जय ट्रफी : पुलिसको पहिलो जित, फाइनल सम्भावना कायमै
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफीमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबमाथि ९ विकेटको सहज जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा मंगलबार ओपनर कुशल भुर्तेलको आक्रामक ब्याटिङले पुलिसलाई जित दिलाउन सहयोग गर्याे । एपीएफले दिएको ११३ रनको लक्ष्य पछ्याएको पुलिसले १६.४ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे ।
पुलिसका लागि कुशल भुर्तेलले ५३ बलमा ७१ रनको अर्धशतकीय पारी खेले। पुलिसका अनिल श्रेष्ठले ३२ रनको योगदान गर्दा सोहिल कुँवरले ७ रन जोडे ।
बलिङतर्फ एपीएफका विपिन खत्रीले एक विकेट लिए। यसअघि दोस्रो इनिङ्समा दीपक बोहराले ९४ रनको अर्धशतकीय पारी खेले। १२० बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
एपीएफका अमर राउटेलाले ३२ रन बनाउँदा आसिफ शेखले २१ र इर्शाद अहमदले २० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपाल पुलिसका लागि ललितनारायण राजवंशीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै, कुशल भुर्तेलले तीन विकेट लिँदा सागर ढकाल र शंकर रानाले एक(एक विकेट लिए ।
पहिलो दिनको पहिलो इनिङ्समा एपीएफ क्लब १८५ रन बनाउँदै अलआउट भएको थियो। टस जितेर नेपाल पुलिस क्लबले एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो ।
एपीएफ ६३.४ ओभरमा १८५ रनमा समेटिएको थियो। एपीएफका लागि सुमित महर्जनले ५५ रनको अर्धशतकीय पारी खेले। १०० बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ४५ रन बनाउँदा दीपक बोहराले २८ रनको योगदान गरे।
बलिङतर्फ पुलिसका लागि ललित राजवंशी र सागर ढकालले उत्कृष्ट बलिङ गरे। ललितले ३१.४ ओभरमा ४ विकेट लिए भने सागरले २६ ओभरमा ४ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए।
जवाफी ब्याटिङमा पुलिसले शंकर रानाको शतकको सहयोगमा ६५.५ ओभरमा २७७ रन बनायो। पुलिसका लागि दिलसाद अलीले ५८ रनको अर्धशतकीय पारी खेल्दा राशिद खानले ३० र कुशल भुर्तेलले २२ रनको योगदान गरे।
यता एपीएफका लागि बलिङतर्फ इर्शाद अहमद, अभिषेक गौतम, भुवन कार्की, युवराज खत्री, रोहित पौडेल, अमर राउटेला र सन्दीप जोराले एक(एक विकेट लिएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण