बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने

आइतबार, १० फागुन २०८२, २३ : ४०
आइतबार, १० फागुन २०८२

सारांश

  • गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी कारबाही गर्ने जनायो।
  • गोकर्णेश्वरमा लागेको डढेलो निभाउन सिम्रिक एयरले निःशुल्क सहयोग गर्‍यो।
  • आगो नियन्त्रणमा सुरक्षाकर्मी र स्थानीय निकायको पनि सहभागिता रह्यो।

काठमाडौँ ।  गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता, गृह सचिव राजकुमार श्रेष्ठको सहभागिता तथा सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका कर्मचारीको उपस्थितिमा आज बसेको बैठकले दैनिक रूपमा शान्ति सुरक्षा, निर्वाचन तथा समसामयिक चुनौतीको विश्लेषण गरेको हो ।

विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्ने, प्रचारप्रसारमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा अन्य हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पुर्‍याउनेलगायतका घटनाका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै उल्लिखित कार्य कानुनद्वारा वर्जित र दण्डनीय भएकाले यस्तो गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने मन्त्रालयले स्पष्ट पारेको छ ।

आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग

यसैबिच काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान बालुवास्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको तारेभिर जङ्गलमा लागेको वन डढेलो नियन्त्रणमा सिम्रिक एयरले निःशुल्क सहयोग गरेको छ ।

आज विहान ९ः४५ बजेदेखि लागेको आगो नियन्त्रणका लागि गृह मन्त्रालयको निर्देशन र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा सिम्रिक एयरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रूपमा १३ पटक पानी ओसारी आगो निभाउन सघाएको हो । यसबाट तत्काल आगो बागद्वार तथा बस्तीतर्फ जानबाट रोकिएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

उनका अनुसार आगलागी नियन्त्रणकार्यमा थप मद्दतका लागि सुरक्षाकर्मी, निकुञ्जका कर्मचारीलगायत स्थानीय निकायको सहभागिता रहेको थियो । उक्त हेलिकप्टर सेवा प्रदायक कम्पनीको महत्त्वपूर्ण सहायता प्राप्त भएको जनाउँदै गृह मन्त्रालयले हार्दिक आभार प्रकट गरेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप