जेसन होल्डरले कसरी वेस्ट इन्डिज टोलीलाई एकताबद्ध गर्दैछन् ?
नयाँ दिल्ली । जेसन होल्डर यस टी–२० विश्वकपमा आफ्नो खेलमार्फत नै जवाफ दिन चाहन्थे। ३००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै र १०० टी–२० अन्तर्राष्ट्रिय विकेट लिने एक्लो वेस्ट इन्डिज खेलाडी बन्दै उनले त्यो प्रमाणित पनि गरे। तर अब, उनी खेलबाहेक केही थप कुरा भन्न चाहन्छन्।
सन् २०१६ मा वेस्ट इन्डिजले टी–२० विश्वकप जित्दा टोलीमा रहेका दुई खेलाडीमध्ये होल्डर एक हुन्। त्यसयता वेस्ट इन्डिजले थुप्रै उतारचढाव भोगेको छ। त्यसैले यो प्रतियोगिता उनका लागि क्यारेबियन क्रिकेटको अवस्था र त्यसमा आफ्नो स्थानबारे सन्देश दिने अवसर पनि हो।
‘अन्तर्राष्ट्रिय क्रिकेटमा हामीलाई अल्पसङ्ख्यकका रूपमा हेरिन्छ र मानिसहरूले हामीलाई बेवास्ता गर्छन्। तर मलाई लाग्छ, क्षमता सधैँ माथि नै आउँछ,’ दक्षिण अफ्रिकाविरुद्धको खेलअघि अहमदाबादमा होल्डरले भने, ‘म हाम्रा खेलाडीहरूमा अझ बढी निरन्तरता देख्न चाहन्छु। जब हामी निरन्तर राम्रो खेल्छौँ, मानिसहरूको हेर्ने दृष्टिकोण आफैँ परिवर्तन हुनेछ।’

वेस्ट इन्डिजलाई पाकिस्तानजस्तै ‘अनपेक्षित’ टोली मानिन्छ। तर होल्डरको भनाइ यसभन्दा गहिरो छ। निकोलस पुरनजस्ता थुप्रै क्यारेबियन खेलाडीहरू फ्रेन्चाइज लिग खेल्न अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने गर्छन्। यसले गर्दा उनीहरूलाई स्वार्थी वा राष्ट्रप्रति वफादार नभएको आरोप लाग्ने गर्छ। होल्डर अब यी आरोपहरू सुन्न चाहँदैनन्।
‘मानिसहरूले बाहिरबाट जे देख्छन्, त्यसैका आधारमा धारणा बनाउँछन्। तर यदि तपाईंले खेलाडीहरूलाई नजिकबाट चिन्नुभयो भने, यहाँ धेरै इमानदार र लक्ष्यप्रति समर्पित खेलाडीहरू छन् भन्ने थाहा पाउनुहुनेछ,’ होल्डरले भने, ‘हाम्रा बारेमा मिडियामा आउने धेरै कुराहरू र अनुमानहरू बकवास हुन्। हामीले धेरै आलोचना खेप्नुपरेको छ।’
‘म जतिबेला फोन हेर्छु वा सामाजिक सञ्जालमा जान्छु, त्यहाँ आलोचना नै देख्छु। मलाई थाहा छ, धेरै मानिसहरूसँग चाहिनेभन्दा बढी फुर्सद छ र संसार यसरी नै चल्छ। तर यी कुराले मलाई फरक पार्दैन।’
होल्डर अब २०१६ को त्यो ‘ऐतिहासिक सफलता’ बाट अघि बढेर नयाँ कथा लेख्न चाहन्छन्। ‘म विगतमा अल्झिन चाहन्नँ। कहिलेकाहीँ पुरानै कुरा दोहोर्याउन खोज्दा हामीले अगाडि रहेका अवसरहरू गुमाउँछौँ,’ उनी भन्छन्, ‘म केवल आफ्नो अगाडि रहेको लक्ष्यमा ध्यान केन्द्रित गर्न चाहन्छु।’

यस विश्वकपमा वेस्ट इन्डिजसँग पुरानो इतिहास र ठुलो अपेक्षा जोडिएको छ। एक दशकअघि भारतमै विश्वकप जित्दाका कप्तान ड्यारेन सामी अहिले टोलीका प्रशिक्षक छन्। सन् २०१६ को फाइनल खेलिएको इडेन गार्डेनमै यसपालि वेस्ट इन्डिजले आफ्नो पहिलो खेल खेल्यो। होल्डर र जोन्सन चार्ल्स मात्र ती दुई खेलाडी हुन्, जो २०१६ को टोलीमा पनि थिए र अहिले पनि छन्। तर समानता यतिमै सीमित छ।
‘अहिलेको टोलीमा सबैभन्दा ठुलो फरक भनेको हाम्रो संवाद हो। हामी एकअर्कासँग खुलेर कुरा गर्न सक्छौँ,’ होल्डर भन्छन्, ‘कठिन संवादहरूपछि पनि हामीबिच कुनै मनमुटाव हुँदैन। हामी तथ्यमा आधारित रहेर छलफल गर्छौँ। टोलीका सबै जना एउटै दिशामा अघि बढिरहेका छन्, जुन निकै सकारात्मक कुरा हो। मैले पहिले खेलेका टोलीहरूभन्दा यो टोली निकै परिपक्व छ।’
सन् २०१६ को टोलीलाई होल्डर ‘अद्वितीय’ मान्छन्। ‘त्यसबेला हामीसँग ड्वेन ब्राभो, काइरन पोलार्ड र क्रिस गेलजस्ता अन्तर्राष्ट्रिय स्तरमा छुट्टै छाप छाडेका ठुला खेलाडीहरू थिए,’ उनले भने।
होल्डरले यी कुरा गरिरहँदा नयाँ पुस्ताका खेलाडीहरू अभ्यास गरिरहेका थिए। रोमारियो शेफर्डले भर्खरै अभ्यास सकेका थिए भने शेरफेन रदरफोर्ड लगातार छक्का प्रहार गरिरहेका थिए।
‘उनीहरूलाई जति सक्छन् त्यति खेल्न दिनुपर्छ। बललाई लगातार मैदानबाहिर पठाउँदा उनीहरूले राम्रो बानी विकास गरिरहेका छन्,’ होल्डरले भने, ‘पहिलेको भन्दा अहिले धेरै फरक छ, तर यी खेलाडीहरू निकै भोका र एकताबद्ध छन्। हामीले नयाँ यादहरू बनाइरहेका छौँ।’

उमेर मात्र होइन, जीवनको अनुभवले पनि होल्डरलाई परिवर्तन गरेको छ। ‘मेरो पछिल्लो चोटको समयमा मैले आफूलाई मूल्याङ्कन गरेँ। मलाई महसुस भयो कि म विषाक्त वातावरणमा बस्न चाहन्नँ, किनकि त्यसले मेरो मानसिक स्वास्थ्यमा असर गर्छ,’ उनले भने, ‘मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सफलता र जितको मानसिकता भएको स्वस्थ वातावरणमा बस्नु हो। मेरो सबैभन्दा ठुलो लक्ष्य त्यस्तै वातावरण निर्माण गर्नु हो, जहाँ सबैले सहज महसुस गरुन्। मलाई लाग्छ, मैले सबैलाई स्वागतयोग्य महसुस गराउन राम्रो गरिरहेको छु।’
पछिल्लो १८ महिनामा होल्डर टी–२० क्रिकेटमा पूर्ण रूपमा केन्द्रित भएका छन्। जुलाई र अगस्ट २०२४ मा चार टेस्ट र मार्च २०२५ मा दुई प्रथम श्रेणी म्याचबाहेक, उनले केवल टी–२० क्रिकेट मात्र खेलेका छन्। वेस्ट इन्डिजका लागि ३१ खेलसहित आईएलटी२०, पीएसएल, एमएलसी र सीपीएलजस्ता लिगहरूमा गरेर उनले कुल ९२ टी–२० खेल खेलेका छन्। यसले उनको खेललाई निकै निखारेको छ।
‘मैले पछिल्लो समय टी–२० क्रिकेट मात्र खेलेकाले मेरो खेलमा धेरै सुधार आएको छ,’ होल्डर भन्छन्, ‘टेस्ट क्रिकेट खेल्दा म आफ्नो खेलशैली धेरै परिवर्तन गर्न चाहन्नथेँ। तर अहिले टी–२० मा मात्र केन्द्रित भएकाले मैले विशेष सीपहरूमा काम गर्ने समय पाएको छु। समग्रमा म एक उत्कृष्ट टी–२० खेलाडी बनेको छु र राम्रो नतिजा पनि दिइरहेको छु।’
होल्डरले अहिले पूर्वतयारी र तथ्याङ्क विश्लेषणमा धेरै ध्यान दिन थालेका छन्, जसलाई उनले पहिले खासै वास्ता गर्दैनथे। ‘म पहिले तथ्याङ्कमा त्यति ध्यान दिन्नथेँ। तर अहिले मैले डेटा विश्लेषणलाई गहिरिएर हेर्न थालेको छु। यसले मलाई मेरो टी–२० खेललाई अझ निखार्न मद्दत गरेको छ। म आफ्नो प्रशिक्षण र सीप विकासमा निकै सूक्ष्म रूपमा काम गरिरहेको छु। म जुनसुकै परिस्थितिका लागि पनि तयार रहन चाहन्छु।’

यसको नतिजा उत्कृष्ट देखिएको छ। गत वर्ष उनी टी–२० फर्म्याटमा २१.४२ को औसतमा करिब १०० विकेट लिँदै उत्कृष्ट बलर बनेका थिए। उनले हरेक साढे दुई ओभरमा एक विकेट लिएका थिए।
यस प्रतियोगिताको पहिलो खेलमा स्कटल्यान्डका कप्तान रिची बेरिङटनलाई आउट गर्दै उनले टी–२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरे। ‘वेस्ट इन्डिजका लागि टी–२० मा १०० विकेट लिने पहिलो खेलाडी बन्नु र सबै फर्म्याटमा १०० विकेट पूरा गर्नु साँच्चै विशेष उपलब्धि हो,’ उनले भने, ‘तर म व्यक्तिगत तथ्याङ्कलाई धेरै महत्त्व दिन्नँ।’
यद्यपि, ३०० अन्तर्राष्ट्रिय खेल खेल्नु सामान्य उपलब्धि होइन। ‘यो साँच्चै अद्भुत अनुभूति हो। मैले वेस्ट इन्डिजका लागि यति धेरै खेल खेल्छु भनेर सायदै सोचेको थिएँ। मेरो करियर लामो र निरन्तर रहेको छ। सन् २०१३ मा पहिलो पटक छनोट भएदेखि म कहिल्यै टोलीबाट बाहिरिनुपरेको छैन,’ उनी भन्छन्, ‘म अझै पनि खेलको आनन्द लिइरहेको छु र राष्ट्रका लागि खेल्न तयार छु। मलाई प्राप्त अवसरहरूका लागि म मेरा आमाबुवा, परिवार, साथीहरू र मलाई सहयोग गर्ने सबैप्रति आभारी छु।’

होल्डरको कुरा सुन्दा उनी अझै लामो समय खेल्न चाहन्छन् भन्ने प्रस्ट हुन्छ। उनले टेस्ट क्रिकेटमा फर्कने इच्छा पनि व्यक्त गरेका छन्। ‘यदि त्यो सम्भव भएन भने, सायद २०२७ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना हुन सक्छ। मैले अहिलेसम्म सन्न्यासको सोच बनाएको छैन। म टोलीको योजनामा कसरी फिट हुन सक्छु भनेर हेरिरहेको छु।’
तर, उनले फेरि कप्तान बन्ने सम्भावनालाई भने नकारेका छन्। ‘अन्तर्राष्ट्रिय स्तरमा मेरो कप्तान बन्ने समय अब सकियो। तर म टोलीमा रहेर भविष्यका कप्तानलाई सहयोग गर्न भने सधैँ तयार छु।’
३४ वर्षको उमेरमा होल्डर आफूलाई ‘पदविहीन नेता’ का रूपमा हेर्छन्। २१ एकदिवसीय खेल मात्र खेलेको अनुभव हुँदा उनलाई वेस्ट इन्डिजको कप्तान बनाइएको थियो र २०१५ को एकदिवसीय विश्वकपमा टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो। त्यसबेला दिग्गज कमेन्टेटर टोनी कोजियरले होल्डरलाई ‘सफल नेतृत्वका लागि आवश्यक चरित्र भएको’ र टोलीलाई एकताबद्ध गर्न सक्ने खेलाडी भनेका थिए। त्यो भनाइ आज सत्य साबित भएको छ।
‘म सबैसँग घुलमिल हुन र टोलीमा सकारात्मक ऊर्जा ल्याउन चाहन्छु,’ होल्डर भन्छन्, ‘मेरो काम सबैलाई सही दिशामा अघि बढाउने, सबैको मुहारमा मुस्कान ल्याउने र खेलाडी, व्यवस्थापन तथा बोर्डबिचको सम्बन्धलाई बलियो बनाउने हो। मैले कप्तान र खेलाडी दुवैको दृष्टिकोणबाट भोगेको छु, त्यसैले मलाई थाहा छ कि उच्च तह र खेलाडीबिचको खाडल कसरी पुर्ने।’
- के त्यो खाडल साँघुरिँदै छ त ?
‘यो सुधारको क्रममा छ,’ होल्डर भन्छन्, ‘पछिल्ला केही वर्षहरूमा हामीले आर्थिक रूपमा धेरै सङ्घर्ष गरेका छौँ, जसले गर्दा समस्याहरू आए। तर अहिले अवस्था केही सामान्य बन्दै छ। साङ्गठनिक रूपमा अझै धेरै काम गर्न बाँकी छ। सायद मेरो खेल जीवन सकिएपछि पनि म यसमा केही योगदान दिन सक्छु होला।’
तर त्यसअघि उनी मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै वेस्ट इन्डिज क्रिकेटलाई आफूले सुरु गर्दाको भन्दा राम्रो अवस्थामा छोड्न चाहन्छन्। ‘व्यक्तिगत रूपमा मैले धेरै उपलब्धिहरू हासिल गरेको छु, जसमा मलाई गर्व छ। तर समग्र रूपमा टोली र क्यारेबियन क्षेत्रका लागि भने म अझै सन्तुष्ट छैन,’ उनी भन्छन्, ‘मलाई कुनै पछुतो छैन, तर म सधैँ अझ राम्रो गर्ने प्रयास गर्छु। अहिलेको टोली पहिलेको भन्दा धेरै एकताबद्ध छ। माथिल्लो तह र टोलीभित्रको सहयोगले हामी अझ धेरै गर्न सक्छौँ।’
‘अन्ततः सबैभन्दा महत्त्वपूर्ण कुरा जित्नु हो। मैले धेरै हार र सङ्घर्ष देखेको छु, त्यसैले मेरो करियरको उत्तरार्द्धमा त्यो दोहोरिएको हेर्न चाहन्नँ। म थप केही ट्रफीहरू जित्न चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026