बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी सरगर्मी

रामेश्वर फुयाँललाई काठमाडौँ–३ मा प्रश्नको बाढी, मतदातामा छैन उत्साह

मङ्गलबार, १२ फागुन २०८२, ०८ : ३५
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • रामेश्वर फुयाँल काठमाडौं-३ को चुनावी घरदैलोमा व्यस्त छन्, मतदातासँग भोट मागिरहेका छन्।
  • घरदैलोमा मतदाताले विगतका कामबारे प्रश्न सोधेका थिए, जसको जवाफमा उनले थप व्यवस्थित बनाउने बताए।
  • कतिपय मतदाताले उनलाई शुभकामना दिए भने कतिपयले विगतका कामको समीक्षा गर्दै प्रश्न गरे।

काठमाडौँ । पाँचौँ पटक संसदीय निर्वाचनमा होमिएका रामेश्वर फुयाँल यति बेला काठमाडौँ–३ को चुनावी घरदैलोमा व्यस्त छन् ।

निर्वाचन आयोगले फागुन ४ गतेबाट प्रतिनिधिसभा उम्मेदवारका लागि प्रचारप्रसार खुला गरेसँगै हरेक दिन बिहान–बेलुका उनको दैनिकी फेरिएको छ । फुयाँल हरेक दिन मतदाताको घरदैलोमा देखा परिरहेका छन् । मत माग्न उनले जोडेका हात दिनभर विरलै तल झर्छन् ।

आइतबार बिहान पनि उनी हात जोडेरै घरदैलोमा थिए । गोकर्णेश्वर वडा नम्बर ५ जोरपाटी चोकमा घरदैलो गरिरहेको अवस्थामा उनलाई हामीले भेट्यौँ । घरदैलोअघि उनीलगायतलाई कार्यकर्ताहरूले चोकको फल्चामा चियासहित खाजानास्ताको व्यवस्था गरेका थिए । त्यस क्रममा कोही झन्डा र ब्यानर बनाउन व्यस्त देखिएका थिए भने कोही घरदैलो तयारीका लागि ससाना काममा लागिपरेका थिए । यी काम सकेर फुयाँल जोरपाटी चोक पुग्छन् र हात जोड्न सुरु गरिहाल्छन् । उनका शरीरभरि छन् खादा र माला ।

उनीसँगै पूर्वसांसद शान्ति श्रेष्ठ, कृष्ण राईलगायत छन् । चोकमा लामो समय बस्ने फुर्सद उनीसँग थिएन । घरदैलो सुरु गर्नुअघि फल्चा छेउको सडकमा बनाइएको सूर्य (चुनाव चिह्न) लाई शुभसाइत मानेर उनी निस्किन्छन् ।

ब्यानर, प्रचार सामग्री, एमालेको पक्षमा बनेका गीत बजाउँदै टोली अघि बढ्छ । फुयालसँग करिब ५० जना नेताकार्यकर्ता देखिएका थिए । पूर्वसांसदहरू तथा पार्टीबाट समानुपातिक उम्मेदवार बनेकाहरूलाई लिएर उनी जोरपाटी चोकबाट बौद्धतिर अघि बढ्छन् । हात जोडेको जोड्यै उनी दिनभर सडकमै हुन्छन् ।

त्यस दिन चाबहिल–जोरपाटीको सडक छेउका पसलहरू प्रायः बन्द थिए । खुलेका केही पसल र तिनका सञ्चालकलाई नमस्कार गर्दै फुयाँलको टोली बढिरहन्छ ।

केही मिटर अघि बढेपछि उनी एउटा साँघुरो गल्ली छिर्छन्, त्यहाँ पनि धेरै पसल बन्द थिए । २–४ वटा घरभित्र भोट माग्न फुयाँल पुगे पनि बाहिर कोही निस्किएनन् । अनि पूर्वसांसद राईले भने, ‘यसरी त भएन ।’ र राईले नेता र कार्यकर्तालाई अगाडि लगाउँछन् । ‘उम्मेदवार आउँदैछन्’ भन्न आग्रह गर्छन् । र केही कार्यकर्ताहरू राईको आग्रहअनुसार अघि बढ्छन् ।

फुयाँलको टोली जोरपाटीको अर्को गल्लीतिर छिर्छ । नेताकार्यकर्ता भने उत्साहसाथ नारा लगाइरहेका थिए । ‘भोट केमा’ भन्ने उनीहरूको नारा चर्को सुनिँदै थियो, त्यसैबिच एक मतदाता आइपुग्छन् र फुयाँललाई जितसहितको शुभकामना दिँदै खादा लगाइदिन्छन् । र भन्छन्, ‘तपाईँलाई दुई पटक जिताएर पठाएका हौँ हामीले । फेरि पनि आउनुभएको छ, हाम्रो मत तपाईँलाई नै हो । तर विगतको भन्दा राम्रो गर्नुपर्छ । काम नगर्ने छुट छोइन है ।’

घरदैलोमा बिस्तारै कार्यकर्ताहरू बढ्न थाल्छन् । उत्साहका थपिँदै जान्छ, ‘आयो...आयो...रातो लिएर...’ गीत बग्छ, कार्यकर्ताहरू नाच्दै अघि बढ्छन् ।

ktm-3-photo1

त्यही गल्लीमा सिलाई टेलर्स चलाउँदै आएकी स्थानीय सरिता श्रेष्ठलाई नमस्कार गर्दै फुयाँल भोट माग्छन् । श्रेष्ठले फुयाँललाई शुभकामना दिन्छिन् । ‘हुन्छ’को इसारामा टाउको हल्लाउँछिन् ।

मतदाता श्रेष्ठको यस्तो शैली देखेपछि रातोपाटी टिमले उनलाई सोध्छ– तपाईँलाई उम्मेदवार फुयाँल मन नपरेको हो ?’ श्रेष्ठले जवाफ फर्काइन्, ‘मैले त उम्मेदवार नै चिनिनँ ।’

‘नाम सुन्नुभएको थिएन,’ हामीले पुनः प्रश्न गर्‍यौँ । ‘नाम त सुनेको हो, तर उहाँ हो भन्ने थाहा थिएन,’ उनले सहजै भनिन् । फुयाँलको नाम सुने पनि अनुहारले नचिनेकी श्रेष्ठले उम्मेदवारसँग कुनै प्रश्न नरहेको बताइन् । ‘उहाँलाई केही प्रश्न छैन, जसलाई भोट दिए पनि हाम्रो लागि केही गर्ने होइनन्,’ उनले निरसभावमा भनिन् ।

घरदैलोकै क्रममा एक वृद्ध नागरिकले फुयाँललाई शुभकामना दिए । उनले शुभकामना मात्र दिएनन्, एमाले वृद्धहरूको पार्टी भएकाले जिताउन आग्रहसमेत गरे । फुयाँल ‘हस्’ भन्दै अघि बढे ।

केहीबेर अघि बढेपछि एउटा घर अगाडि सूर्य चिह्न बनाएर फुयाँलको स्वागत हुन्छ । उक्त घरका परिवारले उनलाई खादा र माला लगाइदिन्छन् । ‘पहिला पनि तपाईँकै मायाले चुनाव जितेको थिएँ, फेरि पनि आएँ है,’ फुयाँल मत माग्दै अब आवश्यकताअनुसार काम गर्ने बाचा गर्दै अघि बढ्छन् ।

फुयाँललाई प्रश्नको बाढी

अलि पर पुगेपछि एक युवाले फुयाँललाई सोध्छन् । ‘फेरि जितेर हाम्रो क्षेत्रमा के गर्नुहुन्छ ? पहिला जित्नेहरूले खासै काम गरेका छैनन्, पुरानाले काम गरेनन् भन्ने छ । यो भाष्य कसरी चिर्नुहुन्छ ?’

ktm-3-photo

फुयाँल जहाँ जहाँ पुग्छन्, प्रश्नको घेराभन्दा बाहिर रहन सक्दैनन् । मतदाताहरूले विगतमा हुन नसकेका कामको फेहरिस्त नै बनाएर उनलाई र्‍याखर्‍याख्ती पारिरहन्छन् । ‘विगतमा जितेर के गर्नुभयो र अहिले भोट माग्न आउनुभएको ?’ फुयाँलले मतदातासँग सबैभन्दा बढी सामना गरेको प्रश्न यस्तै र यिनै थिए । यसको जवाफमा उनी ‘बाँकी काम थप व्यवस्थित बनाउँछु’ भनिरहन्छन् ।

चर्को आवाजमा स्पिकरमा एमालेलाई मत दिनुपर्ने कारण बजिरहेको थियो, एमाले सरकारको नेतृत्वमा भएका कामहरूबारे चुनावी प्रचार गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप