बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
लुम्बिनीबाट प्रदेशसभा छाडेर हार्नेहरू

संघीय पदको लोभः न प्रदेशसभामा रहे, न केन्द्रमा पुगे

सोमबार, २५ फागुन २०८२, १७ : ५३
सोमबार, २५ फागुन २०८२

सारांश

  • लुम्बिनी प्रदेशका पाँच जनाले संघीय निर्वाचनका लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिए, तर एक जना मात्रै सफल भए।
  • रूपन्देहीका कन्हैया बानियाँले मात्रै निर्वाचन जिते, भने अरुको जमानत जफत भयो र हार बेहोर्नु परेको थियो।
  • जनप्रतिनिधिले संघीय पदको लोभमा आफ्नो पद छाड्नु जनताको मतप्रति इमानदार नहुनु रहेको बुटवलका लेखकको भनाइ छ।

बुटवल । लुम्बिनी प्रदेशमा प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता हुनु केही दिनअघि हतारहतारमा राजीनामा दिएर पाँच जना उम्मेदवार बनेका थिए, तीमध्ये चार जना प्रदेशसभा सदस्य थिए भने एक जना उपमहानगरपालिकाका जनप्रतिनिधि थिए । डेढ वर्ष कार्यकाल बाँकी हुँदाहुँदै प्रदेशसभाको पद छाडेर संघीय चुनावमा होमिएका यी नेतामध्ये अधिकांशले भने अपेक्षित नतिजा ल्याउन सकेनन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएका चार जनामध्ये एक जना मात्रै सफल भएका छन् । रूपन्देहीका कन्हैया बानियाँ, दाङका धनबहादुर मास्की, बर्दियाका धर्मबहादुर चौधरी र बाँकेकी कृष्णा केसी 'नमुना'ले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए । यस्तै, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पनि पदबाट राजीनामा दिएर संघीय उम्मेदवार बनेका थिए । तर, उनीहरूमध्ये रूपन्देही–४ बाट उम्मेदवार बनेका कन्हैया बानियाँ मात्रै विजयी भएका छन् । 

अन्य सबै पराजित भए भने केहीको जमानतसमेत जफत भएको छ । यसरी जमानत जफत हुनेमध्ये बाँके क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी नमुना पनि एक हुन् । उनले जम्मा १२४० मत मात्रै ल्याएकी थिइन् । सोही जिल्लाको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका कमरुद्दिन राईको पनि जमानत जफत भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पद छाडेर जसपाबाट प्रतिनिधिसभाका लागि मैदानमा उत्रिएका उनले जम्मा ९०८ मत मात्रै ल्याएर आफ्नो धरौटी रकमसमेत फिर्ता गर्न सकेनन् । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ मा निर्वाचित धर्मबहादुर चौधरीले पनि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीबाट बर्दिया–२ मा उम्मेदवारी दिएका थिए । अन्तिम समयमा रेसम चौधरीको नागरिक उन्मुक्ति पार्टी छाडेर नयाँ पार्टीतिर लागेका उनी पूर्वमन्त्रीसमेत हुन् । उनले ४ हजार ४७२ मत ल्याएर पाँचौँ स्थानमा सीमित भएका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेशसभाको पद छाडेर संघीय निर्वाचनमा जाने लोभमा पराजित हुनेमध्ये नेकपाका धनबहादुर मास्की पनि एक हुन् । प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मास्कीले दाङ–३ मा ९ हजार ३२८ मत ल्याएर चौथो स्थानमा चित्त बुझाउनुपरेको छ । कार्यकाल बाँकी रहँदै जिम्मेवारी छाडेर निर्वाचन लडेको भन्दै उनीहरूमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

बुटवलका लेखक तथा विश्लेषक क्रषि आजादले पाँच वर्षे कार्यकालका लागि जनताले मत दिएपछि जनप्रतिनिधिले संघीय पदको लोभमा आफ्नो पद छाडेर जानु भनेको जनताको मतप्रति इमानदार नहुनु रहेको प्रतिक्रिया दिए । उनले कार्यकाल पूरा नहुँदै बीचैमा छाडेर जानु आफ्ना मतदातालाई धोका दिनुजस्तै रहेको बताए । 

कसरी जिते बानियाँले ? 

२०७९ को प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित कन्हैया बानियाँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । त्यसबेला प्रदेशसभामा लोसपाबाट बानियाँ उम्मेदवार हुँदा प्रतिनिधिसभामा सोही पार्टीका सर्वेन्द्रनाथ शुक्लाले जितेका थिए । अहिले बानियाँले पूर्वमन्त्रीसमेत रहेका सर्वेन्द्रनाथ शुक्ला र २०७४ सालमा निर्वाचित प्रमोद कुमार यादवलाई पराजित गरेका हुन् । 

मर्चवारी गाउँपालिकाका ३६ वर्षीय युवा बानियाँले २८ हजार ६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा), नेपालका सर्वेन्द्रनाथ शुक्लाले ३ हजार ४१० मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भएका छन् । 

बानियाँले अहिलेको राजनीतिक भूमिकालाई परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेशसभा छाडेर सङ्घतर्फ आएको र जनताले साथ दिएको प्रतिक्रिया दिएका छन् । उनले युवा पुस्ताको भावना र मर्चवारी क्षेत्रको विकासमा योगदान दिने आफ्नो प्रतिबद्धतालाई स्थानीय मतदाताले बुझेर आफूलाई जिताएको बताए । मर्चवारीको विकासका लागि सङ्घमा यसअघि आवाज उठाउने नेता नहुँदा यहाँका जनताले धेरै समस्या भोग्नुपरेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप