शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उपेन्द्र महतोको निवासमा तोडफोड, आगजनी गर्ने सात जना पुर्पक्षका लागि थुनामा

मङ्गलबार, १९ फागुन २०८२, १९ : २४
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • काठमाडौँ जिल्ला अदालतले उपेन्द्र महतोको घर तोडफोड र डकैती अभियोगमा सात जनालाई थुनामा पठाएको छ।
  • अभियुक्तहरूले महतोको घरमा आगजनी र भौतिक संरचनामा क्षति पुर्‍याएका थिए, जसले गर्दा १ अर्ब ६४ करोडको क्षति भएको छ।
  • प्रहरीले केही सामान बरामद गरेको छ र अभियुक्तहरूले घटनामा संलग्नता स्वीकारेका छन्।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष तथा उद्यमी डा. उपेन्द्र महतोको नक्सालस्थित निवासमा तोडफोड, आगजनी र डकैती गरेको अभियोग लागेका सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले थुनछेक बहसपछि अभियुक्तहरूलाई कारागार पठाउने आदेश जारी गरेको हो । अदालतले प्राप्त प्रमाण र तथ्यहरूका आधारमा अभियुक्तहरूलाई तत्काल धरौटीमा छाड्न नमिल्ने ठहर गर्दै मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको हो ।

अदालतको आदेश अनुसार थुनामा जानेहरूमा झापाका आमिर पोखरेल, काभ्रेका सुदिप तामाङ, ओखलढुङ्गाका सुशील ढुङ्गाना, काठमाडौँका श्रीकृष्ण महर्जन, काठमाडौँकै नरेन्द्र महर्जन, सिन्धुपाल्चोकका अभिषेक बस्नेत र दोलखाका मिलन तामाङ रहेका छन् । उनीहरूविरुद्ध सरकारी वकिलको कार्यालयले ’आपराधिक उपद्रव’ र ’डाँका’ सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

गत २०८२ भदौ २४ गते 'जेनजी’ समूहको प्रदर्शनका क्रममा महतोको घरमा प्रवेश गरी प्रदर्शनकारीले क्षति पुर्‍याएका थिए । अभियोगपत्र अनुसार प्रदर्शनकारीले डा.महतोको घरमा पार्किङ गरिएका टोयोटा ल्यान्ड क्रुजर प्राडो र किया कम्पनीका गाडीहरूमा आगजनी गर्नुका साथै घरका भौतिक संरचना ध्वस्त पारेका थिए । महतोले आफ्नो घरबाट बहुमूल्य गरगहना, नगद, बाघमा सवार भएको दुर्गा माताको मूर्ति र  'BOLAND Super' लेखिएको घडी लगायतका सामग्री चोरी भएको भन्दै १ अर्ब ६४ करोड २४ लाख ५३ हजार ८१६ रुपैयाँ बराबरको क्षतिपूर्ति (बिगो) दाबी गरेका थिए ।

प्रहरीले अभियुक्त अभिषेक बस्नेतको कोठाबाट लुटिएको मूर्ति र घडी बरामद गरेको थियो । साथै, घटनास्थलको सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा अभियुक्तहरूको संलग्नता प्रष्ट देखिएको दाबी सरकारी पक्षले गरेको थियो । प्रतिवादीहरूले पनि बयानका क्रममा आफूहरू घटनास्थलमा पुगेको र तोडफोड भएको देखेको स्वीकार गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप