रुपन्देही–४ मा आठौँ पटक उम्मेदवार बनेका शुक्लालाई आफ्नै पूर्वकार्यकर्तादेखि नयाँ अनुहारको चुनौती
सारांश
- रुपन्देही क्षेत्र नम्बर ४ मा जसपाका सर्वेन्द्रनाथ शुक्ला आठौँ पटक चुनावी प्रतिस्पर्धामा छन्।
- यस क्षेत्रमा रास्वपा, एमाले, जनमत पार्टी र कांग्रेसका उम्मेदवारहरूले शुक्लालाई चुनौती दिँदैछन्।
- २०४८ सालदेखि उम्मेदवार रहेका शुक्ला र अन्य दलका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ।
बुटवल । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर ४ लाई चासोका साथ हेरिएको छ । यस निर्वाचन क्षेत्रमा हेभीवेट उम्मेदवारका रूपमा जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला छन् । उनी आठौँ पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
शुक्लालाई प्रदेश सभाबाट राजीनामा दिएर दल परिवर्तन गरी उम्मेदवार बनेका रास्वपाका कन्हैया बनियाँ, यस अघिको निर्वाचनमा तेस्रो बनेका जनमत पार्टीका भूपेन्द्र यादव र कांग्रेसबाट टिकट नपाएपछि अन्तिममा एमाले प्रवेश गरेर उम्मेदवार बनेका प्रमोद यादव, कांग्रेसका नयाँ र अध्ययनशील युवा आशुतोष मिश्रले चुनौती दिएका छन् ।
तुलनात्मक रूपमा यो निर्वाचन क्षेत्र रुपन्देहीको कम विकसित क्षेत्र मानिन्छ । यहाँ २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टीबाट शुक्ला निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका प्रमोद यादव दोस्रो र जनमत पार्टीका भूपेन्द्र यादव तेस्रो स्थानमा रहे । उक्त निर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाएर जसपा नेपाललाई सघाएको थियो ।
समानुपातिक मततर्फ लोकतान्त्रिक समाजवादी पार्टीले त्यतिबेला २२ हजार ३७ मत प्राप्त गरेको थियो । यस्तै, नेपाली कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ४५८, एमालेले २ हजार ८२३ र रास्वपाले एक हजार ६५७ मत प्राप्त गरेका थिए ।
त्यो बेला लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभातर्फ निर्वाचित कन्हैया बनियाँ प्रदेश सभाबाट राजीनामा दिएर अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् । बनियाँ यसअघि शुक्लाकै खास सहयोगी थिए भने अहिले यी दुईबिचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।
विगतका निर्वाचन परिणामलाई हेर्ने हो भने यहाँ एमालेको खासै संगठन देखिँदैन । यो निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन दर्ताको केही अघिमात्र कांग्रेसका नेता प्रमोद यादवलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको हो ।
रास्वपाका उम्मेदवार बनियाँ र एमालेका उम्मेदवार यादव अन्तिम समयमा आफ्नो साविकको पार्टी त्यागेर उम्मेदवार बनेका हुन् । अन्तिम समयमा दल परिवर्तन गरेर आउने उम्मेदवारलाई मतदाताले पत्याउने सम्भावना कम हुने समरीमाई–७, वेतकुइयाका जगन्नाथ कुर्मीले बताए ।
रास्वपाका उम्मेदवार कन्हैया बनियाँ भने मर्चवारको विकासका लागि प्रदेश सभामा रहेरभन्दा प्रतिनिधि सभामा पुगेर धेरै काम गर्न सकिने भएकाले आफू उम्मेदवार बनेको बताउँछन् । अहिले देशभर नयाँ उत्साहका साथ रास्वपाको पक्षमा लहर आएकाले आफूले जित्ने उनको दाबी छ ।
जनमत पार्टीका भूपेन्द्र यादवले अघिल्लो निर्वाचनमा आफू तेस्रो भए पनि अहिले पहिलो बन्ने आधार रहेको बताउँछन् । आफू वर्षौंदेखि निरन्तर निर्वाचन क्षेत्रमा खटिरहेको उल्लेख गर्दै उनले मतदाताको विश्वास पाइरहेको दाबी गरे ।
यस्तै २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला आठौँ पटक चुनावी मैदानमा छन् । उनी मर्चावरको विकासमा आफूले गरेको योगदान नै जितको आधार रहेको दाबी गर्छन् ।
अघिल्लो निर्वाचनमा निर्वाचित शुक्लाको मत अहिले उनकै पार्टी छाडेर रास्वपामा गएका कन्हैयाले काट्दा त्यसको लाभ आफूलाई हुने यादवको भनाइ छ । पूर्व राज्यमन्त्री ओमप्रकाश यादव अहिले जनमत पार्टीमा आएपछि आफूलाई थप सहज भएको उनले बताए ।
एमालेका उम्मेदवार प्रमोद यादव २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी फेरि जित फर्काउने प्रयासमा छन् ।
यस्तै २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला आठौँ पटक चुनावी मैदानमा छन् । उनी मर्चावरको विकासमा आफूले गरेको योगदान नै जितको आधार रहेको दाबी गर्छन् ।
नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले तुलनात्मक रूपमा विगतदेखि यहाँ कांग्रेसको संगठन केही बलियो देखिएको बताउँदै आफू लामो समयदेखि स्थानीयसँग भिजेको र विकासको स्पष्ट खाका भएकाले जित्ने दाबी गरे ।
यस क्षेत्रमा विगतमा मधेसवादी दलबिच मुख्य प्रतिस्पर्धा हुन्थ्यो । यस पटक अवस्था बदलिएको छ । यहाँ खासगरी दलहरू भन्दा पनि व्यक्तिको आधारमा मत आउने इतिहास देखिन्छ ।
२२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्र मधेसी समुदायको बाहुल्यता छ । यो निर्वाचन क्षेत्रको अधिकांश भूभाग भारतको सीमासँग जोडिएको छ । मर्चवारीमाइ, कोटहीमाई, सम्मरीमाई पूरै र मायादेवी गाउँपालिकाका अधिकांश वडा यस क्षेत्रमा पर्छन् । यहाँ १ लाख १६ हजार १ सय ७२ मतदाता छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण