बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उपचार कक्षबाट बाहिर बस्न आग्रह गरेपछि महिला चिकित्सकको गोली हानी हत्या

मङ्गलबार, १२ फागुन २०८२, ०२ : ३१
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक महिला चिकित्सकको गोली हानी हत्या गरिएको छ।
  • बिरामीसँग आएका पुरुषहरूलाई बाहिर बस्न आग्रह गर्दा विवाद भएको थियो, त्यसपछि चिकित्सकमाथि गोली प्रहार भयो।
  • प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

काठमाडौँ । पाकिस्तानको खरबै पख्तुनख्वा प्रान्तमा एक महिला चिकित्सकमाथि गोली प्रहार गरी हत्या गरिएको छ ।

महिला बिरामीसँग आएका पुरुषहरूलाई उपचार कक्ष बाहिर बस्न आग्रह गरेपछि विवाद उत्पन्न हुँदा चिकित्सकमाथि गोली प्रहार भएको खबर बीबीसी हिन्दीले प्रकाशित गरेको छ । 

समाचार अनुसार, आइतबार साँझ इफ्तारको समयमा ती चिकित्सक रोजा खोलेर नमाज पढिरहेकी थिइन् । सोही बेला दुई महिला र दुई पुरुष आकस्मिक कक्षमा पुगेका थिए। चिकित्सकले उपचार प्रक्रिया सहज बनाउन पुरुषहरूलाई बाहिर बस्न आग्रह गरे पनि उनीहरूले अस्वीकार गर्दै विवाद गरेका थिए । पछि ड्युटीमा रहेका सुरक्षाकर्मीले ती पुरुषहरूलाई बाहिर राखेका थिए ।

जाँच सम्पन्न भएपछि चिकित्सकले नै उनीहरूलाई जान दिन आग्रह गरेपछि ती व्यक्तिहरू अस्पताल परिसरबाट निस्किएका थिए । तर राति करिब ८ बजे ड्युटी सकेर घर फर्किँदै गर्दा अस्पताल बाहिर उनीहरू पुनः देखिएका थिए । उपलब्ध सिसिटिभी दृश्यअनुसार चिकित्सक रिक्सा चढेर निस्किएको र ती व्यक्तिहरूले पछ्याएको देखिएको जनाइएको छ ।

अस्पतालबाट करिब २००–३०० मिटर टाढा पुगेपछि चिकित्सकमाथि गोली प्रहार गरिएको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रहरीले घटनाबारे मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको छ। संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई पक्राउ गर्न खोजी तीव्र पारिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप