शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेसबुकमा अब एक लाख फलोअर्स हुनेले एक हजार डलरसम्म आम्दानी गर्न सक्ने

बिहीबार, ०५ चैत २०८२, १६ : ३३
बिहीबार, ०५ चैत २०८२

सारांश

  • फेसबुकले क्रियटरहरूलाई आकर्षित गर्न नयाँ कार्यक्रम 'क्रिएटर फास्ट ट्र्याक' ल्याउँदै छ।
  • यस कार्यक्रमले युट्युब र टिकटकका क्रियटरहरूलाई निश्चित भुक्तानी र रिच बढाउन सहयोग गर्नेछ।
  • कार्यक्रममा सहभागी हुन एक लाख फलोअर्स भएको हुनुपर्नेछ र तीन महिनासम्म भुक्तानी प्राप्त हुनेछ।

काठमाडौँ । फेसबुकले क्रियटर फास्ट ट्र्याक नामक नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । यस कार्यक्रमको मुख्य उद्देश्य युट्युब र टिकटकजस्ता लोकप्रिय प्लेटफर्ममा स्थापित क्रिएटरहरूलाई आफ्नोतर्फ आकर्षित गर्नु रहेको बताइएको छ । 

कम्पनीका अनुसार उक्त कार्यक्रममार्फत क्रिएटरहरूलाई निश्चित भुक्तानी प्रदान गरिनेछ भने उनीहरूको कन्टेन्टको रिच बढाएर फेसबुकमै ग्रो गर्न सहयोग गरिनेछ । फेसबुकले जानकारी दिएअनुसार गत वर्ष मात्र आफ्नो मोनिटाइजेसन कार्यक्रम अन्तर्गत क्रिएटरहरूलाई करिब ३ बिलियन डलर भुक्तानी गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो । 

तीन महिनाको ग्यारेन्टेड पेमेन्ट

क्रियटर फास्ट ट्र्याक कार्यक्रमअन्तर्गत सहभागी हुने क्रिएटरहरूले फेसबुकमा शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहने छैन । कम्पनीले उनीहरूको एलिजिबल रिल्सलाई बढी दर्शकसम्म पुर्‍याउने व्यवस्था गर्ने जनाएको छ, जसले फोलोअर्स वृद्धि गर्न सहयोग गर्नेछ । साथै फेसबुकमा यस्ता रिल्स सेयर गर्ने क्रिएटरलाई तीन महिनासम्म भुक्तानी दिइनेछ । 

एक लाख फलोअर्स, एक हजार डलरसम्म आम्दानी 

कार्यक्रममा सहभागी हुनका लागि क्रिएटरसँग इन्टाग्राम टिकटक वा युट्युबमध्ये कुनै प्लेटफर्ममा कम्तीमा एक लाख फोलोअर्स हुनुपर्नेछ । यस्तो अवस्थामा उनीहरूले मासिक करिब एक हजार डलर कमाउन सक्नेछन् । 

त्यस्तै यदि कुनै क्रिएटरसँग १० लाखभन्दा बढी फलोअर्स छन् भने उनीहरूले मासिक ३ हजार डलरसम्म आम्दानी गर्न सक्ने बताइएको छ । 

तुरुन्त मोनिटाइजेसन

यसमा सहभागी हुने नयाँ क्रिएटरहरूले फेसबुकका पुराना सर्तहरू मान्नुपर्ने भने छैन । सामान्यतया आवश्यक पर्ने न्यूनतम फोलोअर्सजस्ता मापदण्डहरू बिना नै उनीहरूले मोनिटाइजेसन टुल्सको पहुँच पाउनेछन्, यसले गर्दा उनीहरूको आम्दानी तत्काल सुरु हुनेछ । 

फेसबुकले स्पष्ट पारेअनुसार तीन महिनाको निश्चित भुक्तानी अवधि समाप्त भएपछि उक्त सुविधा बन्द हुनेछ । तर त्यसपछि पनि क्रिएटरहरूको कन्टेन्टको रिच बढाउने काम जारी रहनेछ, जबसम्म उनीहरूले आफ्नो अडियन्स तयार पार्न सक्दैनन् । 

नयाँ कन्टेन्ट छैन अनिवार्य

कम्पनीका अनुसार यसमा सहभागी हुन अनिवार्य रूपमा नयाँ वा एक्सक्लुसिभ कन्टेन्ट बनाउनुपर्ने छैन । यद्यपि  फेसबुकले क्रिएटरहरूलाई नयाँ र गुणस्तरीय कन्टेन्ट ल्याउन प्रोत्साहन गर्ने जनाएको छ । पुरानो हिट कन्टेन्टलाई पनि फेसबुकमा सेयर गर्न सकिनेछ र त्यसलाई समेत प्राथमिकता दिइनेछ । 

समग्रमा, क्रियटर फास्ट ट्र्याक कार्यक्रममार्फत फेसबुकले अन्य प्लेटफर्ममा लोकप्रिय रहेका क्रिएटरहरूलाई आफ्नो प्लेटफर्ममा ल्याउने रणनीति अघि सारेको स्पष्ट देखिन्छ । मेटाले यो कार्यक्रम कहिले सुरु हुन्छ भन्ने आधिकारिक मिति स्पष्ट नपारे पनि रिपोर्टहरूका अनुसार छिट्टै ल्याउने तयारी भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप