‘अरू दलभित्र असन्तुष्टि बढेको छ, मतदाता नेकपाप्रति आकर्षित छन्’
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । तीमध्ये एक हुन् सुदर्शन बराल । तत्कालीन माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष रहेका बराल आगामी प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।
बरालसँग चुनावमै केन्द्रित भएर रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
नेकपाको लुम्बिनी प्रदेशमा चुनावी अभियान कसरी चलिरहेको छ ?
नेपाली कम्युनिस्ट पार्टीले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । हाम्रो पार्टीको संयोजक प्रचण्ड लुम्बिनी प्रदेशको पूर्वी रुकुम जिल्लामा उम्मेदवार हुनुहुन्छ । म आफैं गुल्मी-१ मा उम्मेदवार बनेको छु ।
हामीले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, समन्वय कमिटी सबै निर्वाचन क्षेत्रमा गठन गरेर काम गरेका छौं । उम्मेदवारहरू घरदैलो कार्यक्रममा आ-आफ्नो ढङ्गले लागिपर्नुभएको छ । विगतमा हामीले गठबन्धन गरेर निर्वाचनका गएका थियौं । अहिले त्यो अवस्था छैन । सम्पूर्ण पार्टी पङ्क्ति उत्साहजनक ढंगले चुनावी गतिविधिमा सहभागी छ ।
विगतमा हामीले गठबन्धन गरेर निर्वाचन गएका थियौं । अहिले एक्लाएक्लै लडेको अवस्था छ । जसकारण पार्टी उत्साहित भएको अवस्था छ । हाम्रा कार्यकर्ता तथा समर्थक शुभचिन्तकहरूले समेत एक्लै लड्दा आफ्ना एजेन्डा र आफ्नो चुनाव चिन्ह लिएर आज राम्रो भएको प्रतिक्रिया पाएका छौ ।
विगतमा तत्कालीन माओवादी गठबन्धन गरेर निर्वाचनमा गएको थियो । अहिले एक्लै लड्दा कस्तो अनुभूति भइरहेको छ ?
हो, २०७९ सालको निर्वाचनमा हामीले लुम्बिनी प्रदेशमा कांग्रेससँग गठबन्धन गर्यौं । गठबन्धन गर्दा सामान्य अप्ठ्यारा पनि आएका थिए । पहिलो कुरा त गठबन्धनका कारणले हाम्रो राजनीतिक पहिचान गुमेको जस्तो अनुभूति पार्टी पङ्क्तिलाई हामीले गरेका थियौँ ।
गठबन्धनका कारण आफूसँग सहयात्री दलको बारेमा उनीहरूको नीतिगत समस्या, पार्टीको कार्यशैली र उनीहरूले गरेका गम्भीर प्रकारका राष्ट्रघाती विषयलाई उठाउन सक्ने अवस्था हुँदैनथ्यो ।
अहिले राष्ट्रिय एजेन्डालाई लिएर मतदातामाझ हामीलाई जान सहज भएको अवस्था छ । दोस्रो कुरा गठबन्धनका कारण पैदा हुने निष्क्रियता, आलस्यता जुन प्रकारका त्यहाँ थिए, अहिले सिङ्गो पार्टी पङ्क्ति लागेर आफ्नो उम्मेदवारलाई जिताउनुपर्ने छ । गठबन्धनका कारण जितिहालिन्छ नि भन्ने मनोविज्ञान हटेको छ । एक्लै चुनावमा जाँदा पार्टीका स्पष्ट एजेन्डा र चुनाव चिह्न लिएर जान पाइने भएकाले कार्यकर्ताहरूमा सकारात्मक ऊर्जा देखिन्छ ।
लुम्बिनी प्रदेशका अहिले २६ वटा निर्वाचन क्षेत्रका कस्ता-कस्ता एजेन्डा लिएर मतदातासँग जानुभएको छ ?
नेकपाले अहिले मुख्यतया राष्ट्रिय एजेन्डा नै लगेको अवस्था छ । अहिले देशको प्रमुख समस्या भ्रष्टाचार हो । भ्रष्टाचार निराकरण गर्दै सुशासनलाई स्थापित गर्ने, सुशासन मार्फत मुलुकभित्र उत्पादन र रोजगारी सिर्जना गर्ने नारा एजेन्डा नै हामीले प्रमुख रूपमा लिएका छौँ । कृषि र पर्यटनका कुरालाई पनि प्राथमिकताका साथ उठाएका छौं । त्यसमा सबै निर्वाचन क्षेत्रमा जिल्लाका विशिष्ट समस्याहरूलाई पनि उठाएका छौँ ।

धेरै पुराना सडक, खानेपानी, सिँचाइ र विद्युतीकरणलाई मुख्य रूपमा जोड दिएका छौं । कतिपय पूर्वाधार निर्माण सुरू भएको २० वर्षसम्म पनि सम्पन्न हुन नसकेका, स्तरोन्नति हुन नसकेका, सडक बने पनि पुल नबनेका जस्ता बेथितिलाई एजेन्डा बनाएका छौं ।
लुम्बिनी प्रदेशमा नेकपाको मुख्य प्रतिस्पर्धा कुन दलसँग हुन्छ ?
समग्रमा लुम्बिनी प्रदेशमा सबै मुख्य पार्टीसँग प्रतिस्पर्धा हुने नै भइहाल्यो । तर पनि मुख्य प्रतिस्पर्धीको रूपमा हामीले एमालेलाई लिएका छौं । कतिपय निर्वाचन क्षेत्रमा कांग्रेस र रास्वपासँग पनि प्रतिस्पर्धा हुन्छ । यस्तै तराईका केही जिल्लामा मधेस केन्द्रित दल पनि हाम्रा प्रतिस्पर्धी हुन् ।
लुम्बिनीमा अघिल्लो चुनावमा गठबन्धन गरेर पनि तीन सिट ल्याएको अवस्था थियो अहिले कति ल्याउने आकलन गर्नुभएको छ ?
२०७९ सालमा हाम्रो पार्टीले रोल्पा, रुकुम पूर्व र दाङ-२ मा जितेका अवस्था थियो । अर्थात् प्रदेशमा २६ सिट ल्याएको अवस्था थियो । अहिले तत्कालीन माओवादीसँग अन्य दलहरू पनि मिलेर नेकपा बनाएका छौं । जसबाट हाम्रो सङ्गठन र शक्ति थपिएको छ ।
विगतका अनुभव र पार्टीका एजेन्डाका आधारमा धेरै सिट ल्याउने आकलन पार्टीले गरेको छ । लुम्बिनी प्रदेशका २६ सिटमध्ये अहिले हाम्रो प्रारम्भिक अनुमान अनुसार ९ देखि ११ सिट जित्न सक्छौं ।
गुल्मी क्षेत्र नम्बर १ को उम्मेदवारको रूपमा तपाईंका एजेन्डा के-के छन् ?
गुल्मी-१ मा भौतिक पूर्वाधार विकासका नै मेरा धेरै एजेन्डा छन् । सुरू भएका तर सम्पन्न नभएका सडक, विद्यालयहरू धेरै छन् । ती अधुरा कामलाई पूरा गराउने मेरो उद्देश्य हुनेछ । खानेपानीको समस्या पनि केही ठाउँमा छ, त्यसतर्फ पनि काम गर्नेछु । अहिले पनि एक-दुई घण्टासम्म पैदल हिँडेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता नागरिकहरू छन् ।
कृषिलाई प्रोत्साहन गर्न सकिएको छैन । विद्युतमा देखिएको समस्या, शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न पहल गर्ने, पर्यटकीय क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने जस्ता कामलाई एजेन्डाको रूपमा प्रस्तुत गरेको छु ।
तपाईंले चुनाव जित्छु भनेर दाबी गर्नुभयो । आधार के छ ?
म विगतमा प्रदेशसभा सदस्य जितेर आइसकेको व्यक्ति हुँ । विगतमा मैले यहाँ शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेका केही काम अहिले पनि मतदाताहरूले सम्झिरहेका छन् । कुनै अधुरा कामलाई पूरा गर्नुपर्ने दायित्व पनि छ । यहाँका विकास निर्माणका कामका लागि म संघीय संसद् बन्नुपर्ने आवश्यकता मतदाताहरूले महसुस गरेका छन् ।
अर्कोतिर २० वर्षभन्दा लामो समयदेखि निर्वाचन लडिरहेका उम्मेदवारहरू अहिले पनि मैदानमा छन् । उनीहरूबाट मतदाता दिक्क बनेका छन् । धेरैवटा वामपन्थी दल मिलेर नेकपा बनेकाले संगठनको बल पनि हामीसँग छ । अन्य दलहरूभित्र आन्तरिक असन्तुष्टि देखिएका छन् । त्यसले पनि नेकपातिर मतदाता आकर्षित हुन्छन् । यी सबै आधार मेरो जित्ने आधार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण