कामरेडको उडे–उडेको अनुहार
सारांश
- समाचारमा सत्तामा रहँदा र सत्ताबाट बाहिरिँदा एक नेताको व्यवहार र अभिव्यक्तिमा आएको परिवर्तनको विश्लेषण गरिएको छ।
- लेखमा ती नेताको सत्ता मोह, विदेशी शक्तिप्रतिको दृष्टिकोण र विगतका घटनाहरूबारे चर्चा गरिएको छ।
- नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास काण्ड जस्ता विषयहरूमा नेताको संलग्नता र त्यसपछिका घटनाहरूको विवरण प्रस्तुत गरिएको छ।
कामरेडले पहिरिएको झकास दौरा सुरुवाल र शिरमा टपक्क परेको टोपी । पाउमा सजिएका टिलिक्कका जुता । साइरनसहितका गाडी र सुरक्षाकर्मीहरुको लावालस्कर । बालुवाटार होस् वा सिंहदरबार ः हरेक कोठामा खटिएका अनेकौँ किसिमका सेवादार र अनुचर । धनाढ्य व्यापारी–व्यवसायी र विदेशी पाहुनाको बिहानदेखि बेलुकीसम्म घुइँचो । भाँती–भाँतीका उद्घाटन र शिलान्यास । दशथरी गोष्ठी–सम्मेलन । जनता–जनार्दनबाट जयजयकार ।
खादामाला र अवीर बाजा–गाजासहितको राजसी सवारी । बाबा रामदेवको पतञ्जलि टिभी उद्घाटनदेखि गाउँपालिका भवनका उद्घाटनहरूको भ्याई नभ्याई । सदासर्वदा करविन्ती मुद्रा धारण गरेका र हातमा फाइल लिएर ओहोरदोहोर गर्ने उच्च ओहोदाका हाकिमहरू । कामरेडको खुलेको मुहार र मुखबाट निस्किने संवाद कैद गर्न तँछाडमछाड गरिरहेका दर्जनौँ टेलिभिजन क्यामेराहरू । सरुवा बढुवा, नियुक्ति र ठेक्कापट्टाका फरियादीहरुको बालुवाटार र सिंहदरबारका कोठा–कोठामा जमघट । गजबको शानमान र सम्मान । खातैखात महँगा उपहार । महँगा विदेशी ब्रान्डका रक्सीको थुप्रो । अनि बिहानीदेखि राति अबेरसम्म जनता, राष्ट्र र क्रान्तिको ‘सेवा’ गरेर लखतरान भएपछि लाग्ने मिठो निद्रा ।
झनै आकर्षक विदेश भ्रमणहरू ! राता कार्पेट । सलामी । विदेशी राजधानीका सबैभन्दा महँगा होटेलका महँगा सुइटहरुमा बसाई । मिनेट–मिनेटको कार्यक्रम तालिका । उच्चकोटिको स्वागत सत्कार । चमचमाउँदा ब्लेक लिमोजिन र मर्सिडिज । दिव्य–भव्य राजकीय भोज र चियर्सका मधुर स्वरहरू । मिटिङका मिटिङ । ‘वान–अन–वान’ गोप्य मन्त्रणा । ठुल्ठुला राष्ट्रिय–अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल । दिनभरको व्यस्त कार्यक्रमपछिको मिठो रात्रि विश्राम !
ती पनि क्या दिनहरू थिए ! सबैलाई त्यस्तो हुँदैन, तर किन हो कुन्नि कामरेडका लागि सत्ताको त्यो आकर्षण घातक र नशालु साबित हुन पुग्यो । सत्ताबाट बिछोड हुँदा कामरेडलाई एक वर्षसम्म निकै सकस र छटपटी भयो । एक वर्षसम्म निरन्तर् खपिनसक्नुको औडाहा भयो । भाउन्न भयो । बेचैनी भयो । एक वर्षसम्मका भाषणहरूमा कामरेडको त्यो बेचैनी दुनियाँले बुझ्ने गरी प्रकट भयो । विगतमा कामरेडका साझेदार दुई सरदार पनि सत्ताबाट हुत्तिएका थिए तर उनीहरू सन्तुलित, संयमित र शालीन नै देखिएका थिए । तर कामरेडचाहिं निकै नै बेचैन देखिए । शायद उनलाई अनुमान भैसकेको थियो कि अब कहिल्यै पनि ती दिनहरू फर्किने छैनन् ।
अकस्मात् एमाले–कांग्रेसले गठबन्धन सरकार बनाएपछि २०२४ जुलाई १२ मा कामरेड सडकमा पछारिन पुगेका थिए । त्यससँगै ‘राप र ताप’ ले भरिएको कामरेडको जीवनचर्याको लय भंग भयो । अब कामरेडको मुहारमा ‘श्रृंगार रस’ को कान्ति होइन ‘रौद्र रस’ र ‘भयानक रस’ को भद्दापन प्रकट हुन थाल्यो । ‘रौद्र रस’ मा क्रोध हुन्छ भने ‘भयानक रस’ मा भय र डर दुवै हुन्छन् । ‘श्रृंगार रस’ लाई ‘रौद्र रस’ले विस्थापित गरे पछि १२ बुँदेका हिजोसम्मका लोकतन्त्रवादी काँग्रेस र एमालेहरु ‘साझेदार’ होइन, दलाल र बिचौलियाका ‘सरदार’ देखिन थाले । जुन दलहरूको भर्याङ चढेर २०७५ र २०७९ को चुनावमा केही सिट लिएर संसद र सरकारको यात्रा सम्भव भएको थियो तिनै दलमाथि कामरेडका मुखबाट गाली बर्सिन थाले । जोसित मिलेर कामरेडलाई तीन–तीनपटक प्रधानमन्त्री बन्ने संयोग जुरेको थियो तीनै दलहरु रातारात दलाल र प्रतिक्रियावादी बन्न पुगेका थिए ।
आफूलाई समर्थन गर्दासम्म लोकतन्त्रवादी समर्थन फिर्ता लिएपछि दलाल र विचौलिया ! संसदीय खेलमा कतै फिट नखाने कामरेडको यो विचित्रको हुङ्कार थियो । बहिर्गमनबाट पैदा भएको छटपटीका बिच ‘एमाले–कांग्रेसका ठुला नेतासँग जोडिएका फाइलहरू धमाधम आफ्नो सरकारले खोल्न थालेपछि आत्तिएर सरकार गिराएको’ भाष्य तयार भयो । तर, कामरेडले बडो जतनका साथ तयार पारेको त्यो स्क्रिप्टमा कुनै दम थिएन । त्यसले उनलाई नै गिज्याईरहेको थियो । प्रश्न कामरेडतिर नै तेर्सिएको थियो : यदि कांग्रेस–एमाले भ्रष्टाचारकै मतियार र बिचौलियाका सरदार थिए भने दुई दशकसम्म उनीहरू कसरी प्रिय भए ? नक्कली भुटानी शरणार्थी काण्डको वास्तविकता यो हो कि पत्रिकाले २७ अप्रिल २०२३ मा यो काण्ड उजागर गरेपछि यो विश्वव्यापी बनेको थियो । नेपालीहरुलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने विषय अमेरिकी प्रशासनका लागि त्यहाँको सुरक्षासँग प्रत्यक्ष जोडिएको मुद्दा भएको हुनाले यसलाई सरकार वा मातहतको कुनै पनि निकायले लिपापोती गर्न सम्भव थिएन । त्यसो भएको खण्डमा अमेरिकी शक्तिशाली गुप्तचर निकाय एफ.बि.आई. ले हस्तक्षेप गर्ने पक्का थियो । यसै सन्दर्भमा अमेरिकी प्रशासनका ‘ग्लोबल एन्टी करप्शन’ प्रमुख रिचर्ड नेफ्युले वर्ष २०२३ मा अगस्टको तेस्रो साता नेपालको भ्रमण गरेका थिए । त्यसैगरी ललिता निवास काण्डका अभियुक्त विरुद्ध फेब्रुअरी २०२० मा ओली सरकारको कार्यकालमै अख्तियारमा मुद्दा दर्ता भएको थियो । जसमा अनुसन्धान अन्तिम चरण अर्थात् अभियुक्तहरूको गिरफ्तारीको चरणमा पुगिसकेको थियो । यसमा पनि कसैले ढाकछोप गर्न सम्भव थिएन ।
माओवादीले दाबी गरेजस्तै दलका एक–दुई थान नेता र एकाध उच्च ओहोदाका नोकरशाहहरुलाई भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्डमामा जेल पठाएर कुनै बहादुरीको काम भएको थियो त ? बिलकुलै थिएन । विगतमा पनि अनेकौँ पटक राज्यका उच्च ओहोदामा बसेका पदाधिकारीहरू जेल बसेका अनेकौँ उदाहरण छन् । उदाहरणका लागि दरबारको शासनकालमा चालीसको दशकमा राजकुमार धीरेन्द्रका पार्श्ववर्ती भरत गुरुङ र आइ.जी.पी. डी.बी. लामा लागु औषध ओसारपसार र भ्रष्टाचारको मुद्दामा जेल परेका थिए । ती उच्च अधिकृतहरू पञ्चायतकालमा अत्यन्त शक्तिशाली थिए । त्यसैगरी नेपाली कांग्रेसका नेताहरू गोविन्दराज जोशी, जयप्रकाश प्रसाद गुप्ता र खुमबहादुर खड्काहरु पनि आफ्नै दलको सरकार हुँदा भ्रष्टाचारको अभियोगमा कैयौँ वर्ष जेलमा थिए । जयप्रकाश प्रसाद गुप्ता त कुनै समयमा गिरिजाबाबुका खास नै थिए ।
केही दिन पहिले मात्र कामरेडले ‘नयाँ भनिनेहरू देशी विदेशी शक्तिबाट’ परिचालित भएको उद्गार व्यक्त गरे । ओली–देउवाले त्यसो भनेको भए शायद केही सुहाउँथ्यो पनि किनकि उनीहरू कहिल्यै पनि विदेशी भूमिमा बसेर जनयुद्ध सञ्चालन गरेका थिएनन् । जब–जब सत्ताबाट बाहिरिनु पर्छ तब–तब कामरेडले विदेशी शक्तिहरूको राप अलाप्ने गर्दछन् । हेक्का रहोस्,अस्ति भर्खरै उनी दिल्लीबाट प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सुरक्षा सल्लाहकारलाई भेटेर फर्केका हुन् । सन् २००९ मा पहिलो सरकारबाट बेइज्जतपूर्वक हट्दा पनि उनले विदेशी शक्तिको हात देखेका थिए । पहिलो माओवादी सरकारबाट बाहिरिएपछि डिसेम्बर २००९ मा राजधानीको बानेश्वरमा आयोजित सभामा विदेशी प्रभु सामु नझुक्ने वाचा गरेका थिए । उनले अब प्रष्ट हुने गरी बुझेका छन् कि अब फेरी कहिल्यै त्यो सत्तासुख आफूलाई प्राप्त हुने छैन । शायद रुकुमको र्यालीमा कमरेडको अनुहारमा पहिले देखिएको ‘रौद्र रस’ र त्यसपछि अनुहारमा प्रकट भएको ‘करुण रस’ यसकै अभिव्यक्ति थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण