शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

७५ वर्षीय वृद्धको मृत्युदण्ड खारेज, पीडितकी छोरीकै पहलमा जोगियो ज्यान

बुधबार, २७ फागुन २०८२, ०६ : ५९
बुधबार, २७ फागुन २०८२

सारांश

  • अमेरिकाको अलाबामा राज्यमा ३४ वर्ष पुरानो हत्याकाण्डका दोषी चार्ल्स बर्टनको मृत्युदण्ड गभर्नरको हस्तक्षेपपछि टरेको छ।
  • १९९१ मा एक स्टोरमा भएको डकैती र हत्यामा संलग्न नभए पनि समूहमा संलग्नताको आधारमा बर्टनलाई मृत्युदण्ड सुनाइएको थियो।
  • गभर्नरले पीडित परिवारको भावना र मुख्य अभियुक्तले सजाय नपाएको अवस्थालाई मध्यनजर गर्दै बर्टनको सजाय घटाएकी हुन्।

अलाबामा । अमेरिकाको अलाबामा राज्यमा ३४ वर्षअघिको एक हत्या काण्डमा दोषी ठहरिएका ७५ वर्षीय चार्ल्स ‘सन्नी’ बर्टनको मृत्युदण्डको सजाय गभर्नरको हस्तक्षेपपछि टरेको छ। सन् १९९१ मा एक स्टोरमा भएको डकैती र हत्यामा संलग्न रहेको भन्दै बर्टनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

रोचक कुरा के छ भने, जुन समयमा हत्या भएको थियो, बर्टन त्यो भवनभित्र समेत थिएनन्। अलाबामाको कानुन अनुसार कुनै अपराधमा समूहगत संलग्नता भएमा, हत्यामा प्रत्यक्ष संलग्न नभए पनि सह-अपराधीलाई मृत्युदण्ड दिन मिल्ने प्रावधान छ। तर, बिहीबार राति नाइट्रोजन ग्यासमार्फत कार्यान्वयन गर्न लागिएको यो सजायलाई गभर्नर के आइभीले अन्तिम समयमा रोकेर जन्मकैदमा परिणत गरिदिएकी छन्।

यो घटना सन् १९९१ अगस्ट १६ को हो, जहाँ बर्टन र डरिक डिब्रुससहितका ६ जना व्यक्तिहरू टालाडेगास्थित अटोजोन स्टोर लुट्न पुगेका थिए। लुटपाट सकिनै लाग्दा डग ब्याटल नामका ग्राहक स्टोरभित्र पसेका थिए। सोही क्रममा ब्याटल र लुटेरा डिब्रुसबिच विवाद हुँदा डिब्रुसले उनको पिठ्युँमा गोली हानेका थिए।

अभियोजकहरूले नै स्वीकार गरे अनुसार, गोली चल्नुअघि नै बर्टन स्टोरबाट बाहिरिइसकेका थिए। तर, मुख्य योजनाकार र समूहको सदस्य भएको नाताले उनलाई मृत्युदण्डको फैसला सुनाइएको थियो। अचम्मको कुरा, गोली चलाउने मुख्य व्यक्ति डिब्रुसको मृत्युदण्डको सजाय भने कानुनी कमजोरीका कारण आजीवन कारावासमा बदलिसकिएको थियो र उनको जेलमै मृत्यु भइसकेको छ।

बर्टनको ज्यान जोगाउन सबैभन्दा ठुलो भूमिका तिनै मृतक डग ब्याटलकी छोरी टोरी ब्याटलले खेलिन्। आफ्ना पिता मारिँदा मात्र ९ वर्षकी रहेकी टोरीले बर्टनलाई माफी दिन सार्वजनिक अपील नै गरेकी थिइन्।

उनले एक लेखमार्फत प्रश्न गरेकी थिइन्, ‘मेरो बुबाको हत्या नै नगरेका व्यक्तिलाई किन मार्नुपर्छ भन्ने कुरा राज्यले मलाई कहिल्यै बुझाउन सकेन। बुबाप्रतिको मेरो मायाले अर्को एउटा निरर्थक मृत्यु माग गर्दैन।’ पीडित परिवारको यही उदारता र मुख्य अपराधीले सजाय नपाएको अवस्थालाई मध्यनजर गर्दै गभर्नर आइभीले बर्टनको सजाय घटाउने निर्णय गरेकी हुन्।

गभर्नर आइभीले आफ्नो कार्यकालमा २५ वटा मृत्युदण्डको नेतृत्व गरिसकेकी छन्। उनले आफू मृत्युदण्डको पक्षधर भए पनि यो न्यायपूर्ण र समान हुनुपर्ने बताएकी छन्। उनले भनिन्, ‘गोली चलाउने व्यक्तिलाई मृत्युदण्ड नहुने तर सँगै रहेको अर्को व्यक्तिलाई हुने कुरा न्यायसंगत देखिँदैन।’

हाल ह्विलचेयरको सहारामा रहेका बर्टनले आफूले हत्या नगरे पनि सो अपराधको हिस्सा बनेकोमा पीडित परिवारसँग माफी मागेका छन्। यद्यपि, अलाबामाका महान्यायाधिवक्ता स्टिभ मार्शलले भने यो निर्णयप्रति असन्तुष्टि जनाउँदै ब्याटलको हत्यामा बर्टनको हात रहेको र उनले कानुनी दाउपेच गरेर सजाय ढिला गराएको आरोप लगाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप