मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अब मतगणनाको प्रतीक्षा, कहाँ कति मत खस्यो ? [LIVE UPDATES]
LIVE UPDATES

LIVE UPDATES : अब मतगणनाको प्रतीक्षा, कहाँ कति मत खस्यो ? [LIVE UPDATES]

बिहीबार, २१ फागुन २०८२, २१ : ३०
Live

सारांश

  • बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
  • निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
  • मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।

काठमाडौँ । २७५ जना प्रतिनिधि सभा सदस्य छान्नका लागि देशभर बिहीबार मतदान भएको छ । निर्वाचन आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ । अब मतपेटिका संकलन भएसँगै तोकिएको स्थानमा निर्वाचन क्षेत्रहरूको मतगणना सुरु हुनेछ । 

गण्डकीमा ६० प्रतिशत भन्दा कम मतदान, कहाँ–कहाँ हुँदैछ गणनाको तयारी ?

पोखरा । गण्डकी प्रदेशमा करिब ६० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालका अनुसार ६० प्रतिशत हाराहारी मतदान भएको हो । सबैभन्दा बढी कास्कीमा ६१.३४ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मनाङमा ४१ प्रतिशत खसेको उनले जानकारी दिए । 

यस्तै नवलपुरमा ६१ प्रतिशत, मुस्ताङमा ५६.४७ प्रतिशत, लमजुङमा ५६.७६ प्रतिशत, स्याङजा र म्याग्दीमा ५४ प्रतिशत, पर्वतमा ५३.१८ प्रतिशत, तनहुँमा ५१.७४ प्रतिशत, बागलुङमा ५१ प्रतिशत र गोरखामा ५० प्रतिशत मत खसेको हो। 

१८ क्षेत्रमध्ये केही क्षेत्रमा आजै मतगणनाको तयारी छ । कास्कीका तीन वटै क्षेत्र, स्याङ्जा १ मा मतपेटिका सङ्कलन भइसकेको छ । यी क्षेत्रमा तुरुन्तै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने ढकालले जानकारी दिए । मुस्ताङमा पनि आजैबाट गणना गर्ने गरी बैठकमा प्रस्तुत हुने निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवालीले बताए । 

कुलमान उम्मेदवार रहेको काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ ।

बिहीबार मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकपछि १०ः३५ बाट मतगणना अघि बढाएको हो ।

काठमाडौँ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको छ । काठमाडौँ–३ को मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु गरिएको उनको भनाई छ ।

नवलपरासीमा ६४.५१ प्रतिशत मतदान

नवलपरासी । नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ।

निर्वाचनमा जिल्लाभरका मतदान केन्द्रमा मतदाताहरूको उत्साहपूर्वक सहभागीताले ६४.५१ प्रतिशत मतदान भएको नवलपरासीका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिए।

पश्चिम नवलपरासीमा चार जना अन्यसहित कुल २ लाख ५४ हजार १५७ मतदाता छन् । मतदान सम्पन्न भएसँगै अहिले मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मतगणना स्थलमा लैजाने काम भइरहेको जनाइएको छ।

इरानको नयाँ सर्वोच्च नेता चयनमा आफ्नो संलग्नता हुनुपर्ने ट्रम्पको जिकिर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आगामी सर्वोच्च नेता चयन प्रक्रियामा आफ्नो व्यक्तिगत संलग्नता हुनुपर्ने धारणा व्यक्त गरेका छन्। इरानी सर्वोच्च नेता अली खामेनीको मृत्युपश्चात् रिक्त रहेको स्थानमा नयाँ नेतृत्व चयन गर्ने विषयलाई लिएर ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। 

अनलाइन न्युज पोर्टल एक्सियोससँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाको सहमति बिना इरानले नयाँ उत्तराधिकारी नियुक्त गर्न खोज्नु समयको बर्बादी मात्र हुने चेतावनी दिएका छन्।

इरानमा अली खामेनीका छोरा मुजतबा खामेनीलाई भावी सर्वोच्च नेताको बलियो दाबेदारका रूपमा हेरिए पनि ट्रम्पले उनलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन्। मुजतबालाई लाइटवेट नेताको संज्ञा दिँदै ट्रम्पले आफू चयन प्रक्रियामा सहभागी हुनुपर्ने अडान राखेका छन्। 

यूएईमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौँ । आबुधाबीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्समा विकसित जटिल परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।

दूतावासले बिहीबार एक सूचना जारी गर्दै यूएई सरकारले जारी गरेको सुरक्षा निर्देशिका कडाइका साथ पालना गर्न, अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो।

सुरक्षा साइरन बजेको समयमा फोटो वा भिडियो नखिच्न तथा घटनास्थल सम्बन्धी कुनै पनि तस्बिर सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि दूतावासले आग्रह गरेको छ।

भक्तपुर–२ मा राति ११ बजेदेखि मतगणना हुने

काठमाडौँ । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर- २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । भक्तपुर निर्वाचन क्षेत्र–२ निर्वाचन अधिकृतको कार्यालयले राति ११ बजेदेखि मतगणना हुने जनाएको हो ।

प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने तयारी गरेको छ । भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

 

ललितपुर– १ : सर्वदलीय बैठक बस्दै, राति साढे ११ बजेदेखि मतगणना

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा सर्वदलीय बैठकको तयारी सुरु भएको छ। 

ठूलादुर्लुङ, आस्राङ, गिम्दि लगायत क्षेत्रबाट मतपेटिका आएकोले सर्वदलीय बैठक बस्ने तयारीमा निर्वाचन कार्यालय लागेको छ । सर्वदलीय बैठक सम्पन्नपछि  राति साढे ११ बजेदखि गोदावारी नगरपालिकामा मतगणना हुनेछ। 

बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएको थियो । यहाँ नेपाली कांग्रेसबाट उदय शंशेर जबरा,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट सुनिल महर्जन,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बुद्ध रत्न महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट सजिना कार्की उम्मेदवार छन्। 

बाँकेमा कैदीबन्दीले गरे मतदान

बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा रहेका दुई कारागारका कैदीबन्दीले आज शतप्रतिशत मतदान गरेका छन् । नेपालगञ्ज कारागारबाट १५७ जना र नौबस्ता कारागारबाट ४६ जना कैदीबन्दीले शतप्रतिशत मतदान गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताए ।

नेपालगञ्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा पनि अस्थायी मतदान केन्द्र राखिएको थियो । पशु सेवा कार्यालय परिसरमा निजामति कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकमा मतदान गरेका छन् ।

बाँकेमा ६३ प्रतिशत मतदान

कर्णालीमा निर्वाचनप्रति देखिएन उत्साह, ६० प्रतिशतले पनि गरेनन् मतदान

सुर्खेत । विगतको जस्तो कर्णाली प्रदेशमा यो पटक निर्वाचनमा सहभागीता उत्साहजनक देखिएन् ।

अन्त त त्यस्तै हो, प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न मतदानस्थलहरूको अनुगमनका क्रममा हामीले निर्वाचनमा आम समुदायको उत्साहजनक सहभागीता नरहेको पायौँ । रातोपाटीकर्मी मतदान सुरु हुनै लाग्दा बिहान ७ बजे नै राजधानी वीरेन्द्रनगर–४ भैरवस्थान स्थित भैरव मावि मतदान स्थल पुग्दा विगतको जस्तो मान्छेको उपस्थिति बलियो थिएन । एमाले सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गर्ने स्थल समेत भएकाले यो मतदान स्थल सबैको चासोको केन्द्रविन्दुमा हुन्थ्यो । 

तथापि न त्यहाँ राजनीतिक दलका कार्यकर्ताहरूको नै बलियो उपस्थिति थियो न त मतदातामा नै उत्साह। अझ भनौं, युवा मतदाताको सहभागीता निकै कम देखिन्यो । त्यसपछि वीरेन्द्रनगरका अन्य मतदान स्थलमा पुग्दा मतदाताहरूमा खासै निर्वाचनप्रति उत्साह थिएन् । 

डडेल्धुरामा शान्तिपूर्ण मतदान, ४५ हजार ९०९ मत खस्यो

डडेल्धुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जिल्लाभरि ४९.०८ प्रतिशत मत खसेकोे छ । जसमा २५ हजार ३ सय १३ र पुरुष २० हजार ५ सय ९६ गरी जम्मा ४५ हजार ९ सय ९ मत खसेको कोइरालाले बताए ।

मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र कतै पनि ठूलो अवरोध नभएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए । मतपेटीका सङ्कलन भइरहेको उनको भनाइ छ ।

जिल्लाभरिका मतदान केन्द्रबाट मतपेटिका शुक्रबारसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि मतगणना सुरु गरिने तयारी गरिएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको र मतगणनास्थल पनि तयार अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।

सुदूरपश्चिममा मतपेटिका संकलन गरिँदै

कैलाली । सुदूरपश्चिममा मतपेटिका संकलनको काम भइरहेको छ।

प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका २ हजार १ सय ४७ मतदान स्थलका २ हजार १९९ मतदान केन्द्रबाट खसेको मत अहिले संकलनको काम भइरहेको छ।

मत पेटिकालाई मतगणना स्थलमा पुर्याउने काम जारी छ। सुदृढीकरण प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टकम अनुसार अहिले मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेको छ।

मुगुमा ६१.३८ प्रतिशत मत खस्यो

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन कार्यालयका अनुसार मतदान गर्ने अन्तिम समय बेलुका ५ः०० बजेसम्म जिल्लाभर कुल २२ हजार ११५ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये ११ हजार ५८४ महिला र १० हजार ३३१ पुरुषको रहेको छ । जिल्लामा कुल ६१ दशमलव ३८ प्रतिशत मत खसेको पनि सूचना अधिकारी खनियाँले जानकारी दिए ।

जिल्लाभरि ३६ हजार ३१ मतदाता भए पनि प्रत्यक्षतर्फमा १३ हजार ९१६ मतदाता मतदान गर्न आएनन् । जिल्लाभर कायम गरिएका मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उल्लेख्य उपस्थितिसहित मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतदानका लागि एउटा अस्थायी मतदान केन्द्रसहित ७० मतदान केन्द्र र ६७ मतदानस्थल कायम गरिएको थियो ।

काठमाडौँ– १ मा सर्वदलीय बैठक सकियो, १० बजेदेखि मतगणना

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठक सकिएसँगै आजै राति १० बजेदेखि  मतगणना सुरु हुनेछ । 

दुई–दुई घण्टामा मतपरिणाम अपडेट दिइने मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए । 

रातभर मतगणना हुनेछ भने शुक्रबार बिहानसम्म नतिजा आउने अपेक्षा गरिएको छ । 

धमाधम सङ्कलन गरिँदैछन् मतपेटिका, तस्बिरहरू

काठमाडौँ ।  छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । 

matpetika (1)

आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगनको घोषणा भएको छैन । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद भए पनि समाधान भएको थियो । मतदान सम्पन्न भएसँगै देशभरबाट मतपेटिका संकलन कार्य धमाधम भइरहेका छन् ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्नपछि ओलीले दिए सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ । नेकपा एमलेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको भन्दै सरकार र निवर्जाचन आयोगलाई धन्यवाद दिएका छन् । 

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भने,‘देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद।’

निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि ओलीले धन्यवाद दिए । 

सर्लाहीमा करिब ६० प्रतिशत मतदान

जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्लामा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

प्रारम्भिक विवरणअनुसार जिल्लामा करिब ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेले बताए ।

जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गरी करिब ५ लाख ११ हजार ६०६ जना मतदातामध्ये आधाभन्दा केही बढी मतदाताले मतदान गरेका छन्।

बाँकेमा ६३ प्रतिशत मतदान

नेपालगन्ज । बाँके जिल्लामा  ६३.४६ प्रतिशत मतदान भएको छ । कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेको सो जिल्लामा २ लाख २२ हजार ३ सय ६६ मत खसेको हो।

जिल्ला  निर्वाचन कार्यालय बाँकेले ६३  दशमलव ४६ प्रतिशत मत खसेको जनाएको छ।

क्षेत्र नम्बर १ मा ७५ हजार १९९, क्षेत्र नम्बर २ मा ७२ हजार ६०९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ मत खसेको जिल्ला निर्वाचन अधिकृत टेकबहादुर शाहीले जानकारी दिए । अहिले मतपेटिका संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।

दाङमा ५८.३३ प्रतिशत मतदान

बुटवल । दाङमा ५८.३३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका कुल ४ लाख ३१ हजार ६ सय ८६ मतदातामध्ये २ लाख ५१ हजार ८ सय १९ जनाले मतदान गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४० हजार १ मतदाता रहेकामा ८० हजार ९ सय २० मत खसेको छ । उक्त क्षेत्रमा ५७.८० प्रतिशत मतदान भएको हो। 

यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९ सय ६५ मतदातामध्ये ८२ हजार ६ सय २६ जनाले मतदान गरेका छन् । जुन ५८.६१ प्रतिशत हो । 

भक्तपुरमा आजैदेखि मतगणना गरिने

भक्तपुर । भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका हुन् ।

जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उनले सर्वपक्षीय बैठक बसी मतगणना सुरू गरिने बताए । मतगणना हुने दुवै स्थानमा तारजाली, सिसी क्यामेरासहितको सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ । दुवै मतगणनास्थलमा एकैपटक चार÷चार पकेटमा मतगणना गर्नेगरी तयारी गरिएको छ ।

भक्तपुरका दुई निर्वाचन क्षेत्रका ७६ मतदानस्थलका २३३ मतदान केन्द्रमा कूल ७१ द्यशमलव ४६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन बिथोल्न खोज्ने २४ जना पक्राउ

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशबाट निर्वाचन सुरक्षामा खलल पुर्‍याउन खोज्नेहरूलाई पक्राउ गरिएको हो। 

यसरी पक्राउ पर्नेहरूमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७ जना रहेका छन् भने मधेश र सुदूरपश्चिमबाट ४–४ जना, कोशी र गण्डकीबाट ३–३ जना तथा काठमाडौँ उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशबाट १–१ जना रहेका छन्। निर्वाचनलाई भयरहित बनाउन र सुरक्षा चुनौतीको सामना गर्न प्रहरीले मतदानका दिन कडा निगरानी बढाएको थियो।

सुरक्षा व्यवस्थालाई थप कडा बनाउने क्रममा प्रहरीले अनुमति बिना चलाइएका २ हजार ५ सय ९७ वटा सवारी साधनहरूलाई पनि होल्ड गरेको छ। जसमा २ हजार ३ सय ५१ वटा दुई पाङ्ग्रे र २४६ वटा चार पाङ्ग्रे सवारी साधन रहेका छन्। 

कञ्चनपुरमा ५८ प्रतिशत मतदान

महेन्द्रनगर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५८.६४ प्रतिशत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख हरिशचन्द्र जोशीले प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा एक लाख ८४ हजार ३१६ मत खसेको उहाँले जानकारी दिए । ‘मतपेटिका सङ्कलन सकिएपछि आजै गणना सुरु गर्ने तयारी छ,’ उनले भने, ‘एक सय ३२ मतदानस्थलबाट मतपेटिका सङ्कलन हुँदैछ ।’

कर्णालीमा ५५ प्रतिशत मत खस्यो

सुर्खेत । कर्णालीमा ५५‍.१ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार, १० लाख ४८ हजार १३८ मतदातामध्ये ५ लाख ७७ हजार ५४२ जनाले मात्रै मत हालेका हुन् ।

मतदानमा सहभागी महिलाको संख्या ३ लाख १२ हजार ८४५ र पुरुष मतदाताको संख्या २ लाख ६४ हजार ६९५ रहेको छ ।

निर्वाचन क्षेत्रगत रुपमा हेर्दा सुर्खेत–१ मा १ लाख २२ हजार ९०२ मतदाता संख्या रहेकोमा ५७‍.०९ प्रतिशत अर्थात् ७० हजार १६७ मत खसेको छ ।

नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं

काठमाडौँ । नेपालमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साँझ मिडियाको प्रश्नको जवाफ दिँदै नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा खुसी व्यक्त गरेका हुन्। 

गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र निर्वाचनमा संलग्न सबै सरोकारवाला पक्षलाई बधाई दिएको छ।

प्रवक्ता जयसवालले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि भारत सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा यस निर्वाचनका लागि आवश्यक रणनीतिक तथा भौतिक सामग्रीहरू उपलब्ध गराएको समेत जानकारी दिएका छन्।

धनुषामा ६० प्रतिशत मतदाताले गरे मतदान

धनुषा । धनुषामा ६० प्रतिशत मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरले जानकारी दिएका छन् । सबै चार निर्वाचन क्षेत्रका ६४५ मतदान केन्द्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता थिए ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । नेपाली सेनाद्वारा निर्वाचन अधिकृतहरूको कार्यालयमा मतपेटिका ढुवानी भइरहेको जनाइएको छ ।

सर्वदलीय सहमति गरी आजैदेखि मतगणना सुरु गर्ने तयारी भएको छ ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्नपछि अर्थमन्त्रीले दिए निर्वाचन आयोग र सुरक्षा निकायलाई धन्यवाद

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधि सभा निर्वाचन शान्तीपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोग र सुरक्षा निकायलाई धन्यवाद दिएका छन्। 

बिहीबार निर्वाचन सम्पन्न भएसँगै आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्वाचन आयोग र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक कृतज्ञता प्रकट गरेका हुन्।

खनालले यस पटकको निर्वाचनमा विगतका तुलनामा पुनः मतदान गराउनुपर्ने स्थिति एकदमै न्यून रहेको औंल्याएका छन्। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनुले लोकतान्त्रिक प्रक्रियालाई थप बलियो बनाएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया