९८औँ ओस्कर अवार्ड : ‘सिनर्स’ लाई कीर्तिमानी १६ मनोनयन
सारांश
- ९८औँ ओस्कर अवार्ड लस एन्जलसमा मार्च १६ मा आयोजना हुने भएको छ, जसमा हलिउड फिल्म 'सिनर्स' ले १६ विधामा मनोनयन पाएको छ।
- भारतीय मूलका कलाकारहरूको उपस्थिति बलियो रहेको छ, जसमा प्रियंका चोपडाले प्रिजेन्टरको रूपमा स्टेज सम्हाल्नेछिन् भने गीता गन्दभीरका दुई डकुमेन्ट्री फिल्म पनि मनोनयनमा परेका छन्।
- लियोनार्डो डिकाप्रियोले छैटौँ पटक उत्कृष्ट अभिनेताको मनोनयन पाएका छन् र यस वर्षदेखि 'बेस्ट कास्टिङ' विधा थपिएको छ, साथै ओस्करका रोचक तथ्यहरू पनि उल्लेख गरिएका छन्।
लस एन्जलस । विश्व चलचित्र जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार ९८औँ एकेडेमी अवार्ड्स (ओस्कर) मार्च १६ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुँदैछ। नेपाली समय अनुसार सोमबार बिहान यसको प्रत्यक्ष प्रसारण सुरु हुनेछ।
यस वर्षको ओस्करमा हलिउड फिल्म ‘सिनर्स’ले कीर्तिमानी १६ वटा विधामा मनोनयन पाएर विश्वभर चर्चा कमाएको छ।
सिनर्सले तोड्न सक्छ टाइटानिकको रेकर्ड
अमेरिकी फिल्म सिनर्स ओस्करको इतिहासमा सबैभन्दा धेरै १६ मनोनयन पाउने पहिलो फिल्म बनेको छ। यसअघि टाइटानिक र ला ला ल्यान्डले १४–१४ मनोनयनको रेकर्ड राखेका थिए।
यदि यस फिल्मले ११ भन्दा बढी विधामा अवार्ड जित्न सफल भयो भने यो ओस्कर इतिहासकै सबैभन्दा धेरै पुरस्कार जित्ने फिल्म बन्नेछ। हाल यो रेकर्ड टाइटानिक, बेन–हर र लर्ड अफ द रिङ्ग्स (११–११ अवार्ड) को नाममा छ।
प्रियंका चोपडा र भारतीय मूलकी गीताको चर्चा
यस वर्ष भारतबाट कुनै पनि फिल्म मनोनयनमा नपरे पनि भारतीय मूलका कलाकारहरूको उपस्थिति बलियो छ। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले २०१६ पछि पुनः एकपटक ओस्कर अवार्ड प्रिजेन्टरको रूपमा स्टेज सम्हाल्नेछिन्। उनी दुई पटक ओस्कर प्रिजेन्टर बन्ने पहिलो भारतीय कलाकार हुन्।
त्यस्तै, भारतीय मूलकी फिल्ममेकर गीता गन्दभीरका दुईवटा डकुमेन्ट्री फिल्म ‘द परफेक्ट नेबर’ र ‘द डेभिल इज बिजी’ फरक–फरक विधामा मनोनयनमा परेका छन्।
लियोनार्डो डिकाप्रियोको छैटौँ मनोनयन र नयाँ विधाको सुरुवात
प्रख्यात अभिनेता लियोनार्डो डिकाप्रियोले फिल्म ‘वान ब्याटल आफ्टर अनदर’ का लागि छैटौँ पटक उत्कृष्ट अभिनेताको मनोनयन पाएका छन्। उनको यस फिल्मले कुल १३ विधामा मनोनयन पाएको छ। ओस्करको इतिहासमा यसै वर्षदेखि बेस्ट कास्टिङ विधा पनि थपिएको छ। कास्टिङ निर्देशकहरूको कामलाई सम्मान गर्न पहिलो पटक यो विधा समावेश गरिएको हो।
ओस्करका केही रोचक र विवादास्पद तथ्यहरू
सुरुवात र नाम: ओस्करको सुरुवात सन् १९२९ मा भएको थियो र पहिलो समारोह मात्र १५ मिनेट चलेको थियो। सन् १९३९ देखि मात्र यसलाई ‘ओस्कर’ भन्न थालिएको हो।
कुकुरलाई अवार्ड: पहिलो ओस्कर समारोहमा एउटा तालिमप्राप्त जर्मन शेफर्ड कुकुर रिन टिन टिनलाई अवार्ड दिने सोच बनाइएको थियो, तर पछि समाजमा गलत सन्देश जाने भन्दै मानिसलाई नै दिइयो।
विल स्मिथको थप्पड: सन् २०२२ मा अभिनेता विल स्मिथले स्टेजमै होस्ट क्रिस रकलाई थप्पड हानेको घटना ओस्करको इतिहासमा सबैभन्दा बढी विवादित बनेको थियो।
ट्रफी चोरी र फोहरको थुप्रो: सन् २००० मा ५५ वटा ओस्कर ट्रफी चोरी भएका थिए, जसमध्ये ५२ वटा पछि फोहरको थुप्रोमा फेला परेका थिए।
गलत घोषणा: सन् २०१७ मा खाम साटिएका कारण मूनलाइटको सट्टा ला ला ल्यान्डलाई बेस्ट पिक्चर घोषणा गरिएको थियो, जसलाई पछि सच्याइयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण