बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल पाएको ट्रम्पको दाबी

बुधबार, १३ फागुन २०८२, १४ : ३३
बुधबार, १३ फागुन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल प्राप्त गरेको बताए।
  • अमेरिकी सेनाले हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेस्रो प्रतिबन्धित तेल ट्यांकर नियन्त्रणमा लियो।
  • ट्रम्पले भेनेजुएलालाई नयाँ मित्र र साझेदार भन्दै तेल आपूर्ति बढेको उल्लेख गरे।

वासिङटन डीसी । अमेरिकाले भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । यहीबीच अमेरिकी सेनाले हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेस्रो प्रतिबन्धित तेल ट्यांकर नियन्त्रणमा लिएको पेन्टागनले जनाएको छ । 

वाशिङ्टन डीसीमा मंगलबार राति भएको आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा ट्रम्पले भेनेजुएलालाई नयाँ मित्र र साझेदार भन्दै तेल आपूर्ति बढेको उल्लेख गरे । उनले अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेको दाबी गर्दै आफ्नो पुरानो नारा ‘ड्रिल, बेबी, ड्रिल’ दोहोर्‍याए ।
 
यसै दिन अमेरिकी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले ‘बर्था’ नाम गरेको तेल ट्यांकरलाई हिन्द महासागरमा रोकेको जानकारी दिएको थियो । सेनाले उक्त जहाजलाई क्यारिबियन क्षेत्रदेखि पछ्याउँदै आएर नियन्त्रणमा लिएको बताइएको छ ।

पेन्टागनका अनुसार ट्यांकरले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गर्दै भाग्ने प्रयास गरेको थियो । भिडियोमा अमेरिकी सैनिकहरू हेलिकप्टरबाट झरेर जहाजमा चढेको दृश्य देखाइएको छ । यो घटनासँगै भेनेजुएलासँग सम्बन्धित नियन्त्रणमा लिइएका ट्यांकरको संख्या तीन पुगेको छ ।
 
तेल अनुगमन गर्ने संस्था ट्यांकरट्र्याकर्स डटकमका सहसंस्थापक समीर मदानीका अनुसार ‘बर्था’ जहाजमा करिब १९ लाख ब्यारेल मेरी १६ ग्रेडको कच्चा तेल थियो । यो भेनेजुएलाको प्रमुख निर्यात ग्रेडमध्ये एक मानिन्छ । 

ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योग अमेरिकी कम्पनीहरूका लागि खोल्ने संकेत पनि दिएको छ । यसअघि ट्रम्पले जनवरीमा विशेष सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई समातेपछि भेनेजुएलाको तेल अमेरिकाले चलाउने भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप