देशको उज्ज्वल भविष्यका लागि मेरो पहिलो मतदान
सारांश
- लेखकले पहिलो पटक मतदान गरेको अनुभव र लोकतन्त्रको महत्वबारे चर्चा गरेका छन्।
- भोट हाल्नुको महत्व र देशको भविष्य निर्माणमा नागरिकको भूमिकाबारे प्रकाश पारिएको छ।
- युवा पुस्ताको राजनीतिक दलहरूप्रति वितृष्णा र जेनजी आन्दोलनको प्रभावबारे बताइएको छ।
फागुन २१ गते म निकै उत्सुक थिएँ । किनकि जीवनमा पहिलो पटक म भोट हाल्दै थिएँ । एक प्रकारको खुसीयाली छाएको महसुस भइरहेको थियो । घरबाट आफन्तहरूसँगै भोट हाल्न ललितपुर क्षेत्र नम्बर १ को सरस्वती माध्यमिक विद्यालय पुगें । करिब १२ बजे लाइनमा बसेको दुई घण्टापछि मेरो पालो आयो । मनमा थोरै डर थियो, हातहरू कामिरहेका थिए । सुरुमा चुनाव चिन्ह राम्रोसँग हेरें । छाप लगाइसकेपछि मेरो मत रद्द नहोस् भनेर राम्रोसँग पट्याएर ब्यालेट बक्समा खसाएँ । त्यो क्षण मेरा लागि अविस्मरणीय थियो ।
मतदान केन्द्रबाट निस्किँदा ठ्याक्कै २ बजेको थियो । त्यहाँ रहेका सबै मतदातासँग सार्वभौम मताधिकार थियो, लोकतन्त्रको सुन्दर पक्ष भनेको यही रहेछ भन्ने आभास भयो । कतिपय युवा साथीहरु भन्छन्- भोट हालेर के हुन्छ ? म एक जनाले नहाल्दा के नै फरक पर्छ र ? तर त्यसो होइन । हामीले राजनीति बुझ्न जरुरी छ । भोट भनेको एउटा भोट मात्र नभएर देशको भविष्यसँग जोडिएको विषय हो । देश कस्तो नेतृत्वको हातमा पर्छ, त्यो नेतृत्वले देशलाई कसरी अघि बढाउँछ ? जनताको उज्ज्वल भविष्य निर्धारण गर्ने कुरामा हरेक नागरिकको एउटा भोटको महत्व जोडिएको हुन्छ ।
मतदान गर्नु आफ्नो अधिकार भएपनि निकै नै महत्त्वपूर्ण विषय हो । मेरो एउटा भोट, भोट मात्र नभएर नेपालको उज्ज्वल भविष्य सुनिश्चित गर्ने स्वर्ण अवसर थियो । जुनसुकै परिस्थितिमा पनि देशलाई राम्रो निकास दिन सक्ने राम्रो प्रतिनिधिलाई मतदान गर्न जरुरी थियो ।
गत भदौ २३ र २४ गतेको जेनजीहरूको प्रदर्शन हुनुभन्दा अघि मलाई भोट हाल्नु नहाल्नु उस्तै हो जस्तो लाग्थ्यो । राज्य सञ्चालन प्रणालीप्रति एक प्रकारको निराशा थियो । आफ्नो भोट हाल्ने उमेर नपुग्दा पनि आफूभन्दा अग्रजहरूको कुरा सुन्दा कसैले म त भोट हाल्दिनँ भन्ने जस्ता कुरा सामाजिक सञ्जाल र मुखैबाट सुनिन्थे । विस्तारै राजनीति बुझ्दै गएपछि राज्य, राजनीतिक पार्टी, सरकारको कामप्रतिको असन्तुष्टिका कारण झनै दिक्क लाग्न थालेको थियो । दल र उनीहरुका प्रतिनिधिहरूका अराजनीतिक व्यवहार, बढ्दो भ्रष्टाचारले निराश बनाएको थियो । जसले गर्दा मताधिकार प्रयोगप्रति नै म उदास थिएँ ।
मलाई जस्तै मेरो पुस्तामा राजनीतिक दलहरूप्रति वितृष्णा थियो । जनता राजनीतिक दलहरूसँग खुसी छैनन् भने ‘राइट टु नो भोट’ पनि हुनसक्छ भन्ने लाग्थ्यो ।
मैले मेरो मत कसलाई र किन दिने भन्ने मेरो आफ्नो अधिकार हो भन्ने बुझें । मलाई थाहा छ, देशमा जनताले चाहेको जस्तो परिवर्तन आउन समय लाग्छ, तर असम्भव पनि छैन । अब नेता र जनता दुवै सुध्रिन जरुरी छ ।
जनताको असन्तुष्टि र निराशा भोटिङ मार्फत प्रकट गर्न सकिन्छ जस्तो लाग्थ्यो । सायद राज्यले हरेक नागरिकलाई रोजगारी शिक्षा स्वास्थ्य आदि सामान्य आधारभूत कुरा सहजै सुनिश्चित गर्न सक्ने वातावरण बनाएको भए मसहित मेरो उमेर समूहका धेरै युवाले यस्तो सोच्दैन थिए ।
भदौ २३ र २४ को भ्रष्टाचार र सुशासन कायम गर्ने नाराका साथ जेनजी प्रदर्शन भयो । खासगरी सामाजिक सञ्जाल प्रतिबन्ध गरेको विरोधमा मेरो पुस्ताले गरेको आन्दोलनले जसरी सरकार ढल्यो, त्यो कल्पना बाहिरको घटना थियो ।
मलाई आज पनि याद छ, भदौ २३ गते सामाजिक सञ्जालमा दुई-तीन दिनअघिदेखि नै भ्रष्टाचारका थुप्रै पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेका थिए । ती पोस्टहरूले पनि भदौ २३ को आन्दोलनका लागि ऊर्जा थप्दै ठुलो तरङ्ग थपिरहेका थिए । म आफैं पनि भदौ २३ मा के होला भन्ने बारेमा धेरै उत्सुक थिएँ । त्यो भन्दा अगाडि आन्दोलनमा जानुपर्छ भन्ने उत्सुकता कहिल्यै थिएन ।
भदौ २३ गते मेरो बीएस्सीको परीक्षा थियो । घरबाट निस्किनुअघि जुत्ताको तुना कस्दै गर्दा परीक्षा सकाएर कोटेश्वर क्याम्पसबाट माइतीघरतिर जान्छु भन्ने मनसाय बनाएर म निस्केकी थिएँ । परीक्षा हलभित्र छिर्नुअघि उत्सुकतापूर्वक साथीहरुलाई प्रश्न गरें- ‘तिमी के आज प्रोटेस्टमा जान्छौ ?’ धेरैले सहभागिता जनाउने जवाफ दिए ।
परीक्षा हलभित्र पसें । १२ बजे परीक्षा सुरू भयो । परीक्षा चलिरहँदा करिब दुई बजेतिर एक जना सरले आन्दोलनमा गोली एकजनाको मृत्यु भएको खबर सुनाए । मनमा चिसो पस्यो । हतार—हतार परीक्षा सक्काएर बाहिर निस्कें । भाइलाई फोन गरें । मैले भाइलाई पनि आन्दोलनमा जानुपर्छ । म पनि आउँछु भनेको थिएँ । सायद त्यो दिन म मात्र नभएर धेरै अभिभावकले शान्तिपूर्ण प्रदर्शन हुन्छ भन्ने सोच्नुभएको थियो ।
कोटेश्वरको सडकमा मान्छेको हुल देखियो । एउटा ठुलो अराजक हुल जस्तै देखिन्थ्यो त्यो भिड । सडकमा गाडी गुड्दै थिए । केही समूहले सडकमा राखिएका डिभाइडरमा लात्ताले हान्दै थिए । अचानक त्यो परिवेश देख्दा मन आत्तिन थाल्यो । हतार-हतारले मैले भाइलाई फोन गरें । भाइको फोन लागेन । म झनै आत्तिएँ ।
पछि फोन लाग्यो । म ढुक्क भएँ । भाइ संसद् भवन अगाडि नै रहेछ । मैले भाइलाई त्यहाँबाट निस्किन भनें । सडकदेखि हरेक गल्लीहरू अस्तव्यस्त देखिन्थे । सडकमा रगतले लत्पतिएको देखिन्थ्यो । मैले भाइलाई घरसँगै जान आग्रह गरें । तर भाइलाई त्यहाँबाट निस्किन साह्रै गाह्रो भएको सुनायो । साँझ अबेरमा म घर आइपुगें ।
सामाजिक सञ्जालहरूमा जेनजी प्रदर्शनकै फोटो, भिडियोले रङ्गिएका थिए । मलाई खाना खानै मन लागेन । सामाजिक सञ्जाल हेर्नै नसकिने थियो । एकै दिन १९ जनाको मृत्युले धेरैलाई झस्काएको थियो । निद्रा नै लागेन । अब सरकारले के गर्छ ? सबैलाई चासो थियो ।
सरकार ढल्छ कि, प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि भन्ने जस्ता प्रश्न मनमा आइरहेका थिए । जब प्रधानमन्त्रीले देशमा केही भएकै छैन जस्तो गरेर प्रतिक्रिया दिन थाले, तब नमज्जा लाग्यो । राज्यलाई हामीले अभिभावक सोचेका थियौँ । जनता सडकमा गोली ढलेका थिए । विद्यार्थीहरु पोसाकमै मारिएका थिए । तर एउटा प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिले जुन अभिव्यक्ति दिनुभयो, त्यो कल्पना बाहिरको कुरा थियो । त्यो अभिव्यक्ति सुनेर यो सरकारले जनताको आवाजलाई दबाउँछ जस्तो लाग्यो ।
भदौ २३ गतेको अकल्पनीय घटनाको फलस्वरूप भदौ २४ गतेको विध्वंसात्मक घटना भयो । आफ्नै राज्यसँग जनता लड्दै थिए । त्यसपछिका दिनहरूमा रगतमाथि राजनीति भइरहेको थियो । देशमा उत्पन्न संकटको निकास के हो भन्ने कसैलाई थाहा थिएन । अन्तिममा अन्तरिम सरकार गठन र देश निर्वाचनमा जाने कुरा सुनिश्चित भएपछि अब राजनीतिक दलहरू र सत्तामा बसेका सबैको रूप छताछुल्ल हुन थाले । केही नबुझ्ने स्वतन्त्र नागरिकले पनि राजनीतिमा झन् चासो दिन थाले । त्यस दिनदेखि मलाई लाग्यो- ‘हामीले हाम्रो अधिकार प्रयोग गर्नुपर्छ अर्थात् मतदान गर्नुपर्छ ।‘
राजनीति सोझासाझा मानिसहरूका लागि होइन, सधैँ खराब अवसरवादी व्यक्तिहरूले मात्रै राजनीति गर्छन् भन्ने भाष्य सिर्जना कसले गर्यो ? किन गर्यो ? देशमा यी सबै भइराख्दा हाम्रो राज्यको प्रणाली बुझ्न जरुरी छ भन्ने लाग्यो । राजनीति गर्नु भनेको सत्ता र पैसाको आडमा बस्नु होइन । राजनीति खराब होइन, खराब त नेतृत्व हो । राजनीतिसँग भाग्ने होइन, जुध्ने हो भन्ने कुरामा म दृढ भएँ ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको जनता आफैंले आफ्नो नेतृत्व चुन्ने मौका पाउनु हो । र, त्यो निर्वाचनका माध्यमबाट मात्र सम्भव छ । मैले मेरो मत कसलाई र किन दिने भन्ने मेरो आफ्नो अधिकार हो भन्ने बुझें । मलाई थाहा छ, देशमा जनताले चाहेको जस्तो परिवर्तन आउन समय लाग्छ, तर असम्भव पनि छैन । अब नेता र जनता दुवै सुध्रिन जरुरी छ । त्यसैले हामी अराजक भएर होइन, सचेत नागरिक भएर देशलाई स्थायी राजनीतिक निकासका लागि मतदान गर्न जरुरी छ । मैले यस पटक फागुन २१ म सम्पन्न प्रतिनिधिसभाको चुनावमा पहिलो मताधिकार प्रयोग गर्दै देशको नागरिक हुनुको दायित्व पूरा गरें ।
यस आम निर्वाचनमा युवाहरूको सक्रिय सहभागिता देखियो । जेनजी आन्दोलनपछि भएको यस निर्वाचनले सकारात्मक छनक दियो । निर्वाचनको परिणाम जस्तोसुकै आएपनि अब बन्ने सरकारले जेनजी पुस्ताको अधिकार स्थापित गरी सुशासन मार्फत अघि बढ्नुपर्छ । संकटग्रस्त राजनीतिक परिस्थितिमा समय खेर फालेर होइन, विकास निर्माणमा जुट्नुपर्छ । अब देश र जनतालाई ढाँटेर समय बर्बाद गर्ने छुट कुनै पनि नेतालाई छैन । सचेत जेनजी पुस्ताले निरन्तर निगरानी र खबरदारी गरिरहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण