बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

भोलि बिहान सांसदलाई प्रमाणपत्र प्रदान गरिने, दिउँसो राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

बुधबार, ०४ चैत २०८२, १४ : ४५
बुधबार, ०४ चैत २०८२

सारांश

  • निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्नेछ ।
  • आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने र पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
  • समानुपातिकतर्फबाट ११० सांसद निर्वाचित हुनेछन् र विभिन्न दलहरूले सिट पाउनेछन् ।

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए । 

‘भोलि बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ,’ प्रवक्ता भट्टराईले रातोपाटीसँग भने । 

समानुपातिकतर्फबाट प्रतिनिधिसभामा ११० सांसद निर्वाचित हुन्छन् । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४/४ सांसद दिने निर्क्याैल गरिसकेको छ । 

आयोगका प्रवक्ता भट्टराईले बिहान प्रमाणपत्र वितरण गरेपछि बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिए । बिहीबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ । 

आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ ।  गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । आयोगले निर्वाचनसम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप