बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कला

अन्तर्दृष्टि : संगीका घतलाग्दा कामहरू

शनिबार, १६ फागुन २०८२, १२ : ००
शनिबार, १६ फागुन २०८२

सारांश

  • संगीको 'अन्तर्दृष्टि' शीर्षकको कला प्रदर्शनी ठूलो उपस्थितिमा सार्वजनिक भयो।
  • कलाकारले आफ्नो कलाको माध्यमबाट दर्शक र भावकबीच सिधा संवादको चाहना राखेका छन्।
  • प्रदर्शनीमा देवीदेवताका चित्र र मूर्तिहरू प्रस्तुत गरिएको थियो, जसले समकालीन महिला र आध्यात्मिकतालाई जोडेको छ।

संगीका आकर्षक कामहरू गत १९ फेब्रुअरीका दिन ठुलो उपस्थितिबिच ‘अन्तर्दृष्टि’ का नामबाट सार्वजनिक गरियो । ठुलो प्रदर्शन कक्ष, हुलहाल, अनेकौँ मान्छेको भीड । झट्ट हेर्दा कलाको मेला जस्तो देखिन्थ्यो । तर खासै औपचारिक कार्यक्रम भएन । कलाबारे थोर–बहुत केही बोल्ने काम भएपनि बुझिएन ।

कलालाई शब्दले खेलाउनु भन्दा पनि प्रत्यक्ष अवलोकन गर्दा ज्यादा आनन्द आउने रहेछ । किनभने कला राम्रा र लोभलाग्दा थिए । उनी आफै पनि चाहन्थे उनका कलाहरू शब्दले व्याख्या गरिरहनु भन्दा आ–आफ्नै ढङ्गले भावकले सिधै ग्रहण गरोस् । कला र भावक सिधै कुराकानी गरुन् । 

यो उनैको एक्लो कला पनि होइन । भावकसँग नजिकबाट गाँसिनुलाई बनाइएको साझा इच्छा–पत्र हो यो कार्यक्रम । जसलाई हेरेर भावकले आफ्नो भावनालाई पनि खोजेर पत्ता लगाओस् भन्ने । यसैकारण मैले पनि खासै भनिरहन आवश्यकता थिएन । 

1

तथापि कलाको आफ्नै इतिहास पनि त छ । यसैकारण हिजोआज कलाकारको अवधारणा, आशय र दृष्टिकोणलाई अभिलेखमा राख्न थालिएको छ । कलाकारले जिएको जीवन, विचारलाई पनि सतहमा ल्याउनु जरुरी हुन जान्छ । किनभने यसैको प्रतिबिम्ब उनका कला हुने गर्छन् । 

यसर्थ कलाकारको विचार पक्षमा पनि छलफल गरिनु आवश्यक हुन आउँछ । उदाहरणका लागि अन्तर्दृष्टिकै सन्दर्भ उठान । अन्तर्दृष्टि अर्थात् कलाकार स्वयंको अन्तरमनको दृष्टि । आफैले आफैसँग संवाद गरी बनेको उनैका विचार । यसैबाट बनेको उनको दृष्टिकोण । सिधा अर्थमा भन्दा मनभित्रको विचार । 

यसबाट देव–देवी भन्ने अर्थ पनि निक्लन्छ । यसैको सन्दर्भ कलासँग गाँसिएर देखा पर्दा उनको कला झनै चहकिलो देखिन पुग्छ । भावकले बुझ्ने आत्मसात् गर्ने प्रक्रिया अझ तिक्खर भएर जान्छ । यसैले गर्दा कलामाथि मौखिक वा लेखनबाट बहस हुन जरुरी छ । 

3

देव–देवीको सन्दर्भ निक्लेपछि झट्ट हेर्दा देखा परेका थुप्रै कुराहरू थिए । तथापि कला आफै भावकसँग कुराकानी गरोस् भन्ने आग्रह यथेष्ट देखियो । अर्थात् कलासँग भावकको प्रत्यक्ष संवादको चाह अझ स्पष्ट रूपमा दृष्टिगोचर हुन पुग्यो । देवी–देवताको मनमोहक रूप, आकर्षक ढङ्गले बसेका अवयवहरू भावकहरूले गौर गरेरै अवलोकन गरे । 

भावकहरूले चित्रहरूलाई मौनताका साथ, होहल्ला नगरी मन्त्रमुग्ध भएर रसास्वादन गरे । एकक्षण अगाडिको होहल्ला कता हो कता बिलाएर गए जस्तो पनि भयो । एक अर्कामा सकारात्मक भावको प्रवाह बगिरहेको देखियो । यस्तै प्रभावमा भावकहरू रुमलिनु उनको कलाको सार्थकता थियो ।   

4

देवीथानमा देवीको भक्तिभावका साथ पूजा–अर्चना गरे जस्तो मन्त्रमुग्ध भएको देखिनु पनि यी चित्रहरूको सबल पक्ष नै मान्न पर्छ । आध्यात्मिक देवी, कलाकारको मनभित्र बसेको देवी अनि यही हाम्रो आस्थाका साथ बसेको आजको देवी भएर देखिनु पनि उनको कलाको अभिप्राय थियो । 

मूलतः धेरै वर्षदेखि उनी महिलाको सवाललाई उठाउँदै आएका कलाकार हुन् । तथापि त्यसबखत यही शैली अनि संयोजनमा बनेका देवी देवता थिएनन् । उनका कलामा कल्पनाको भन्दा पनि आजका महिलाहरू बढी देखिन्थे । महिलाले भोगेको जिन्दगी देखिन्थ्यो । 

हिजोको विषय आज फेरिएको छ । आज विषयले यही आजको देवी साक्षात् देवीको रूप धारण गरेको छ । पहिले अनि अहिले हेर्दा उस्ता उस्तै देखिएता पनि यस बखत आध्यात्मिकताले प्रवेश पाउँदा यी चित्रहरू अझ आकर्षक वनेको हो । 

5

संगीको झन्डै तीन दशकको कला यात्रामा थुर्पै आरोह र अवरोह देखिएको छ । सन् २०००को शुभारम्भ ताका वैकल्पिक कलाका प्रखर प्रयोक्ताका रूपमा उनी देखा परेका थिए । उनका यस्ता उत्तरआधुनिक कलाहरूमा इन्स्टलेसन, पर्फमेन्स अनि इन्टरयाक्टिभ कलाहरूलाई प्रयोगात्मक रूपमा प्रस्तुत हँदा आम मान्छेका चासोहरू यथेष्ट रूपमा देखापरेका थिए । 

आज चाहिँ उनी यसैलाई पुनः आध्यात्मिक संवाद छेउ ल्याउन कोसिस गर्दैछन् । फलतः हाम्रै परम्परागत कलेवरले पनि स्थान पाएको देखिन्छ । आम मान्छेको गहिरो आस्था बनेका यस्ता लोक गाथा अनि धर्मका अवयवहरू आधुनिक फर्ममा देखिनु एउटा अलग्गै विशेषता हो । 

यसअर्थमा नितान्त परम्परागत कलामा अर्थात् पौभा कला आधुनिक रूपमा देखिदा पनि यसले अलग्गै महत्व बोकेको हो । पौभा चित्रलाई आजको सन्दर्भमा कसरी पुनर्व्याख्या गर्न सकिन्छ भन्ने पनि हो । साँचो अर्थमा भन्दा यही उनको खास कलागत पहिचान पनि हो । उहिले–उहिले चाहिँ धार्मिक रूपमा शास्त्रीय पण्डितहरूले स्लोकहरूमा वर्णन गरे अनुसार निश्चित अर्थ अनि मान्यताको आधारमा यस्ता चित्र बनाइन्थ्यो । 

आजका कलाकारले यही चित्रलाई आफ्नो मनको विचारसँग बाँधेर प्रस्तुत गर्दा स्वभावतः अलिक भिन्न देखिन्छ । संगीका यी चित्रहरू पनि यस्तै भएका हुन् । 

सन् २००९मा उनको पहिलो एकल कला प्रदर्शनी भएको थियो । यसपछि दुई, तीन हुँदै यो उनको चौथो एकल कला प्रदर्शनी हो । चौथो कलामा आइपुग्दा उनका परिमार्जित विचारहरू प्रबल रूपमा देखिन थालेको छ । जति सुकै रूपमा भाव, सौन्दर्यता खोजे पनि उनको अन्तर्आत्माले भन्न खोजेका कुराहरू, देश, काल परिस्थितिले उनलाई चिमट्न थालेपछि देखा परेका अभिव्यञ्जना र अवधारणाहरू यसपटक देखिँदा पनि यी कलाहरू चोटिला बनेका छन् । 

6

अर्कोतर्फ उनको यस पटकका मूर्तिहरू पनि सर्वनविन पारामा देखा परेका छन् । मूलतः उनी मूर्तिकार होइनन् । तापनि यसपल्ट देखा परेका भावनात्मक मूर्तिहरूले गर्दा यस विधामा पनि उनको गतिलो पकड रहेको देखिन्छ । मूर्तिमा पृथ्वी अनि हातको भावनात्मक सन्दर्भलाई उनले जोड्न खोजेका छन् । 

उनी स्वयं आफूले बाँचेको माटोसँगको समन्वय चाहन्छ । अनि उपजका रूपमा उनका यस्ता मूर्तिहरूले जन्म पाएको देखिन्छ । माटोसँग खेल्दै जाँदा माटोमा सशरीर स्पर्श हुँदै जाँदा उनी आफ्नो माटोप्रति अझ बढी आत्मीयता भएको महसुस गर्छन् । अनि यसैको प्रतिकात्मक बिम्ब उनको कलामा देखिन्छ । बाङ्गाटिङ्गा माटाका भाडा देखिँदा पनि यसमाथि अनेकानेक भावनात्मक बुट्टाहरू भर्दै जान्छन् । अनि अनेकानेक भावनाहरू अमूर्त रूपहरू जन्मदै जान्छ । 

रेखाहरू उछलकुलद गर्दै जता पायो उता दौडँदै जान्छन् । अनि एउटा अमूर्त रूप बन्छ । सम्भवतः यो उनको आत्मीयताको अनि अपनत्वको बिम्ब हो । स्वतःस्फूर्त जन्मेका यी रेखाहरू मनपरी कुदी बस्दा देखा परेको शौन्दर्यता नै उनको चाह हो जस्तो देखिन्छ । 

हुन त संगी आफै भन्छन्, ‘शब्द जहाँ सकिन्छ, त्यहाँबाट कलाको जन्म हुन्छ । जहाँ आत्मा आफै रङ्ग र रेखाहरू बनेर बोल्न थाल्छ । कला मेरा लागि दृश्यात्मक अभिव्यञ्जना मात्र होइन आत्माको औषधि हो । ध्यानका रूपमा शक्तिको श्रोत हो ।’

कलामाथिको उनको दृष्टिकोण यतिमै सकिँदैन उनी थप्छन्, ‘म देखिने नदेखिने अवयवहरूसँग छलफल गरी बस्छु । यसबाट एउटा भावनाको उपज हुन्छ । यसले एउटा आकार लिन्छ अनि यही उज्यालोमा देखा पर्छ । मूलतः मेरो कला यसैको प्रतिबिम्ब हो ।’ 

7

उनको सोच अनि कला हेर्दा स्वभावतः अध्यात्म चिन्तन, आफू भित्रको आफूलाई जागृत गराउनु उनको विशेषता देखिन्छ । आफू आफैले बोकेका विचारहरू, आफै आफूभित्र भगवान् हुनुको अर्थमा उनी आमाबाबु पनि भगवानकै रूप मान्दछन् । यसकारण पनि अनेकानेक आयुध र आसनमा देवीहरू देखा परे पनि सफा शुद्ध मन अनि आदरभावको जगेर्ना गर्न पनि उनका कलाहरू देखा परेका हुन् । 

ज्यामितीय फर्ममा बनेका उनका विशेष गरेर धार्मिक पात्रहरू स्वयं आजका कुराहरू बोलिरहेका देखिन्छन् । जसद्वारा भावकमा प्रत्यक्ष अर्थसहित शौन्दर्यता प्रवाहित भइरहेको देखिन्छ । समष्टिमा हेर्दा यो अन्तरमन भित्र लुकेर बसेको अन्तर्दृष्टि नै त हो । उनी थप भन्छन् यसैले त मेरा कलाहरू स्वयं नै आध्यात्मिक संवाद हो, जसले म र मेरा भावकबिच अन्र्तक्रिया गराई बस्छ । अनि मेरो र आम भावकबिचको आत्मा अनि आत्माबिचको यो कुराकानी देखिदैन तर महसुस भने भई नै रहन्छ ।        

रमझम ठमेलमा कला दीर्घाको रूपमा कला सालोन अवस्थित छ । यही कला सालोनमा भएको यो प्रदर्शनीमा एउटै भाका बोकेका सँगीका चित्र अनि मूर्तिहरू सँगसँगै बस्न आएका छन् । मूर्ति अनि चित्रहरू सँगै देखिनु उनको पहिलो प्रयोगात्मक प्रस्तुति पनि हो । मूर्तिको स्वरूप चित्र भन्दा थोरै अलग्ग थिए । तापनि यी दुबैमा यथेष्ट समन्वयता भने कायम नै थियो । ध्यानमय गम्भीरता दुवैमा समाहित थियो । 

अझ कैयौँ सिरामिक मूर्तिनुमा चित्रहरू पनि देखिन्थ्यो । यसले गर्दा यी दुई बिच रहेको अन्तरसम्बन्ध भरपुर मात्रा उजागर भएको देखिन्थ्यो । विशेष गरेर भावनात्मक गहिराइमा डुबेका यी सिरामिकका कामहरू अन्तरमनका आवेगहरू छताछुल्ल भएर पोखिरहेको समेत अनुभव गर्न सकिन्थ्यो । 

उनका सिरामिकका मूर्तिहरू यसअघि देखिएको थिएन । उनी यसपल्टका मूर्तिहरूमा दुरूहता राख्न खोजेका छैन । साधारण, सहज पारामा बनाउनुले पनि यसबाट प्रवाहित हुनेले इमान्दारीता बोकोस् भन्ने उनको चाह छ । अहिले थोरै अलग शैलीका मूर्तिहरूले पनि यसैमा साथ दिँदा उनको कलाको आयातन तन्केर अझ चाक्लो बनेको छ । गम्भीर ध्यान मुद्रामा समाहित हुनु चाहिँ दुवैको अन्तर्ध्वनि एक जसो हो भन्ने कुराको चरितार्थ पनि गर्छ । 

8

उनका कलाहरू ज्योम्याट्रीक फर्ममा पनि राइटयाङ्गुलर सेपमा रेखाहरूसँग खेली बस्नु अझ चाखलाग्दो पाराले देखा परेको छ । अझ रमाइलो कुरा त अमूर्तताभित्र पनि आकारलाई उपस्थित गराउनु अनि चारैतिर कलात्मक परम्परागत लहरा–पहराले घेर्दै अगाडि बढ्नुले पनि उनको कलाहरू एक तमासको देखिन्छ । जहाँ शौन्दर्यता पनि अनुभूत हुन्छ ।

अनि अपनत्व आफ्नै मौलिक विम्वहरू पनि देखिन्छ । यसो हुँदा पनि यी कलाहरूमा यथेष्ट लालित्यले भरेको देखिन्छ । देवी–देवताका रूपलाई हाम्रै आफ्नै परम्परागत मोटिफले सजिँदा आम भावकमा पनि भक्ति भाव जागृत भएको अनुभव हुन्छ । एउटै कुरामा धेरै कुराको अनुभव रहनु, पाउनु पनि उनको कलाको खास विशेषता देखिन्छ ।  

उनी भन्छन्– आध्यात्मिकता, धर्म वा पवित्रता म अमूर्ततामा अनुभव गर्दिन । यो मलालाई एकै ठाँउमा गाँस्ने धागो हो । जो मेरा प्रत्येक कलाहरूमा समाहित भएर बसेका छन् । मेरा कलाहरू भावकलाई केही भन्न आएका पनि होइनन् । बरु भावकसँगको अन्र्तक्रियाको यसले चाह राख्छ । अनि एक आपसका संवादमा रुमलिन मन पराउँछन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप