इन्स्टाग्राममा किशोरकिशोरीले ‘आफूलाई हानी पुर्याउने’ सम्बन्धी सामग्री खोजे अभिभावकलाई तत्काल अलर्ट जाने
सारांश
- मेटाले किशोरकिशोरीको सुरक्षाका लागि आत्महत्या सम्बन्धी शब्द खोज्दा अभिभावकलाई अलर्ट गर्ने फिचर ल्याएको छ।
- यो फिचर बेलायत, अमेरिका, अस्ट्रेलिया र क्यानडामा सुरु हुने र पछि विश्वभर विस्तार गरिनेछ।
- कतिपय संस्थाहरूले मेटाको यो कदमको आलोचना गर्दै यसले अभिभावक र बालबालिकाको सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएका छन्।
काठमाडाैँ। सामाजिक सञ्जाल इन्स्टाग्रामको मातृ कम्पनी मेटाले किशोरकिशोरीहरूको सुरक्षाका लागि एक नयाँ र शक्तिशाली फिचर ल्याउने घोषणा गरेको छ। अब इन्स्टाग्राममा कुनै पनि किशोर वा किशोरीले बारम्बार आत्महत्या वा आत्म–हानीसँग सम्बन्धित शब्दहरू सर्च गरेमा उनका अभिभावकलाई तत्कालै मोबाइलमा अलर्ट अर्थात् चेतावनी सन्देश जानेछ।
पहिलो पटक मेटाले यसरी प्रयोगकर्ताको सर्च हिस्ट्रीका आधारमा अभिभावकलाई सिधै जानकारी दिन लागेको हो। यो फिचर अर्को हप्तादेखि बेलायत, अमेरिका, अस्ट्रेलिया र क्यानडामा लागू हुनेछ भने पछि विश्वभर विस्तार गरिनेछ।
यसअघि इन्स्टाग्रामले यस्ता शब्दहरू सर्च गर्दा नतिजाहरू ब्लक गर्ने र सहयोगका लागि विभिन्न संस्थाका लिंकहरू मात्र देखाउने गर्दथ्यो। तर अब भने अभिभावकलाई नै सक्रिय रूपमा सहभागी गराउन खोजिएको मेटाको दाबी छ। यस्तो अलर्टसँगै अभिभावकले आफ्ना बालबालिकासँग कसरी संवेदनशील कुराकानी गर्ने भन्नेबारे विज्ञहरूको सुझाव र स्रोतहरू पनि प्राप्त गर्नेछन्।
मेटाको यो घोषणालाई लिएर आत्महत्या रोकथामका क्षेत्रमा कार्यरत संस्थाहरूले भने कडा आलोचना गरेका छन्। सन् २०१७ मा इन्स्टाग्राममा हानिकारक सामग्री हेरेकै कारण ज्यान गुमाएकी १४ वर्षीया मली रसेलको सम्झनामा स्थापित ‘मली रोज फाउन्डेसन’ ले यो कदमले फाइदा भन्दा बढी क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ। फाउन्डेसनका प्रमुख कार्यकारी एन्डी बरोजका अनुसार कुनै पूर्व तयारी बिना अचानक अभिभावकलाई यस्तो गम्भीर सन्देश पठाउँदा उनीहरू अत्तालिने र बालबालिकासँगको सम्बन्ध झन् बिग्रन सक्ने जोखिम रहन्छ।
मली रसेलका बुवा इयान रसेलले पनि यसमा असहमति जनाएका छन्। उनले भने, ‘कल्पना गर्नुहोस्, कुनै अभिभावक अफिसमा काम गरिरहेका बेला ‘तपाईंको बच्चाले जीवन समाप्त गर्ने सोचिरहेको छ’ भन्ने म्यासेज आयो भने कस्तो होला? मेटाले सहयोगका सामग्री दिन्छु भने पनि त्यो आतंकको क्षणमा कसैले त्यसलाई सही ढंगले प्रयोग गर्न सक्दैन।’
आफ्नो गल्ती अभिभावकमाथि थोपर्ने प्रयास
विभिन्न परोपकारी संस्थाहरूले मेटाले आफ्नो प्लेटफर्ममा रहेका हानिकारक अल्गोरिदमहरू सुधार्नुको साटो जिम्मेवारी अभिभावकको काँधमा पारेको आरोप लगाएका छन्। प्यापिरस नामक संस्थाका प्रमुख जेद फ्लिनले बालबालिकाहरू अनलाइनको खतरनाक संसारमा फस्नु मुख्य समस्या भएको र मेटाले सोही समस्यालाई सम्बोधन नगरेको बताएका छन्। अभिभावकहरू आफ्ना बालबालिकाले हानिकारक सामग्री सर्च गरेपछि अलर्ट पाउनु भन्दा पनि त्यस्ता सामग्री उनीहरूसमक्ष पुग्दै नपुगोस् भन्ने चाहन्छन्।
विज्ञहरूका अनुसार इन्स्टाग्रामको अल्गोरिदमले अझै पनि डिप्रेसन र आत्महानी सम्बन्धी सामग्रीहरू किशोरकिशोरीलाई सिफारिस गर्ने गरेको छ। त्यसैले, मेटाले बालबालिकाको उमेर अनुसार सुरक्षित हुने गरी आफ्नो सिस्टमको डिजाइन नै परिवर्तन गर्नुपर्ने माग उठेको छ।
मेटाले भने यी आलोचनाहरूको खण्डन गर्दै आफूहरूले अभिभावकलाई सशक्त बनाउन र किशोरकिशोरीलाई सुरक्षा दिन खोजेको दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण