आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

किराना पसलबाट लागुऔषध र साढे १२ लाख नगदसहित दुई जना पक्राउ

सोमबार, १८ फागुन २०८२, ०८ : १७
सोमबार, १८ फागुन २०८२

सारांश

  • प्रहरीले काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट स्रोत नखुलेको नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रवीन्द्र खत्री र सन्तोष खत्री रहेका छन्, उनीहरूको साथबाट १२ लाख ४७ हजार नगद बरामद भयो।
  • प्रहरीले ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा, स्कुटर र मोबाइल फोन समेत बरामद गरी थप अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-९ मा रहेको शिवानि स्टोरमा छापा मारेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन्। प्रहरीले उनीहरूको शरीर र पसलको खानतलासी गर्दा स्रोत नखुलेको १२ लाख ४७ हजार रुपैयाँ नगद फेला पारेको छ। बरामद रकममा एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट रहेका छन्।

नगदका साथै प्रहरीले उनीहरूको साथबाट ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा समेत बरामद गरेको छ। साथै, कारोबारमा प्रयोग भएको आशंका गरिएको बा ८८ प १३२१ नम्बरको स्कुटर र तीन थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध र अवैध रकमका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप