शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनए महासचिवका उम्मेदवार सिम्खडाद्वारा ७ बुँदे संकल्प-पत्र सार्वजनिक (पूर्णपाठ)

बुधबार, १३ फागुन २०८२, १३ : ५५
बुधबार, १३ फागुन २०८२

सारांश

  • एनआरएनएको आगामी कार्यकालका लागि रामशरण सिम्खडाले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • सिम्खडाले संस्थालाई राजनीतिक गुटबन्दीबाट माथि उठाउने र सदस्यता प्रणालीमा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका छन्।
  • उनले एनआरएन ऐन संशोधन र स्मार्ट एनआरएन एपलाई थप सुरक्षित बनाउने योजना बनाएका छन्।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित एक विशेष कार्यक्रममा सिम्खडाले आफ्नो ७ बुँदे संकल्प–पत्र सार्वजनिक गर्दै उम्मेदवारीको घोषणा गरेका हुन् । 

सिम्खडाले संस्थालाई राजनीतिक गुटबन्दीभन्दा माथि उठाएर विशुद्ध सामाजिक र साझा संस्थाको रूपमा स्थापित गर्ने अठोट लिएका छन् । उनले १०औँ र ११औँ महाधिवेशनमा देखिएका विवादहरूलाई वस्तुनिष्ठ ढंगले समाधान गर्न र सदस्यता वितरण एवं प्रतिनिधि छनोट प्रणालीलाई पुनरावलोकन गर्न निर्वाचित भएको ६ महिनाभित्रै विधान–सभा मार्फत आवश्यक संशोधन गर्ने घोषणा गरेका छन् । साथै, सबैले नेतृत्व छनोटमा सहभागी हुन पाउने गरी ‘इलेक्टोरल सिस्टम’ लाई विधानमा समावेश गर्ने र राजनीतिक हस्तक्षेप अन्त्यका लागि एनआरएन ऐन संशोधनमा पहल गर्ने उनको योजना छ । 

संस्थाको गरिमा र पारदर्शिताका लागि केन्द्रको त्रैमासिक लेखा प्रतिवेदन वेबसाइटमा राख्ने र महत्वपूर्ण निर्णयहरूमा पञ्जीकृत सदस्यहरूको राय लिन ‘रेफरेन्डम’ (जनमत) को व्यवस्था गर्ने समेत उनले प्रतिज्ञा गरेका छन् ।

प्रशासनिक सुधारतर्फ सिम्खडाले निर्वाचित भएको तीन महिनाभित्र दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गर्ने, काठमाडौँ सचिवालयलाई बढी अधिकारसम्पन्न र जिम्मेवार बनाउने तथा निर्वाचन अघिको ६० दिन बाहेक बाँकी २२ महिना नै सदस्यता खुल्ला राख्ने नीति लिने संकल्प पत्रमा उल्लेख गरेका छन् । राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई थप सशक्त बनाउन उनले उत्कृष्ट कार्य गर्ने तीन एनसीसीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार डलरसहित पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

 प्रविधिलाई प्राथमिकता दिँदै ‘स्मार्ट एनआरएन एप’ लाई थप सुरक्षित र सदस्य–मैत्री बनाउने तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको सहकार्यमा परोपकारी कार्यहरूलाई अघि बढाउने उनको कार्ययोजनामा उल्लेख छ । झन्डै १२ वर्ष अन्तर्राष्ट्रिय दातृ संस्थामा प्रशासकीय भूमिका निर्वाह गरेको अनुभवले एनआरएनएको प्रशासनिक सुधारमा ठुलो मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

 सिम्खडा एनआरएनए यूकेको संस्थापक सदस्य (२००५–०७) देखि महासचिव र सल्लाहकार हुँदै आईसीसी सदस्य, उपमहासचिव र हाल उपाध्यक्ष एवं एनआरएन कल्याण विभाग प्रमुखका रूपमा कार्यरत छन् । उनले संविधान संशोधन सल्लाहकार समितिको सह–संयोजक र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा निर्देशकको भूमिका समेत सफलतापूर्वक निभाएका छन् । उपाध्यक्ष भइसकेपनि संस्थाको हितमा काम गर्नकै लागि आफू महासचिवमा लड्न लागेको उनको भनाइ छ

उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले उपस्थितलाई स्वागत गर्दै एनआरएनको एजेन्डालाई स्थापित गराउन सिम्खडा जस्तो क्षमतावान् नेतृत्वको खाँचो रहेको बताए । उनले सिम्खडाको कार्यक्षमता र अनुभवले संस्थालाई नयाँ उचाइमा पुऱ्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी एनसीसी माल्टाका अध्यक्ष सत्य झा, लक्ष्मण देवकोटा, सरस्वती केसी, राजु भट्टराई, दीपक सापकोटा, तिलक भट्टराई, हेमन्त काफ्ले लगायतले सोधेका प्रश्नहरूमा सिम्खडाले स्पष्ट पार्दै आफ्नो भावी रणनीति प्रस्तुत गरेका थिए ।

२०० भन्दा बढीको सहभागितामा भएको कार्यक्रममा एनआरएनए आईसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठसहित उपाध्यक्ष रोबिन प्रसाद शेरचन, उपाध्यक्ष लोक दाहाल, पूर्व उपाध्यक्ष यस्मिन बेगम सैयद, उप–कोषाध्यक्ष अभिमन्यु बस्नेत र सल्लाहकार गोविन्द गौतमले शुभकामना दिएका थिए । त्यसैगरी, संस्थापक अन्तर्राष्ट्रिय संयोजक एवं म्यानमारका लागि पूर्व राजदूत भिम उदासले पनि अडियो सन्देशमार्फत उनलाई शुभकामना दिएका थिए ।
शुभकामना दिने अन्य व्यक्तित्वहरूमा युरोप क्षेत्रीय महिला संयोजक प्रसुना कडेल, एनआरएनए एनसीसी यूएईका अध्यक्ष टंक गुरुङ, जेनेभाबाट एनआरएन अभियन्ता लक्ष्मण देवकोटा, डेनमार्कबाट सरस्वती कार्की, क्यानाडाबाट राजु भट्टराई र अस्ट्रियाका अध्यक्ष बिनोद चौलागाईं रहेका थिए । 

त्यस्तै, एनआरएनए यूकेका सचिव डीएन खरेल, अभियन्ताहरू गणेश प्रसाद शिवाकोटी, ललित न्यौपाने, अमेरिकाबाट परशुराम भण्डारी, फ्रान्सका अध्यक्ष मिन श्रेष्ठ, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजकवेद बस्नेत, एनसीसी अमेरिकाकी महिला सचिव संगीता लामा लामिछाने, इजरायलबाट आईसीसी सदस्य अली मोहम्मद मिया, माल्टाबाट आईसीसी सदस्य एवं युरोप कमिटीका सचिव भुवन अर्याल र महिला सह–कोषाध्यक्ष अमृता थापा कञ्चन लगायतले जुममार्फत जोडिएर सिम्खडालाई शुभकामना थिए ।  एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि काठमाडौँमा हुने तय भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप