बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

होली र निर्वाचन एकैसाथ, आचारसंहिता कडाइका साथ पालना गर्न रौतहट प्रशासनको आग्रह

बुधबार, १३ फागुन २०८२, ०८ : ३८
बुधबार, १३ फागुन २०८२

सारांश

  • यस वर्ष होली र निर्वाचन एकैसाथ परेकाले रौतहट प्रशासनले आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
  • निर्वाचनको प्रचार-प्रसार र मौन अवधिमै होली परेकाले प्रशासनले राजनीतिक दल, उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।
  • प्रशासनले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणलाई दुःख दिने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ।

रौतहट । यस वर्ष होली पर्व र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकैसाथ परेकाले आचारसंहिता कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ। सहायक सिडिओ जितेन्द्र कुमार यादवले एक सूचना सार्वजनिक गर्दै प्रशासनको आग्रह विपरीत गतिविधि गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र होली पर्व एकै समय परेकाले रौतहटमा सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहट ले विशेष सूचना जारी गरेको छ।

निर्वाचनको प्रचार–प्रसार तथा मौन अवधिमै होली पर्व परेकाले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न प्रशासनले राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सूचनामा आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्दै मर्यादित, सभ्य र अनुशासित ढंगले होली मनाउन अनुरोध गरिएको छ।

प्रशासनले निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न आग्रह गर्दै उल्लङ्घन भएको जानकारी सम्बन्धित निर्वाचन निकाय वा नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउन भनेको छ। साथै, भीडभाड हुने कुनै पनि कार्यक्रम आयोजना गर्नु अघि जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने र अनुमति बिना मेला, जात्रा वा कार्यक्रम नगर्न चेतावनी दिएको छ।

होली पर्वलाई एकता, सद्भाव र भाइचाराको पर्वका रूपमा मनाउनुपर्ने उल्लेख गर्दै कसैको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्ने जस्ता अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न आग्रह गरिएको छ। विशेष गरी निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई दुःख, हैरानी हुने कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ।

मादक तथा नशालु पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न, सार्वजनिक स्थानमा होहल्ला नगर्न तथा चर्को आवाजमा डिजे लगायतका ध्वनि प्रदूषक उपकरण नबजाउन प्रशासनले चेतावनी दिएको छ।

कानुन विपरीतका कुनै पनि कार्य गरे वा गराएमा प्रचलित कानुन अनुसार कारबाही हुने सहायक सिडियो जितेन्द्र कुमार यादवद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। केही दिन अघि गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदाय बिच उत्पन्न विवादका कारण ठुलो तनाव उत्पन्न भएको थियो। निर्वाचन तथा होली पर्व मनाउने क्रममा जिल्लाको कुनै पनि स्थानमा पुनः त्यस प्रकारको गतिविधि दोहरिन नदिन स्थानीय प्रशासनले विशेष सजगता अपनाउन आग्रह गरेको छ।

1000483521

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप