बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीमा दुई पूर्व मुख्यमन्त्रीबिच भेटघाट : प्रदेश सरकारदेखि गठबन्धनका विषयमा छलफल

यामलालले जीवनलाई सत्ता हस्तान्तरण नगरे नेकपाले समर्थन गर्ने सम्मको चर्चा
बुधबार, ०४ चैत २०८२, १२ : ०३
बुधबार, ०४ चैत २०८२

सारांश

  • कर्णालीका दुई पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीबीच भेटवार्ता भएको छ।
  • भेटमा प्रदेश सरकारको नेतृत्व परिवर्तन र गठबन्धनबारे छलफल भएको बताइएको छ।
  • अहिले कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन्, तर कांग्रेसले सत्ता छाड्ने धम्की दिँदै आएको छ।

सुर्खेत । कर्णालीका दुई पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीबिच भेटवार्ता भएको छ ।  बुधबार बिहान वीरेन्द्रनगरमा भएको उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

महेन्द्रबहादुर शाही नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कालिकोटमा प्रतिनिधिसभा चुनाव जितेर आएका छन् । उक्त अवसरमा कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बधाई दिएका थिए ।

बधाई दिने संयोग भने पनि भेटघाटका क्रममा प्रदेश सरकारको नेतृत्व फेरबदलदेखि गठबन्धनको विषयमा छलफल भएको स्रोतले रातोपाटीलाई बतायो ।

अहिले कर्णालीमा नेपाली कांग्रेसको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् ।  तर, कांग्रेस-एमालेबिच गठबन्धनको सरकार बनेदेखि नै दुई दलबिच ‘क्यामेस्टि’ मिलेको छैन । कांग्रेस संसदीय दलका नेता शाहीले पटक–पटक सरकार छाड्ने धम्की दिँदै आएका थिए, यसअघि ।

कांग्रेसले सत्ता सञ्चालनमा लगातार बखेडा झिक्ने काम गरेको भन्दै मुख्यमन्त्री कँडेल पनि दिक्क भएको तर पछिल्लो जेनजी आन्दोलनपछि भने दुई गठबन्धन दलबिच समस्या नरहेको चर्चा छ । तथापि मुख्यमन्त्री कँडेलले प्रतिनिधिसभा चुनावको समयमा कांग्रेसप्रति नकारात्मक टिप्पणी गरेका कुराहरूबारे कांग्रेस संसदीय दलभित्र व्यापक प्रश्न उठेको बताइएको छ । 

यो अवस्थामा दुई दलका शीर्ष नेताहरूबिच भएको भेटघाटमा गठबन्धनदेखि सरकारको नेतृत्वको विषयमा छलफल भएको स्रोत बताउँछ । अहिले कर्णालीमा नेकपा प्रमुख प्रतिपक्ष दल रहेको छ । 

महेन्द्रबहादुर शाही कर्णालीको राजनीतिका संसदीय खेलाडी मानिन्छन् भने अहिले नेकपाभित्र कर्णालीका शीर्ष नेता हुन् । अर्को तत्कालीन अवस्थामा यामलाल कँडेलले अविश्वासको प्रस्ताव ल्याएर महेन्द्रबहादुर शाहीको सत्ता सङ्कट पर्दा त्यो बेलाको प्रतिपक्ष मानिएको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सहयोग गरेका थिए । जसका कारण महेन्द्रबहादुर शाही नेतृत्वको सत्ता बचेको थियो । दुई शाहीबिच विगतमा ‘क्यामेस्टि’ मिल्दै आएको छ ।

स्रोतले भन्यो– अहिलेकै गठबन्धन अनुसार पनि जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पालो हो । केन्द्रमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली जेनजी विद्रोहबाट अपदस् भइसके । उक्त गठबन्धनको औचित्य समाप्त भइसकेर पनि चुनाव भइसक्यो । तर प्रदेशमा सोही गठबन्धन अनुसार एमालेका कँडेल मुख्यमन्त्री छन् । केन्द्रमा भएको सहमति अनुसार, कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने थिए । तर, नेपालको राजनीतिमा धेरै उत्तारचढाव आइसक्यो ।

सोही केन्द्रको सहमतिलाई आधार मान्दा यही महिनाभित्रै कर्णालीका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन् ।

तर प्रदेशमा कुनै त्यस्तो सहमति वा सम्झौता भने छैन । यदि यामलाल कँडेलले सरकारको नेतृत्व नछाडे अर्को तरिकाले सोच्न सकिने विषयमा दुई पूर्वमुख्यमन्त्री बिच कुरा भएको स्रोतले बताएको छ ।

‘सरकार र गठबन्धनको विषयमा के गर्ने, कसो गर्ने भन्ने छलफल भयो,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘जीवनजीको मुख्यमन्त्री बन्ने पालो आयो मुख्यमन्त्री बन्नुस् भनेर महेन्द्रजीले भन्नुभयो ।’

अहिलेकै गठबन्धनले पनि जीवनबहादुर शाहीलाई यामलालले सत्ता हस्तान्तरण गर्ने बेला आयो । 

‘यदि यामलालले छाड्दैनन् भने पुरै समय जीवनले समर्थन गर्ने कुरा सान्दर्भिक भएन,’ स्रोतले छलफलको कुरा उदृत गर्दै थप भन्यो, ‘जीवनजी मुख्यमन्त्री बन्ने भनेर नै प्रदेश झरेको हो, नभए सङ्घ गैहाल्नुहुन्थ्यो ।’

त्यो बेलाको कांग्रेस-माओवादीले पनि जीवनलाई नै मुख्यमन्त्री बनाउने भनेर चुनावमा गएको थियो । तर पछि गठबन्धन बदलियो, कांग्रेस प्रतिपक्षमा बस्नुपर्यो ।

अहिलेको अवस्थामा एमालेले जीवनलाई समर्थन नगरे नेकपा ‘छँदै छ नि’ भन्ने तरिकाले महेन्द्रले कुरा गरेका थिए । 

त्यही विषयमा कुरा भएको बताइएको छ । एमाले- कांग्रेसबिचको गठबन्धनमा ‘क्यामेस्टि’ नमिलेको अवस्थामा नेकपा- कांग्रेसबिच पनि गठबन्धन अगाडी बढाउने विषयमा छलफल भएको स्रोत बताउँछ । महेन्द्रबहादुर शाहीले यो विषयमा जीवनबहादुर शाहीलाई सोच्न भनेका थिए । 

‘यो कुरामा त जीवनजीले सोच्ने कुरा भयो, उहाँ अघि नबढीकन केही हुने कुरा भएन,’ नेकपा निकट स्रोतले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप