बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जब १७ वर्षीय किशोरले प्रेममा धोका पाए...

आइतबार, ०१ चैत २०८२, १९ : ००
आइतबार, ०१ चैत २०८२

सारांश

  • रुकुम पश्चिममा एक १७ वर्षीय किशोरले प्रेममा धोका खाएपछि पुलबाट हाम फालेर आत्महत्या गरे।
  • मृतकले सामाजिक सञ्जालमा युवतीसँगको तस्बिर राख्दै आत्महत्याको कारण प्रेम सम्बन्ध रहेको उल्लेख गरेका थिए।
  • प्रहरीले घटनाको अनुसन्धान गर्दै ती किशोरीलाई नियन्त्रणमा लिएको छ, र युवतीले पनि हाम फाल्न खोजेको खुलेको छ।

सुर्खेत । रुकुम पश्चिममा एक जना १७ वर्षे किशोरले प्रेममा धोका पाएको भन्दै झोलुङ्गे पुलबाट हामफालेका छन् । त्रिवेणी गाउँपालिका—१०, टोट्केका १७ वर्षीय महेन्द्र ओलीले सदरमुकाम मुसिकोटको बराहटाकुरा झोलुङ्गे पुलबाट हाम फालेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि पुनका अनुसार, गएराति १२ बजेतिर करिब २ सय मिटर अग्लो झोलुङ्गे पुलबाट हामफाल्दा ओलीको मृत्यु भएको छ । यद्यपि प्रहरीलाई करिब ३ बजेतिर खबर आएको पुनले बताए ।

‘हामीलाई स्थानीयले ३ बजे खबर गर्नुभयो, त्यसपछि हाम्रो टोली पुगेर लासलाई मुचुल्का गरी अहिले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पुठाएका छौँ,’ उनले रातोपाटीसँग भने ।

पुनका अनुसार १७ वर्षीय ओलीले मृत्युको बाटो रोज्नुका पछाडि प्रेम सम्बन्ध नै रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृतक ओलीको सामाजिक सञ्जाल (फेसबुक)मा गरिएको पोस्टले समेत यस आशंकालाई जोड दिएको प्रहरीको भनाइ छ ।

ओलीले १५ घण्टा अघि गरेको पोष्टमा एक युवती र आफ्नो तस्बिर एकसाथ राखेर उसकै कारण मृत्युको बाटो रोज्न थालेको उल्लेख गरेका छन् । ‘पहिला माया गर्छु भनेर आस देखायो, मन्दिर नि लग्यो, उसले सबैलाई यस्तै गर्दो रहेछ,’ उनले भनेका छन्, ‘सुरु सुरुमा माया गरेजस्तो गर्ने, पुरानो हुँदै गएपछि बानी व्यवहार मन परेन रे ।’

उनले उक्त पोष्टमा आफ्ना आमाबुबा र दिदीलाई सम्झिँदै लेखेका छन्, ‘यसलाई सजाय दिनु होला, अनिमात्र मेरो आत्माले शान्ति पाउँछ ।’

उक्त पोष्ट गरेको केही घण्टामै पुलबाट हामफालेर ओलीले मृत्युको बाटो रोजेको प्रहरीले जनाएको छ ।

प्रहरीले ती किशोरलाई धोका दिएको भनिएकी किशोरीलाई नियन्त्रणमा लिएको छ । ‘अहिलेसम्मको अनुसन्धानबाट प्रेम सम्बन्धकै कारण अप्रिय निर्णय गरेको देखिन्छ,’ रुकुम पश्चिम प्रहरीका सूचना अधिकारी पुनले भने ।

उनका अनुसार ती युवती पनि हामफाल्न खोजेकी थिइन् । ‘स्थानीयले जोगाएको रहेछ,’ उनले भने ।

महेन्द्र ओली पढाइको सिलसिलामा त्रिवेणीबाट सदरमुकाम गएका थिए । कक्षा १२ मा अध्ययनरत उनी आठबिसकोटतिरकी ती किशोरीको प्रेममा परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप