बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अन्तिम चरणमा प्रत्यक्षतर्फको मतगणना LIVE UPDATES
LIVE UPDATES

LIVE UPDATES : अन्तिम चरणमा प्रत्यक्षतर्फको मतगणना LIVE UPDATES

सोमबार, २५ फागुन २०८२, १२ : ००
Live

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । बिहीबार रातिदेखि नै सुरु भएको मतगणना आइतबार पनि जारी छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भएको निर्वाचनमा दुबैतर्फ रास्वपाको पक्षमा लहर देखिएको छ । 

घण्टीले साढे ४१ लाख मत ल्याउँदा माटोले पनि कटायो ३ लाख

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ धकेलिँदै गर्दा रास्वपाको वर्चस्व कायमै देखिएको छ ।  निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कुल ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ, जसमा नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना र स्थापित दलहरूलाई निकै पछाडि छाड्दै ऐतिहासिक वर्चस्व कायम गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कुल गणना गरिएको मतको झन्डै आधा हिस्सा अर्थात् ४८.३१ प्रतिशत मत प्राप्त गरी सबैभन्दा ठुलो दल बन्ने निश्चित गरेको छ । घण्टी चुनाव चिन्हमा हालसम्म ४१ लाख ५१ हजार २५७ मत प्राप्त गरेको छ । जुन नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको निकै ठुलो जनमत हो ।

परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा (एमाले) को मत परिणाम भने यस पटक निकै खुम्चिएको पाइएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले जम्मा १६.१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९६६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले १३.६६ प्रतिशतका साथ ११ लाख ७३ हजार ५६१ मत मात्रै जोड्न सफल भएको छ । 

म्याग्दीमा करिब सात प्रतिशत मत बदर

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०७९ मा भएको निर्वाचनको तुलनामा यस वर्ष दुई वटै प्रणालीको मत बदरको दर बढेको हो । यही फागुन २१ गते बिहिबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४६ हजार ३३६ मत खसेकोमा ४३ हजार १६० मत सदर भएको थियो । समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेकोमा ४५ हजार ९०६ मत सदर भएको जिल्ला निर्वाचन अधिकृत बिमल गौतमले बताए ।

विसं २०७९ मा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४९ हजार ६९९ मत खसेकामा चार दशमलव दुई प्रतिशत अथवा दुई हजार ८५ मत बदर र ४७ हजार ६१४ मत सदर भएको थियो ।

समानुपातिक मतगणना : अहिलेसम्म कुन दलले कति ल्याए ?

काठमाडौँ, २५ फागुन : प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८३ लाख ८२ हजार ९८४ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ५० हजार ७५३ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ५१ हजार २५६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९२ हजार ४१० , श्रम संस्कृति पार्टीले दुई लाख ९२ हजार ६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७७ हजार १३ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

 

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ ।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२ मत), नेमकिपाका विर्षबहादुर रावत (४०० मत), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बिर्ख शाही (७१ मत) र नेपाल जनता पार्टीका रनील विक्रम शाही (४३ मत) लगायतका दलीय उम्मेदवारहरूले जमानत जोगाउन सकेनन् । स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको समेत जमानत जफत भएको छ ।

मातृकालाई विजयी घोषणा नगरिएकोमा नेकपाको आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका यादवलाई विजयी भएका प्रमाण पत्र नदिएकोमा आपत्ति जनाएको छ । सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएको छ । 

‘धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार श्री मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।   

निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणनासमेत भई नेकपाका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय भएको उल्लेख छ ।  

मतगणना नसकिँदै सुदन गुरुङ विजयी

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी  मतगणना हुँदा सुदन गुरुङले  २४ हजार ५१ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १३ हजार ५११ मत मात्रै ल्याएका छन् । अब गन्न बाँकी १० हजार ५ सय भन्दा कम भएकोले सुदनको अग्रता १० हजार ५ सय भन्दा बढि रहेको छ । 

त्यसकारण अब बाँकी सबै मत उनका निकटतम प्रतिद्वन्द्वी खत्रीलाई जाँदा पनि सुदनले जित्नेछन् । गोरखा १ मा तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी छन्, उनले १० हजार २३१ मत ल्याएका छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका आरसी लामिछानेले ३ हजार ८० मत ल्याएका छन् ।

समानुपातिक मतगणनामा हालसम्म यी पार्टीले १ हजार मत कटाउन सकेनन्

 प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ झण्डै ८० लाख मतगणना सम्पन्न भइसक्दा केही राजनीतिक दलहरूको उपस्थिति निकै कमजोर देखिएको छ।

 निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार मुख्य दलहरूले लाखौँ मत बटुलिरहँदा केही साना दलहरूले भने १ हजार मत समेत पार गर्न सकेका छैनन्।

कुल ७९ लाख ८९ हजार ८७७ मतगणना हुँदा ५ वटा दल १ हजार मतको आँकडाभन्दा तलै खुम्चिएका हुन्। यसरी न्यून मत पाउने दलहरूको सूचीमा सबैभन्दा माथि 'एकल चिन्ह जगर भएको सिंह' लिएर चुनाव लडेका सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल रहेका छन्। यो संयुक्त समूहले हालसम्म ७८५ मत मात्रै प्राप्त गरेको छ।

झण्डै ८० लाख मतगणना हुँदा समानुपातिकमा कुन दलको कति मत ?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको जनाएको छ। पछिल्लो तथ्याङ्कअनुसार कुल ७९ लाख ८९ हजार ८७७ मतगणना सम्पन्न हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छ । 

उक्त पार्टी ३८ लाख ४९ हजार २८८ मतका साथ पहिलो स्थानमा  रहेको छ। रास्वपाले प्राप्त गरेको यो मत दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसको भन्दा झण्डै २५ लाखले बढी हो। 

नेपाली काँग्रेसले १३ लाख ३ हजार ९९५ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ भने नेकपा (एमाले) ११ लाख ४ हजार ११६ मतका साथ तेस्रो स्थानमा देखिएको छ।

राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा

म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा तय गरेका छन्। दलीय घेराबन्दी र सङ्गठनात्मक शक्तिलाई चुनौती दिँदै ७१ वर्षीय पुनले स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक सफलता हात पारेका हुन्। निर्वाचनमा उनले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९ सय ३१ को भारी मतान्तरले पराजित गरे। पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठ निकै पछि परे।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका पुनले गत माघ ४ गते पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिने घोषणा गरेका थिए। मन्त्री पदमा रहँदा स्वार्थ समूहको दबाब र राजनीतिक हस्तक्षेपका कारण सोचेजस्तो काम गर्न नसकेपछि उनी जनताको साथ खोज्दै जन्मथलो फर्किएका थिए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मिएका पुनको यो जितले नेपाली राजनीतिमा केवल पैसा, पावर र सङ्गठनले मात्र चुनाव जितिन्छ भन्ने भ्रमलाई चिरेको छ।

पुनको चुनावी शैली अन्य नेताहरूको भन्दा बिल्कुलै भिन्न र सादगीपूर्ण थियो। उनले भड्किलो प्रचारप्रसार नगरी मतदातासँग अनौपचारिक संवाद र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेका थिए। अचम्मको कुरा त के छ भने, उनले चुनाव लड्न मतदाताबाटै आर्थिक सहयोग संकलन गरेका थिए। जितपछि पनि उनले विजय उत्सव वा तडकभडक नगर्न समर्थकहरूलाई आग्रह गर्दै सादगीपनको अर्को उदाहरण पेश गरेका छन्। म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद आचार्यका अनुसार मतदाताले लोभ, आश्वासन र डरभन्दा माथि उठेर पुनको व्यक्तित्व र योगदानलाई न्याय गरेका हुन्।

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा, कहाँ कसको अग्रता ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अब मात्र ४ सिटको नतिजा आउन बाँकी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १-१ सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा-१ मा, नेपाली कांग्रेसले इलाम-१ मा तथा नेकपा एमालेले सङ्खुवासभा-१ मा अग्रता बनाइरहेको छ । धनुषा-१ को भने मत परिणाम हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

हालसम्म रास्वपाले सर्वाधिक १२४ सिट जितिसकेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १७ तथा एमालेले ८ सिट जितेको छ । नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित चौथो स्थानमा छ ।

७६ लाख समानुपातिक मत गन्दा कसले कति पाए ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.४६ प्रतिशत हो । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ ।

इलाम-१ मा रोचक प्रतिस्पर्धा

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहेको छ । यस क्षेत्रमा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । 

पछिल्लो मत परिणाममा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो । कांग्रेसका निश्कल राईले १० हजार ६१५ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १० हजार २०७३ मत ल्याएका छन् ।

नेकपा एमालेका काजी मान कागतेले ९ हजार ७८१ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ६४१८ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका रन बहादुर राई ४ हजार ९१२ मतसहित पाँचौँ स्थानमा छन् ।

गोरखा–१ मा फराकिलो अग्रता बनाउँदै रास्वपाका सुदन गुरुङ

काठमाडाैँ। प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा गोरखा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रता फराकिलो बनाएका छन् ।

यो समाचार तयार पार्दासम्म प्राप्त मत परिणाम अनुसार गुरुङले १६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले १० हजार १ सय १७ मत प्राप्त गरेका छन् । हाल गुरुङ र खत्रीबिचको मतान्तर ६ हजार ४ सय ३४ रहेको छ ।

त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हरि राज अधिकारीले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छ ।

सुदूरपश्चिमबाट प्रत्यक्ष तर्फ एक मात्र महिला उम्मेदवार विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका १८ जना महिला उम्मेदवारमध्ये एक जना मात्रै जित भएको छ  । सुदूरपश्चिमका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमा १८ जना महिलाले प्रतिस्पर्धा गरेका थिए। जसमा दुई जना स्वतन्त्र उम्मेदवार समेत थिए ।

चुनावी नतिजा अनुसार कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी कोमल ज्ञवाली  मात्र निर्वाचित भएकी हुन्। उनले १७ हजार ८२६ मत प्राप्त गर्दै जित दर्ता गरिन् ।

यस्तै ठुला दलको तर्फबाट उम्मेदवार बनेकी नेपाल कम्युनिस्ट पार्टीकी बिना मगर भने पराजित भएकी छन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट चुनाव लडेकी मगरले ११ हजार १ सय १० मत प्राप्त गरे पनि जितका लागि पर्याप्त भएन ।

सुदूरपश्चिममा चुनाव उठेका १ सय ९० जनाको हार

धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । फागुन २१ गते भएको मतदानबाट १६ जना उम्मेदवारले जित हात पार्दै प्रतिनिधि सभा को यात्रा सुनिश्चित गरेका छन् ।

यो निर्वाचनमा सुदूरपश्चिमका १६ सिटका लागि कुल २०६ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । जसमध्ये १६ जनाले मतदाताको विश्वास जितेर संसद्को ढोका खोलेका छन् भने बाँकी १ सय ९० जना उम्मेदवारहरू पराजित भएका छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार, चुनावी प्रतिस्पर्धामा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न साना दल र ठुलो सङ्ख्यामा स्वतन्त्र उम्मेदवारहरू सहभागी थिए । विजयी हुने १६ जना सांसदहरू मध्ये १० जना रास्वपाका, ३ जना एमाले र ३ जना कांग्रेसका छन् । यी दल बाहेक अन्यले चुनाव जितेनन् । पराजित हुने १९० जनामा कतिपय स्थापित नेताहरू र कतिपय पहिलो पटक चुनावी अनुभव बटुलेका युवा तथा स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।

कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

गण्डकी । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।

यसअघि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन जितेको उक्त पार्टी समानुपातिकतर्फ पनि पहिलो बनेको हो । जिल्लामा तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले कूल एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

नेपाली कांग्रेसले २८ हजार ६५६ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले २४ हजार १ सय ९९ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ४ सय ६६ मत, नेपाली कम्युनिस्ट पार्टीले पाँच हजार ७ सय ६३ मत, श्रम संस्कृति पार्टीले तीन हजार ५ सय ६४ मत र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार ७२ मत प्राप्त गरेको छ ।

नुवाकोट १ मा रास्वपाका विक्रमको जित, कांग्रेसका प्रकाशशरण हारे

काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विक्रम तिमिल्सिना निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार उनी २२ हजार ६०९ मत ल्याउँदै निर्वाचित भएका हुन् ।  नेपाली कांग्रेसका प्रकाशशरण महत पराजित भएका छन् । महतले १८ हजार ५९७ मत मात्रै ल्याए । 

यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हितबहादुर तामाङले १३ हजार ३७७ मत ल्याउँदा नेकपा एमालेका बद्री मैनालीले ८ हजार ९३२ मत ल्याएका छन्। यससँगै रास्वपाले दुई वटै निर्वाचन क्षेत्रमा जित निकालेकाे छ । 

सुदूरपश्चिममा एमाले ३ सिटमा सीमित

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले ३ वटा सिटमा जित हासिल गरेको छ । अघिल्लो २०७९ को निर्वाचनमा २ सिटमा जितेको एमालेले यस पटक एक सिट थप्दै आफ्नो उपस्थिति ३ सिटमा पुरयाएको हो । यद्यपि, एमालेले प्रदेशका १६ मध्ये १३ सिट गुमाएको छ भने ६ वटा जिल्लामा चुनावमा पार्टी निल भएको छ।

यस पटकको नतिजाअनुसार दार्चुलामा एमालेका गणेश ठगुन्ना १८ हजार ८९१ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, बझाङमा ऐन महरले १८ हजार ५४३ मतसहित जित निकालेका छन्।

अछाम क्षेत्र नम्बर २ मा यज्ञ बोगटीले ९ हजार ५१८ मत प्राप्त गर्दै एमालेलाई अर्को जित दिलाएका छन् । यी तीन क्षेत्र बाहेक अन्यत्र भने एमालेका उम्मेदवार पराजित भएका छन् ।

सुदूरपश्चिममा १० सिट रास्वपाको पोल्टामा, यी ६ क्षेत्रमा पराजय

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहाँका १० वटा क्षेत्रमा फराकिलो जित निकाल्दै प्रदेशकै पहिलो पार्टी बन्न सफल भएको छ।

कैलाली जिल्लामा रास्वपाले ५ वटा सिटमा जित हासिल गरेको छ । नतिजाअनुसार कैलाली क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत र क्षेत्र नम्बर ५ मा आनन्द चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका छन् । त्यस्तै, कैलाली क्षेत्र नम्बर ३ मा जगतप्रसाद जोशीले २० हजार ३५९ मत, क्षेत्र नम्बर ४ मा खेमराज कोइरालाले २८ हजार ५५६ मत र क्षेत्र नम्बर २ मा केपी खनालले १९ हजार ५७ मत ल्याउँदै जित निकालेका छन्।

कञ्चनपुर जिल्लामा पनि रास्वपाका उम्मेदवारहरू भारी मतले निर्वाचित भएका छन्। कञ्चनपुर क्षेत्र नम्बर २ मा दीपक बोहरा ३३ हजार ९५२ मतसहित निर्वाचित भए भने क्षेत्र नम्बर १ मा जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर विजयी भए। कञ्चनपुर क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्रसिंह महता विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई १७ हजार ६७५ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।

अछाम–२ मा बोगटीको ‘कमब्याक’, लिए हारको बदला

धनगढी । अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन्।  आइतबार सम्पन्न मतगणनाअनुसार उनी ९ हजार ५१८ मत ल्याएर निर्वाचित भएका हुन्।

यसअघि उनी २०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । पाँच वर्ष संघीय संसद्को उनले अनुभव बटुलिसकेका छन्। तर,बोगटी २०७९ सालमा नेपाली कांग्रेसका पुष्पबहादुर शाह सँग पराजित भएका थिए । शाहले २२ हजार ९५४ मत ल्याएर विजयी भए । त्यस बेला बोगटीले  १६ हजार १ सय १४ मत ल्याएका थिए। 

फागुन २१ गतेको निर्वाचनमा फेरि कांग्रेस र एमालेले यी दुवैलाई आ–आफ्नो दलबाट उम्मेदवार बनायो । २०७९ मा आमनेसामने भएका शाह र बोगटी यो पटक पनि मुख्य प्रतिस्पर्धामा रहे ।

गोरखा–१ मा सुदन गुरुङ ३ हजार मतले अगाडि, कांग्रेसका खत्री पछ्याउँदै

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुदन गुरुङले अग्रता कायमै राखेका छन् । उनले १२ हजार १७१ मत ल्याउँदै अग्रता कायमै राखेका हुन् ।

उनलाई नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले ९ हजार १५३ मतका साथ पछ्याइरहेका छन् । गुरुङ खत्री भन्दा ३ हजार १८ मतले अगाडि छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का हरिराज अधिकारीले ५ हजार १६० मत ल्याएका छन् । नेकपा एमालेका रामचन्द्र लामिछानेले १ हजार ८४३ मत ल्याएका छन् । 

बालेनका सारथी भुपदेव शाहले हारे चुनाव

काठमाडौँ । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न मतगणनाअनुसार ९ हजार ५१८ मत ल्याउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याए । 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठल नेता बालेन शाहका सारथी भुपदेव शाह पराजित हुन पुगेका छन् । उनले ४ हजार ५६२ मत मात्रै ल्याए । देशभर रास्वपाका उम्मेदवार निर्वाचित भइरहँदा उनी भने पराजित हुन पुगेका हुन् ।  बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भुपदेव स्वकीय सचिव थिए । 

गोरखा– २ मा कविन्द्र : हिजो जति मतान्तरले हारे, आज उतिनै अन्तरले जिते

पोखरा । गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडीलाई सानदार मतान्तर सहित हराएका हुन् । गोरखा २ मा कविन्द्रको गज्जबको संयोग जुरेको छ । ३ वर्षअघि २०७९ मा जति मतान्तरले उनी हारेका थिए, आज सोही मतान्तरले जितेका छन् । 

आइतबार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार, रास्वपाका उम्मेदवार बुर्लाकोटी २६ हजार ६ सय ६० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दवाडीले ११ हजार ७ सय मत पाए । प्रचण्डको पार्टी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले अझै कम मत पाए । उनले ११ हजार ७३ मत मात्रै पाएका हुन् । 

२०७९ को चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २६ हजार १ सय ३ मत ल्याएर विजयी हुँदा बुर्लाकोटी १२ हजार ६ सय ३७ मतमा खुम्चिएका थिए । ३ वर्षको अवधिमा उनले १४ हजार २३ मत थपे । सधैँ माओवादीको गढ मानिने गोरखा २ मा यस पटक पुरानो माओवादी हालको नेकपाको अवस्था दयनीय बन्यो । 

इलाम–१ मा रोचक प्रतिस्पर्धा

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले,श्रम संस्कृति पार्टी र नेपाली कांग्रेसबिच रोचक प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेका काजीमान कागतेले ८ हजार ६७१ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोदनेम्वाङ लिम्बले ८ हजार ५८४ मत ल्याए । 

यस्तै नेपाली कांग्रेसका निश्कल राईले ८ हजार ४५४ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विमल गदालले ५ हजार ४१६ मत ल्याएका छन् ।  नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का रण बहादुर राईले २ हजार ७६३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का ज्वाला नेपालले २४६ मत ल्याएका छन् ।

यसअघि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकै सुहाङ नेम्वाङ निर्वाचित भइसकेका छन् । 

गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार उनी २६ हजार ६६० मत ल्याएर निर्वाचित भएका हुन्। बुर्लाकाेटी रास्वपाका महामन्त्री समेत हुन् । 

नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७ सय मत ल्याए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का लेखनाथ न्याैपानेले ११ हजार ७३ मत ल्याए । नेकपा एमालेका मिलन गुरूङले ३ हजार ८७८ मत ल्याए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया