बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युद्धका कारण बहराइन र साउदी अरेबिया ग्रान्ड प्रिक्स रद्द हुने निश्चित

शनिबार, ३० फागुन २०८२, ०८ : ०३
शनिबार, ३० फागुन २०८२

सारांश

  • पश्चिम एसियाको युद्धका कारण बहराइन र साउदी अरेबियाको एफवान दौड रद्द हुने सम्भावना छ।
  • सुरक्षा जोखिमका कारण प्रतियोगिता स्थगित गर्न लागिएको हो, किनकि यसअघि नै बहराइनमा मिसाइल आक्रमण भइसकेको छ।
  • प्रतियोगिता रद्द हुँदा फर्मुला वानलाई ठूलो आर्थिक नोक्सानी हुनेछ र सिजन २४ बाट घटेर २२ मा सीमित हुनेछ।

रियाद । पश्चिम एसियामा जारी भीषण युद्धका कारण आगामी महिना तय भएका बहराइन र साउदी अरेबिया ग्रान्ड प्रिक्स (एफवान) फर्मुला वान दौडहरू रद्द हुने भएका छन्। औपचारिक निर्णय सार्वजनिक हुन बाँकी भए पनि यस साताको अन्त्यसम्ममा यी दुवै प्रतियोगिता स्थगित भएको घोषणा गरिने प्रबल सम्भावना छ।

विशेषगरी अमेरिका, इजरायल र इरानबिचको द्वन्द्व तत्कालै साम्य हुने संकेत नदेखिएपछि सुरक्षाको दृष्टिकोणले यी ठूला खेल गतिविधिहरू सञ्चालन गर्न जोखिमपूर्ण मानिएको हो। बहराइनको राजधानीमा यसअघि नै मिसाइल आक्रमण भइसकेको र जेद्दा पनि उत्तिकै जोखिममा रहेकाले अन्तर्राष्ट्रिय टोली तथा कर्मचारीहरूको सुरक्षाका लागि आयोजकहरूले यस्तो कडा कदम चाल्न लागेका हुन्।

यी दुई प्रतियोगिता रद्द हुँदा यो सिजनको खेल तालिका २४ बाट घटेर २२ मा सीमित हुनेछ। बहराइनमा अप्रिल १२ र त्यसको अर्को साता जेद्दामा दौड हुने तालिका थियो। लजिस्टिक र ढुवानीका सामानहरू समयमै पठाउनुपर्ने दबाबका कारण फर्मुला वान प्रशासनले आगामी ४८ घण्टाभित्रै आधिकारिक निर्णय लिनुपर्ने बाध्यता छ।

यी दुई देशले विश्वमै सबैभन्दा बढी आयोजक शुल्क तिर्ने गरेकाले प्रतियोगिता रद्द हुँदा फर्मुला वानले १० करोड पाउण्डभन्दा बढीको व्यावसायिक नोक्सानी बेहोर्नुपर्ने देखिन्छ। यो घाटाको प्रत्यक्ष असर विभिन्न टिम र व्यावसायिक अधिकारवालाहरूमा समेत पर्नेछ।

विकल्पका रूपमा पोर्चुगल, इटाली वा टर्कीमा दौड आयोजना गर्ने विषयमा छलफल भए पनि यति छोटो समयमा नयाँ स्थानमा तयारी गर्न र आवश्यक बजेट जुटाउन असम्भव देखिएपछि सिजनलाई छोट्याउने निर्णय गरिएको हो। यस निर्णयसँगै मार्च २९ मा जापानमा हुने ग्रान्ड प्रिक्स र मे ३ मा मियामीमा हुने खेलको बीचमा पाँच हप्ताको लामो अन्तराल रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप