शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

एमालेमा ओलीको विकल्प खोजी, नीति र नेतृत्व पुनगर्ठनको बहस

सोमबार, २५ फागुन २०८२, १७ : ३०
सोमबार, २५ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा एमालेको नतिजा लज्जास्पद आएपछि नीति र नेतृत्व पुनर्गठनको बहस सुरु भएको छ।
  • कार्यकर्ता र जनताले ओलीको नीति र नेतृत्व अस्वीकार गरेपछि, एमालेमा विकल्प खोज्ने बहस चलिरहेको छ।
  • विभिन्न नेताहरूले ओलीको राजीनामाको माग गर्दै पार्टीको नेतृत्व, नीति र कार्यशैलीको समीक्षा गर्नुपर्ने बताएका छन्।

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको लज्जास्पद नतिजा आएपछि नेकपा एमालेमा नीति र नेतृत्व पुनर्गठनको बहस ब्युँतिएको छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको मागसहित भदौ तेस्रो साता भएको दुई दिने जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको मुद्दा मुखरर बनेपनि हतारमा ११ औं महाधिवेशन गराएर पुन: तेस्रो कार्यकाल अध्यक्षमा अनुमोदन भएका ओली त्यसलगत्तैको चुनावी नतिजामा नराम्रोसँग अस्वीकृत भएका छन् । 

कार्यकर्ताबाट अनुमोदित भएपनि जनताले ओलीको नीति र नेतृत्व दुवै अस्वीकार गरेर विकल्प रोज्न दिएको सुझावलाई मनन् गर्दै एमालेमा भित्रभित्रै यस्तो बहस चल्न थालेको हो ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाखमतसहित संसद्मा दोस्रो ठुलो दल बनेको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा संख्याको हिसाबले निकै तल झरेको मात्र होइन, उठ्नै नसक्नेगरी पछारिएको विश्लेषण भइरहेको छ । पार्टीको लज्जास्पद चुनावी नतिजाबारे स्वयं अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म मुख खोलिसकेका छैनन् । तर एमालेका अधिकांश नेता कार्यकर्ता अध्यक्ष ओलीको नीति र नेतृत्व तथा कार्यशैलीकै कारण ठुलो क्षति व्यहोर्न बाध्य भएको ठहरसहित अब नीति र नेतृत्वको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेका छन् । यद्यपि नेता-कार्यकर्ताले यो बहस पार्टीका औपचारिक कमिटीमा गर्न पाएका छैनन् । 

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइनसकेको र नेता-कार्यकर्ताहरू चुनावी व्यस्तताबाट निस्कन नसकेपनि उनीहरुले व्यक्तिगत रुपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम मार्फत आफ्ना धारणा सार्वजनिक गरेर नीति र नेतृत्व पुनर्गठनको बहस र चर्चामा ल्याएका हुन् । उपमहासचिव योगेश भट्टराई स्वयं चुनावी नतिजाले एमालेको नीति र नेतृत्व दुवै अस्वीकृत गरेको स्विकार्छन् ।

‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराई भन्छन्, ‘हामीले आफूभित्र सर्वाङ्‍गीण रूपान्तरण मार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्छ ।’

भट्टराईले भदौ २३ र २४ पछि पार्टीले लिएको नीतिप्रति असहमति पार्टी बैठक र ११ औं राष्ट्रिय महाधिवेशनमा राखेपनि अस्वीकृत भएको भन्दै उक्त बहस अब पुनः खुला गर्नुपर्ने समय आएको बताएका छन् । नीति र नेतृत्वबारे बहस गरेर अघि बढ्दा एमाले फेरि उठ्ने भट्टराईको विश्वास छ ।

एमालेका एक पदाधिकारीका अनुसार एमालेले चुनावमा व्यहोरेको हारको जिम्मेवारी अध्यक्ष ओलीले लिएर तत्काल राजीनामा दिनु पार्टी र ओली स्वयंका लागि हितकर हुनेछ ।

‘चुनावमा हामीले नराम्रो धक्का खायौं, यो हालत हुनुमा धेरै कारणमध्ये एक कारण अध्यक्षको अहंकार, दम्भ र एकात्मक कार्यशैलीको उपज हो’, ती पदाधिकारीले रातोपाटीसँग भने, ‘यस्तो धक्का खाएपछि अध्यक्ष ओलीले नैतिकता देखाएर तत्काल राजीनामा दिनुपर्छ ।’

त्यसो त जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणका सवालमै एमालेमा दुई धार रहँदै आएको थियो । एक पक्षले जेनजी आन्दोलनलाई स्वाभाविक भनेका थिए भने ओलीले पार्टीमा रहेको बहुमतका आडमा उक्त आन्दोलनलाई अपराधीकरण र विदेशी उक्साहटको संज्ञा दिँदै आएका थिए । त्यति मात्रै होइन, चुनावमा देश जलाउने र बनाउनेबिचको प्रतिस्पर्धा भनेर जबर्जस्त व्याख्या गराएका ओलीले अन्तत: चुनावमा आफू मात्रै हारेनन्, समग्र एमाले पार्टीलाई नै रसातलमा पुर्‍याउन भूमिका खेले । ओलीको यही सोच, व्यवहार र कार्यशैलीलाई जनताले ब्यालेट मार्फत जवाफ दिएर सिंगो एमालेलाई सोच्न बाध्य बनाएका छन् ।

एमाले नेता आनन्द पोखरेल त चुनावी नतिजा र फेरिएको अवस्थाबारे अध्यक्ष ओली आफैं बोल्नुपर्ने बताउँछन् ।

‘डाइनामिक लिडरसिप, राजनीति बुझेको, मोरल ग्राउन्ड बुझेको तथा विचार र दर्शन दिने मान्छेले आफैंले अनुभूति गरेर समग्र प्रक्रियाका बारेमा आफैं बोल्नुहुन्छ भन्ने मेरो विश्वास छ’, पोखरेलले रातोपाटीसँग भने, ‘त्यसकारण हामीले नेतालाई व्यक्तिगत तवरले होस् वा दायाँबायाँ हेर्न नसक्ने बनाउनेमा त म पनि हुनसक्छु नि !’

यो चुनावमा हार्ने ठाउँ नै बाँकी नरहने गरी पार्टी पराजित भएको अवस्थामा अध्यक्षसहित नेतृत्वले त्यो नैतिकता देखाउनुपर्ने पोखरेलको भनाइ छ । चुनावमा टिकट वितरणमा भएको त्रुटि, पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्य खोस्नु र इतर पक्षलाई ओलीका वरिपरि बस्नेले गरेको पक्षपातपूर्ण व्यवहारले पनि चुनावमा एमाले धुलिसात हुन पुगेको धेरैजसो एमाले नेता-कार्यकर्ताको बुझाइ छ ।

यस्तो अवस्थामा अध्यक्ष ओलीको राजीनामा माग्ने हिम्मत एमाले नेता-कार्यकर्तामा छ त ? नेता पोखरेल भन्छन्, ‘बैठक बस्न नदिनुस् न ।’

एमाले नेताहरु भट्टराई र पोखरेल मात्र होइन, ओली निकट मानिएका उपाध्यक्ष विष्णु पौडेलले समेत देशभर पार्टीले व्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्य सम्पादनबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

उपाध्यक्ष पौडेलले देशभरको निर्वाचनको परिणाम आएपछि पार्टीले गहिरो गरी आत्मसमीक्षा गर्ने बताएका छन् । ‘अब हामी राष्ट्र र जनताको भावना अनुसार पार्टीको नेतृत्व, नीति र कार्य सम्पादनका तरिकाबारे छिट्टै उपयुक्त निर्णय गर्नेछौं’, निर्वाचनको नतिजा आउँदै गर्दा पौडेलले भनेका थिए ।

एमाले बुझेका तथा राजनीतिक विश्लेषक समेत रहेका प्राध्यापक कृष्ण पोखरेल एमाले अध्यक्ष ओली हरेक हिसाबले असफल भएको विश्लेषण गर्छन् । ओलीले महाधिवेशन गरेर नयाँ नेतृत्व देखाउने प्रयास गरेपनि त्यसले नीति र नेतृत्व परिवर्तन गर्न नसकेको पोखरेलको बुझाइ छ ।

‘जुन परिस्थितिमा एमाले महाधिवेशन भयो त्यो नीति र नेतृत्व परिवर्तन गर्ने भन्दा पनि कर्मकाण्डी हिसाबले ओली आफैंलाई देवत्वकरण गर्ने हिसाबले गरियो’, पोखरेलले रातोपाटीसँग भने, ‘त्यो महाधिवेशनले न त कार्यकर्तामा ऊर्जा भर्‍यो न आम जनमानसमै सकारात्मक प्रभाव नै पार्‍यो ।’

ओलीको यो कार्यशैली र व्यवहारको चुनावमा जनताले जवाफ दिएको पोखरेलको विश्लेषण छ । एमालेमा मात्र नभएर पुराना सबै पार्टीहरुमा नीति र नेतृत्व पुनर्गठनको आवश्यकता चुनावी नतिजाले औंल्याइदिएको पोखरेलको विश्लेषण छ ।

‘एमाले मात्र होइन, सबै पार्टीमा यो जरुरी छ’, पोखरेलले चुनावमा एमाले रसातालमा पुग्नुमा ओलीको आत्मकेन्द्रित कार्यशैली र मैले जे गरेपनि हुन्छ भन्ने सोचको परिणाम हो ।’

पोखरेल पछिल्लो धक्काबाट एमाले माथि उठ्न निकै ठुलो परिश्रम र समय लाग्न सक्ने बताउँछन् । ‘कांग्रेस लिबरल डेमोक्रेसीलाई फलो गर्ने पार्टी भएकाले उसलाई उठ्न त्यति धेरै कठिन नहोला, तर कम्युनिस्टहरु उठ्न मुस्किल हुन्छ’, उनी भन्छन् । पोखरेल ढलेका कम्युनिस्टहरुलाई उठ्न ढलेको हात्ती उठ्नु सरह हुने टिप्पणी गर्छन् । ‘हात्ती ढल्यो भने हत्तपत्त उठ्दैन । कम्युनिस्टहरुलाई पनि ढलेपछि उठ्न गाह्रो हुन्छ’, पोखरेल भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप