निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाउन आयोगको आग्रह
सारांश
- राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी अनुगमन टोली खटाएको छ।
- आयोगले मतदातालाई उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन र आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।
- निर्वाचनलाई शान्तिपूर्ण बनाउन र आवश्यक सेवा सुचारु राख्न आयोगले सरकार र सरोकारवालालाई आग्रह गरेको छ।
काठमाडौँ । बिहीबार हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मानवअधिकार आयोगले देशभर अनुगमन टोली खटाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै आयोगले सम्पूर्ण मतदातालाई उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अपिल समेत गरेको छ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौं उपत्यका तथा अन्य केही जिल्लाहरूमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्व पदाधिकारीहरू सम्मिलित उच्चस्तरीय टोली परिचालन गरिएको छ ।
यसअघि पनि आयोगले विभिन्न जिल्लाहरूमा निर्वाचनपूर्वको अवस्था अनुगमन गरी प्राप्त तथ्यका आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा सरोकारवालाहरूलाई ध्यानाकर्षण गराइसकेको जनाएको छ।
निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर मानव अधिकारको महत्त्वपूर्ण सवाल पनि भएको उल्लेख गर्दै आयोगले सम्पूर्ण मतदातालाई आफ्नो मताधिकारको निर्धक्क प्रयोग गर्न अनुरोध गरेको छ। मौन अवधि सुरु भइसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियालाई सघाउन आयोगले सम्पूर्ण राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको छ।
त्यसैगरी, निर्वाचनलाई शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन सरकारले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्नेमा आयोगले जोड दिएको छ।
शान्ति सुरक्षा कायम गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै मौन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र सम्भावित घटना रोक्न आयोगले नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। यस कार्यमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चारकर्मी सबैको सकारात्मक भूमिका आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
मतदानको दिन स्वास्थ्य सेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति जस्ता अत्यावश्यक सेवाहरूमा कुनै पनि अवरोध आउन नदिन आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
साथै,अशक्त मतदाताहरूका लागि सवारी साधन र हवाई उडान जस्ता सेवाहरू सुचारु रूपले सञ्चालन गर्न भनिएको छ। आगामी फागुन २१ गतेको निर्वाचन धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुनेमा आयोगले विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण