निर्वाचन सुरक्षा बुझ्न एकैदिन ५ जिल्लामा पुगे गृहमन्त्री र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकैदिन ५ जिल्लामा पुगेर निर्वाचनको तयारीबारे अनुगमन गरेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा अवस्था र तयारीबारे शुक्रवार उनीहरुले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्साको अनुगमन गरेका हुन् ।
अनुगमनमा सहभागी गृहमन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार मन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको टोलीले दोलखाको बैदेश्वर गाउँपालिकाका मतदान स्थलको स्थलगत अनुगमन गरी सुरक्षा अवस्थाबारे समीक्षा गरेको थियो । त्यसपछि ओखलढुङ्गा पुगेर निर्वाचन तयारी र शान्ति सुरक्षाबारे अन्तरक्रिया गरेको थियो ।
ओखलढुङ्गामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले गैर कानुनी गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिने चेतावनी दिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याइने बताए ।
अनुगमनको क्रममा रौतहटमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले तराई–मधेस क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैको योगदान रहेको बताए । उनले भने, ‘निर्वाचन सम्बन्धी कुनै कसुर गरेमा निर्वाचन विरोधी तत्त्वहरूलाई उन्मुक्ति दिनु हुँदैन ।’
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विभिन्न समूह र संस्थाले बेला बखत धार्मिक तथा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास गरिए पनि त्यसलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षा कायम गरिएको जानकारी दिए।
अनुगमनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, सशस्त्रका एआईजी गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य तथा सशस्त्रका डिआइजी विष्णु भट्ट सहभागी थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण