बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आगामी निर्वाचनमा प्रतिपक्षविहीन हुने गरी जनमत ल्याउनुपर्छ : उपसभापति अर्याल

मङ्गलबार, ०३ चैत २०८२, १४ : ४८
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • रास्वपा उपसभापति अर्यालले आगामी निर्वाचनमा प्रतिपक्ष नहुने गरी नतिजा ल्याउन सांसदहरूलाई निर्देशन दिए।
  • उनले हरेक जनप्रतिनिधिले नतिजामुखी काम गर्नुपर्ने र विदेशमा रहेका नेपालीलाई फर्काउने वातावरण बनाउनुपर्ने बताए।
  • अर्यालले पार्टीभित्रको आन्तरिक द्वन्द्वबाट टाढा रहन र सामूहिक मिहिनेत आवश्यक रहेको कुरामा जोड दिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आगामी पाँच वर्षमा जनताको पूर्ण विश्वास जितेर अर्को निर्वाचनमा प्रतिपक्ष नै नहुने गरी नतिजा ल्याउनुपर्ने बताएका छन्। ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अर्यालले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले रास्वपालाई मात्रै मतदान गर्ने वातावरण सिर्जना गर्न सांसदहरूलाई निर्देशन दिएका हुन्। 

उनले यो लक्ष्य हासिल गर्न केवल भाषण वा सीमित नेताको दौडधुपले मात्र सम्भव नहुने भन्दै हरेक जनप्रतिनिधिले आफ्नो स्थानबाट नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए।

उपसभापति अर्यालले निर्वाचनमा पार्टीले प्राविधिक जित हासिल गरे पनि देश र जनताले वास्तविक जित महसुस गर्न अझै बाँकी रहेको धारणा राखे। अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचारको पूर्ण अन्त्य गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ। 

विशेष गरी दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभूति गराउन र 'मेरा लागि सरकार छ' भन्ने विश्वास दिलाउन रास्वपाका सांसदहरू जिम्मेवार हुनुपर्ने उनले बताए। विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनु पार्टीको मुख्य प्राथमिकता हुनुपर्ने उनले उल्लेख गरे।

कार्यक्रममा बोल्दै अर्यालले सांसदहरूलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित गर्न आग्रह गरे। अहिलेको समयलाई इतिहास लेख्ने 'स्वर्ण अवसर' को रूपमा व्याख्या गर्दै उनले यसलाई सदुपयोग गर्न नसके भविष्यमा आफैँलाई माफ गर्न गाह्रो हुने चेतावनी दिए। 

उनले पार्टीभित्र हुनसक्ने आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहन समेत सबैलाई सचेत गराए। देश निर्माणमा हरेक मिनेट लगानी गर्नुपर्ने भन्दै उनले नयाँ राजनीतिक सन्देश दिन सबै सांसदहरू एकजुट हुनुपर्ने बताए।

अर्यालले हालको जनादेश पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहप्रतिको भरोसाका कारण प्राप्त भएको स्वीकार गरे। तर, आगामी दिनमा यो भरोसालाई जोगाउन र पार्टीलाई पहिलो बनाउन सबै सदस्यहरूको सामूहिक मिहिनेत आवश्यक रहेको उनको तर्क छ। 

सभापति र वरिष्ठ नेतालाई मात्रै अगाडि सारेर नतिजा नआउने भन्दै उनले हरेक सांसदले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट नतिजा निकालेर जनताको मन जित्नुपर्नेमा जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप