सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४८ थान राहदानीसहित दिल्ली उड्न लागेका एक जना विमानस्थलबाट पक्राउ

बिहीबार, १४ फागुन २०८२, १८ : ५३
बिहीबार, १४ फागुन २०८२

सारांश

  • त्रिभुवन विमानस्थलमा ४८ वटा राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन्।
  • भुटान एयरलाइन्सको उडानमार्फत दिल्ली जान लागेका व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो।
  • पक्राउ परेका व्यक्तिले राहदानी अवैध रूपमा विदेश लैजान खोजेको आशंका गरिएको छ, थप अनुसन्धान जारी छ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ठूलो संख्यामा नेपाली राहदानी विदेश लैजान लागेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्। ४८ थान राहदानीसहित काठमाडौँको नागार्जुन नगरपालिका १ घर भएका ४५ वर्षीय तारा चन्द चौधरीलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

भुटान एयरलाइन्सको उडान नम्बर बी३ ७७३ मार्फत काठमाडौंबाट दिल्ली जान लागेका चौधरीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई केरकार गरेको थियो। अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियामा रहेको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको कालो रङ्गको झोलाभित्र ठूलो परिमाणमा राहदानी लुकाएको फेला परेको थियो। प्रहरीले उनको झोलाबाट ४८ थान नेपाली राहदानी बरामद गरेको छ, जुन उनले अवैध रूपमा मुलुक बाहिर लैजाने प्रयास गरिरहेका थिए।

यति धेरै संख्यामा राहदानी कसको हो र कुन प्रयोजनका लागि दिल्ली लैजान लागिएको हो भन्नेबारे खुल्न सकेको छैन। विमानस्थल सुरक्षा कार्यालयले उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप