कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन
सारांश
- सुनिता डङ्गोलले कुमारी घरको छानो मर्मत गर्न निर्देशन दिइन्।
- निर्माण पक्षले फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु गरेको छ।
- २०७२ को भूकम्पले कुमारी वहालसहित २१ वटा संरचनामा क्षति पुर्यायो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पानी पर्ने मौसम सुरु हुनुअघि नै (कुमारी वहाल) कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिएकी छन् ।
बिहीबार छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् । बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग गत फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु भएको हो ।
सम्झौता अवधि २०८३ माघ ३० गतेसम्म छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर जीर्णोद्धारका लागि प्रयोग हुने झिँगटी, काठलगायत छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न खुला प्रतिस्पर्धाबाट छानिएको निर्माण पक्षले रु ७१ लाख २४ हजार ६८९ निर्माण कवोल गरेको छ ।
अनुगमनका क्रममा वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले महत्त्वपूर्ण कामलाई उच्च प्राथमिकता दिएर सञ्चालन गरिने बताए । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार वहालको छानो ४६४ वर्ग मिटर क्षेत्रफलको छ । निर्माणकार्य गर्दा पूर्व र उत्तरतर्फको छानोलाई पहिले मर्मत गरिने छ । त्यसपछि मात्र पश्चिम र दक्षिणतर्फको छानो मर्मत गरिने बताइएको छ ।
गएको बर्खायाममा कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न साउन २० गते समिति गठन भएको थियो । अध्ययन समितिले दिएको प्रतिवेदनअनुसार कुमारी घरका नामले चिनिने कुमारी वहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । विसं २०७२ को भूकम्पले हनुमान ढोका दरबार क्षेत्रका १० वटा संरचना ध्वस्त र कुमारी वहालसहित २१ वटा संरचना आंशिक क्षति भएको बताइएको छ ।
कुमारी घरको ऐतिहासिक पृष्ठभूमि
राजा जय प्रकाश मल्लका पालामा विसं १८१४ मा यो वहाल निर्माण गरिएको हो । हनुमानढोका दरबार परिसर, वसन्तपुरस्थित काष्ठकला र वास्तुकलाले सुसज्जित नेवारी शैलीको यो वहाल कुँदिएका थाम, झ्याल, मेथको कलात्मक सौन्दर्यले भरिएको छ । प्रवेश द्वारमा प्रस्तरका जोर सिंह, भित्री भागमा खुला चोक (वहाल), तान्त्रिक भित्तेचित्र संरक्षित तीनतले चौघेरा संरचनासहित झिङ्गटी छाना भएको घर वसन्तपुर क्षेत्रको स्मारक हो । यो घर तलेजु भवानीको अवतार मानिने जीवित देवी श्री कुमारीको निवास हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण