लुम्बिनी प्रदेश सभा : सदस्य र दलको सङ्ख्या घट्यो
सारांश
- प्रतिनिधि सभा निर्वाचनका कारण लुम्बिनी प्रदेश सभाको सदस्य सङ्ख्या घटेको छ, जसमा राजीनामा र दलहरूबीचको एकता मुख्य कारण बनेको छ।
- ८७ सदस्यीय प्रदेश सभा हाल ८३ सदस्यमा झरेको छ, र विभिन्न सांसदहरूले राजीनामा दिएका छन्, जसले गर्दा सिट संख्यामा परिवर्तन आएको छ।
- पार्टी एकता र समायोजनका कारण नेकपाको सिट संख्या बढेको छ भने लोसपाको सिट घटेको छ, र केही सदस्यहरू निर्वाचनमा पराजित भए।
बुटवल । प्रतिनिधि सभा निर्वाचनका कारण लुम्बिनी प्रदेश सभाको सदस्य सङ्ख्या घटेको छ । प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवार बन्न जाने र दलहरूबिच एकता प्रक्रियाका कारण प्रदेशसभा सदस्य सङ्ख्या खुम्चिएको हो ।
८७ सदस्यीय प्रदेश सभा हाल ८३ सदस्यमा झरेको छ । रुपन्देहीका कन्हैया बानियाँ, दाङका धनबहादुर मास्की, बर्दियाका धर्मबहादुर चौधरी र बाँकेकी कृष्णा केसी ‘नमुना’ले प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सङ्ख्या घटेको हो ।
दलहरू बिचको एकताले प्रदेश सभाको समीकरणमा पनि परिवर्तन आएको छ । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबिचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलको सचेतक भगवती अधिकारी बनेकी छन् । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका ३ जना सांसद कानुनी प्रक्रियामार्फत नेकपामा समायोजन भएका छन् ।
निर्वाचन आयोगमार्फत एकता सम्बन्धी पत्र प्रदेश सभामा आएपछि प्रदेश सभामा नेकपाको सङ्ख्या बढेको हो । हाल नेकपाको लुम्बिनी प्रदेश सभामा १३ सिट पुगेको छ । यता नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित धर्मबहादुर चौधरीले प्रदेश सभा छाड्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को सिट पनि घटेको छ । पहिले ३ सिट रहेको लोसपा नेपाल अहिले २ सिटमा सीमित भएको छ । पछिल्लो समय केन्द्रीय स्तरमा लोसपा नेपाल र जसपा नेपालबिच एकता भइसकेको छ । सोही अनुसार लोसपा नेपालका सांसद अब जसपा नेपालमा समाहित हुनेछन् । लोसपा नेपालका कन्हैया बानियाँ प्रदेश सभा छाडेर प्रतिनिधि सभामा निर्वाचित भएसँगै लोसपाको सङ्ख्या घटेको हो ।
- चौधरीको असन्तुष्टि
नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य राजकुमार चौधरी भने पार्टी एकताप्रति असन्तुष्ट देखिएका छन् । केन्द्रमा भएको एकतामा आफू सहभागी नभएको भन्दै उनले तत्काल नेकपामा नजाने प्रतिक्रिया दिए । उनले आफ्नो विचारलाई बेवास्ता गरिएको गुनासो गर्दै अहिले स्वतन्त्र रूपमा जनताको सेवामा लागिरहने बताए ।
यता नेकपामा समायोजन भएकी अर्की सांसद नरमाया ढकालले भने केन्द्रबाट आएको औपचारिक पत्रका आधारमा एकता मान्नुको विकल्प नभएको बताइन् ।
- चार जना बाहिरिए
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएका चार जना प्रदेश सभाबाट बाहिरिएका छन् । फरक–फरक पार्टीबाट ४ जना बाहिरिएकोमा एक जना भने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
लोसपा नेपालबाट प्रदेश सभामा निर्वाचित कन्हैया बानियाँ प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका थिए । उनी लोसपा नेपाल परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए । बानियाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
बाँके क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएकी कृष्णा केसी पार्टी एकताप्रति असन्तुष्ट थिइन् । उनी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेकी थिइन् । यद्यपि उनी निर्वाचित हुन सफल भइनन् । प्रदेश सभाबाट राजीनामा दिएका कारण उनको पद रिक्त भएको छ ।
नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीबाट बर्दिया–२ मा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका थिए । उनी पनि पराजित भए ।
नेकपाका धनबहादुर मास्की प्रदेशमा आर्थिक मामिलामन्त्री समेत बनेका थिए । प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए । उनी पनि प्रतिनिधि सभा निर्वाचनमा पराजित भए । उनी दाङ–३ बाट उम्मेदवार बनेका थिए ।
रुपन्देहीकी भगवती अधिकारी तत्कालीन नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभामा निर्वाचित भएकी थिइन् । पार्टी एकतासँगै उनी अहिले नेपाली कम्युनिस्ट पार्टीको लुम्बिनी प्रदेश सभा संसदीय दलको सचेतक भएकी छन् ।
नेकपाका लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक इन्द्रजीत थारुले तत्कालीन नागरिक उन्मुक्ति पार्टीका ३ जना सांसद पनि औपचारिक रूपमा समायोजन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण