्टीहरू थिए, ती सबै देश बिगार्ने पार्टीहरू हुन्। तिनीहरूले देश बनाएको भए त जेनजी आन्दोलन नै हुँदैन थियो नि।

  • सबका सब खराब भन्नुहुन्छ। सामान खरिद गरेजस्तो अरू देशबाट नेता खरिद गर्न त मिल्दैन। अब के गर्ने होला त ?

दुर्भाग्य अझै भोग्नुपर्छ। के गर्नुहुन्छ त ? तपाईंसँग जे छ, त्यहीमध्ये एउटा छनोट गर्नुहुन्छ, त्यसले तपाईंलाई डेलिभर गर्ने त्यही हो। फेरि अर्को जेनजी आन्दोलन आउँछ। फेरि अर्को विद्रोह हुन्छ। फेरि संविधान डिरेल हुन्छ। यो प्रोसेस चलिरहन्छ।

  • निर्वाचनको परिणामबारे तपाईंको केही छ ? दलहरूको पोजिसनको बारेमा ? अनुमान ?

त्यो त अहिले भन्नु हुँदैन, निर्वाचन आचारसंहिताविपरीत हुन्छ। बहुमत कसैको आउँदैन। पार्टीहरूलाई मिलेर सरकार बनाउन नैतिक संकट हुन्छ।

  • कसरी नैतिक संकट ?

किनकि एकले अर्कालाई गाली गरेको छ र गम्भीर तथा संगीन आरोपहरू लगाएको छ। अब जेनजीका हत्याराहरू र हाइज्याकरहरू सँगसँगै कसरी बस्ने ? भ्रष्टाचार र भ्रष्टाचारीहरू अनि ठगहरू कसरी सँगसँगै बस्ने ? यो प्रश्न त आउला नि त। नयाँ र पुरानाहरू कसरी सँगसँगै बस्ने ?

  • ‘नो, नट अगेन’ भनेर चुनाव लडेर आएका बसेनन् त उनीहरूसँगै सरकारमा ?

बसे भने सिद्धियो, प्रश्न नै सिद्धियो। केको नयाँ, केको पुराना ? 'काले-काले मिलेर खाऊँ भाले' भन्दियो, सिद्धिहाल्यो।

  • अहिलेको चुनाव प्रियतावाद र यथास्थितिवादबिच हुँदै छ भन्ने पनि छ नि त ?

यी दुवै देशका दुश्मनहरू हुन्। दुइटै कित्ताबाहिरबाट पनि थुप्रै उम्मेदवारहरू छन्। जस्तो झापा–५ मा ओली र बालेन मात्रै छन् ? दुइटा मध्ये एउटाले जित्नुपर्छ भन्दै छन्। दुइटै हारे के हुन्छ ?

  • जनताले त्यही चाहन्छन् भने तपाईं-हाम्रो के लाग्छ त ?

जनताले त्यही चाहन्छन् भन्ने अगाडि नै तपाईंलाई कसरी थाहा भयो ? भोट गनिसकेपछि म मानौँला नि ! तर अहिले तपाईं ‘त्यही हो, त्यही हो, त्यही हो’ भन्नुहुन्छ भने त्यो त प्रायोजित पोलराइजेसन (ध्रुवीकरण) हो नि त। डेमोक्रेसी भनेको प्रायोजित ध्रुवीकरण हो कि होइन ? मेरो कोइसन (प्रश्न) यो हो।

जुन प्रकारको प्रायोजित ध्रुवीकरण गराउन खोजिएको छ, त्योभन्दा बाहिर पनि राम्रा दलहरू छन्। असल उम्मेदवारहरू छन्। अनि तपाईं हर्कलाई किन विकल्प मान्नुहुन्न ? तपाईं कुलमानलाई किन विकल्प मान्नुहुन्न ?
  • तपाईं नै भन्नु त झापा–५ को परिणाम के आउला ?

ओली र बालेन दुवै हार्नु ठीक हुन्छ यो देशका लागि। यथास्थितिवाद र प्रियतावाद दुवै हार्नु ठीक हुन्छ। जेनजीका हत्याराहरू र दुरुपयोगकर्ताहरू, हाइज्याकरहरू दुवै हार्नु ठीक हुन्छ। ठग र भ्रष्टहरू दुवै हार्नु ठीक हुन्छ।

  • अहिले चर्चामा उनीहरू नै छन्...

जुन प्रकारको प्रायोजित ध्रुवीकरण गराउन खोजिएको छ, त्योभन्दा बाहिर पनि राम्रा दलहरू छन्। असल उम्मेदवारहरू छन्। म त ती दुइटैभन्दा बाहिरको पार्टीलाई भोट हाल्छु। अनि तपाईं हर्कलाई किन विकल्प मान्नुहुन्न ? के कमी छ उसमा ? एकछिनलाई ! तपाईं कुलमानलाई किन विकल्प मान्नुहुन्न ? पिपुल्स फस्ट पार्टीलाई किन विकल्प मान्नुहुन्न ?

  • तपाईंको भनाइअनुसार यो निर्वाचनपछि पनि मुलुक अरू अस्थिरता, अन्योलतामा जान्छ ?

मैले कल्पनै नगरेको गरी नेपालका नेताहरूको बुद्धि फिर्‍यो, सबै सिरियस (गम्भीर) भए, संसद्मा आएपछि राष्ट्रिय सहमति गरे, संवैधानिक सुधारहरू गरे, कानुनी सुधारहरू गरे, जेनजीले भनेका मागहरू पूरा गर्नतिर सबैको ध्यान गयो भने त राम्रो पनि हुन सक्छ। तर त्यता संकेत गर्दैन भन्ने मात्रै मेरो कुरा हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप