शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भीषण हिमआँधीपछि यात्रामा प्रतिबन्ध

सोमबार, ११ फागुन २०८२, १५ : ३३
सोमबार, ११ फागुन २०८२

काठमाडाैँ। अमेरिकाको पूर्वी तटमा करिब एक दशकयताकै सबैभन्दा ठुलो मानिएको हिमआँधी आइतबारदेखि तीव्र रूपमा प्रवेश गरेपछि न्यूयोर्क सिटी शहरसहित विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

मौसम पूर्वानुमानअनुसार आँधी सोमबार दिउँसोसम्म जारी रहने अपेक्षा गरिएको छ । करिब चार करोड मानिस हिमआँधीको चेतावनीको दायरामा परेका छन् । 

जसमा बोष्टन, फिलाडेल्फिया र लङ टापु क्षेत्र समावेश छन् । थप एक करोड ९० लाख मानिसका लागि भने शीतकालीन आँधीको चेतावनी जारी गरिएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार कतिपय स्थानमा २४ इन्चसम्म हिमपात हुन सक्ने अनुमान छ ।

स्थानीय समयअनुसार सोमबार मध्यरातसम्म उत्तर–पूर्वी क्षेत्रमा धेरै ठाउँ बाक्लो हिमले ढाकिसकेको थियो । न्यूयोर्क र न्यु जर्सीका केही स्थानमा १० इन्चसम्म हिउँ जमेको रिपोर्ट गरिएको छ ।

न्यूयोर्क सिटीका मेयर जोहरना ममदानीले आइतबार राति ९ बजेदेखि सोमबार दिउँसो १२ बजेसम्म नगरका पाँचै क्षेत्रमा अत्यावश्यकबाहेक सबै सवारी साधनमा प्रतिबन्ध लगाएका छन् । आपतकालीन सेवाबाहेक सडक, राजमार्ग र पुलहरू बन्द गरिएका छन् । सबै विद्यालय सोमबारका लागि बन्द गरिएको छ । प्रतिबन्धमा खाना डेलिभरीमा प्रयोग हुने इ–बाइकसमेत समेटिएका छन् ।

अधिकारीहरूले अनावश्यक यात्रा नगर्न कडा आग्रह गरेका छन् । ‘आफ्नो सुरक्षाका लागि घरमै बस्नुहोस् र सडकबाट टाढा रहनुहोस्,’ मेयर ममदानीले भनेका छन् ।

हिमआँधीले हवाई उडानहरूमा पनि ठुलो असर परेको छ । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार सोमबार मात्रै अमेरिकाभित्र, भित्रिने वा बाहिरिने गरी ५ हजारभन्दा बढी उडान रद्द भएका छन् । यसअघि जनवरी १९ देखि सुरु भएको तीन साताको कठोर चिसो लहरका कारण १९ जनाको मृत्यु भएपछि यो वर्ष न्यूयोर्कमा आएको यो दोस्रो ठुलो शीत आँधी हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप