मेरो लागि गाउँ सबैभन्दा ठूलो विश्वविद्यालय हो : अमर न्यौपाने
सारांश
- अमर न्यौपाने नेपाली साहित्यका लोकप्रिय स्रष्टा हुन्, जसले उपन्यास र कथाहरू मार्फत समाजका विविध पक्षहरू उजागर गर्छन्।
- उनको लेखनमा सीमान्तकृत समुदाय, सामाजिक विभेद र मानवीय पीडाका कथा प्रभावकारी रूपमा प्रस्तुत हुन्छन्।
- न्यौपानेको 'सेतो धरती' मदन पुरस्कारबाट सम्मानित भएको थियो र उनले जागिर छाडेर पूर्णकालीन लेखन सुरु गरे।
समकालीन नेपाली साहित्यका लोकप्रिय स्रष्टा हुन् अमर न्यौपाने । विशेष गरी उपन्यास र कथाका माध्यमबाट उनले समाजका विविध पाटाहरू उजागर गर्छन् । सरल भाषा अनि मानवीय संवेदनालाई सूक्ष्म ढङ्गले प्रस्तुत गर्ने शैलीका कारण उनी पाठकमाझ लोकप्रिय छन् ।
उनको लेखनमा विशेष गरी सीमान्तकृत समुदाय, सामाजिक विभेद र मानवीय पीडाका कथा प्रभावकारी रूपमा प्रस्तुत हुन्छन् । २०६६ मा ‘पानीको घाम’ (उपन्यास) बाट नेपाली साहित्यमा उदाएका न्यौपानेको यस कृतिले सोही वर्ष पद्मश्री साहित्य सम्मान पाएको थियो ।
उनको उपन्यास ‘सेतो धरती’ (२०६८) मदन पुरस्कारबाट सम्मानित भएको थियो । न्यौपानेको ‘करोडौँ कस्तुरी’ (२०७२) पनि पाठकमाझ निकै लोकप्रिय छ । उनै अमर न्यौपानेसँग रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानी ।
_zJJmCCzlDD.jpg)
- लेखन यात्रा सुरु गर्दै गर्दा तपाईँलाई प्रेरित गर्ने कुनै विशेष पुस्तक वा लेखक छन् ?
सानो छँदा लेखनाथ पौड्याल, माधव घिमिरे, गुरुप्रसाद मैनाली, डायमनशमशेर राणा, विश्वेश्वरप्रसाद कोइराला, गोविन्द गोठाले, रमेश विकल, पारिजात, इन्द्रबहादुर राई आदिका पुस्तक पढ्दा प्रेरित भएको थिएँ । अहिले पनि प्रेरित हुन्छु । पछिपछि अध्ययनको संसार फराकिलो हुँदै गयो । आफ्ना रुचिअनुसार लेखक र पुस्तक छनोट गर्न थालेँ ।
विश्व साहित्यका पुस्तकले नयाँ आँखीझ्याल दिए । संसारमा चलेका विभिन्न साहित्यिक सिद्धान्त, वाद र प्रवृत्तिहरूको अध्ययनले अझ गहिराइमा पुग्न सघायो । लियो टोल्सटोय, चेखब, हर्मन हेस्से, फ्योदोर दोस्तोभ्स्की, खलिल जिब्रान, नित्से, कामुदेखि खालिद हुसेनी, झुम्पा लाहिरी, किरण देसाई, अरविन्द अडिगा आदि लेखकका आख्यानले ममा विशेष प्रभाव पारेका छन् ।
_unAVpJ1m1x.jpg)
- लेखक बन्ने निर्णय सजिलो थियो कि सङ्घर्षपूर्ण ?
मैले लेखक बन्ने निर्णय कहिल्यै गरिनँ । किनभने, लेखनसँग प्रेम भएको नै मैले थाहा पाइनँ । थाहा पाउँदा प्रेम भइराखेको रहेछ । आफूले प्रेम गरेको क्षेत्र भएर होला मलाई कहिल्यै सङ्घर्ष गर्नु परेको अनुभव पनि भएन । मेरो पहिलो कथा छापिँदा होस् वा पहिलो पुस्तक छापिँदा, मैले दुःख गर्नु परेन । प्रकाशककहाँ धाउनु पनि परेन ।
बरु हालका दिनहरूमा समय दिन नसकेर आफूसँग भएका कच्चा सामग्रीलाई व्यवस्थित गर्न सकेको छैन । प्रकाशक र पाठकहरूले माग गरिरहँदा पनि मैले पाण्डुलिपि दिन सकेको छैन । व्यावहारिक र आफ्नै अल्छ्याइँका कारण यस्तो भएको हो । प्रकाशक र पाठकहरूबाट पाएको प्रेमले म सधैँ धन्य छु ।
_p9xxjyasz2.jpg)
- जागिर छाडेर पूर्णकालीन लेखक बन्छु भन्ने निर्णायक मोड कहिले आयो ?
लेखनतिर कसरी आकर्षित भएँ भन्ने मैले थाहै पाइनँ । जब मैले थाहा पाएँ, त्यति बेला म पूरै आकर्षित भइराखेको रहेछु । लेखन वा साहित्यसँगको प्रेम मसँगै जन्मिएको हो कि जस्तो लाग्छ । आफूसँग भएको कुरा थाहा पाउन पनि समय लाग्दो रहेछ । आँखाले देखिरहेको हुन्छ तर ‘यो त्यही नै हो’ भनेर थाहा पाउन समय लाग्छ । धेरै कुरा हामीसँगै हुन्छन्, तर छन् भन्ने महसुस धेरै पछि मात्र हुन्छ । साहित्य मेरा लागि मुटु, आँखा, कान जस्तै रहेछ । मसँगै थियो, तर महसुस पछि मात्रै गरेँ ।
‘सेतो धरती’ भन्दा अघि ‘पानीको घाम’ उपन्यास आएको थियो । अधिकृतको तलबले त काठमाडौँमा जीविका चलाउन पुग्दैनथ्यो । म त सामान्य जागिरे थिएँ । काठमाडौँमा मःमः पसल निकै चलेको देखेर जीविका चलाउन जागिर छाडेर त्यस्तै पसल चलाउने सोचमा थिएँ म । तीन–चार वर्ष मिहिनेत गरेर पसल राम्रो बनाउने अनि आर्थिक रूपमा बलियो भएपछि लेखनतर्फ लाग्छु भन्ने थियो ।
तर, २०६८ मा प्रकाशित ‘सेतो धरती’ उपन्यासले मदन पुरस्कार पाएपछि मेरो जीवनमा अनौठो कुरा भयो । किताब राम्रो बिक्यो र त्यसले मेरो आर्थिक अवस्था पनि सुधारिदियो । त्यसपछि किताब बिक्ने रहेछ र प्रकाशकहरूले लेख्नका लागि प्रस्ताव (अफर) गर्दा रहेछन् भन्ने थाहा भयो । त्यसपछि कहिल्यै प्रकाशककोमा धाउनु परेन । त्यसै वर्ष जागिर छाडेँ र पूर्णकालीन लेखक बनेँ ।
_HaYsMlP0tT.jpg)
- त्यस्तो महसुस चाहिँ कहिले भयो त ?
सानो छँदा आमाले ‘गौरी’ लगायत कविताका श्लोकहरू सुनाउनुहुन्थ्यो । गर्मीको मौसममा घरअगाडिको निमको ठूलो रुखमुनि बसेर बा ‘नासो’ का कथा पढेर सुनाउनुहुन्थ्यो । तिनताका बिजुली आइसकेको थिएन । त्यस्तो गर्मीमा पनि हामी धुलोमाटोमा खेलिरहेका हुन्थ्यौँ । तर जब बा कथा पढ्नुहुन्थ्यो, उहाँको स्वरले हाम्रो खेललाई जित्थ्यो । म नजिकै आएर कथा सुन्न बस्थेँ ।
म सात कक्षामा पढ्थेँ । एक दिन बाको सिरानीमुनि ‘नासो’ भेटेँ । घरमा कोही नभएको बेलामा सरक्क किताब झिकेर बार्दलीमा बसेर मैले त्यो किताब पढेँ । एकातिर कति बेला बा टुप्लुक्क आइपुग्ने हो भन्ने भय, अर्कातिर मार्मिक कथा । मैले डरकै बीच कथा पढेँ । पढ्दै गर्दा म धेरै पटक रोएँ ।
- ‘सेतो धरती’ लेख्दै गर्दा तपाईँभित्रको मानसिक उतारचढाव कस्तो रह्यो ?
मेरो बाको माइजू, जसलाई म हजुरआमा भन्थेँ, उहाँ बालविधवा हुनुहुन्थ्यो । नौ वर्षमा विवाह भएकी उहाँ एघार वर्षमा विधवा हुनुभयो । उहाँले मलाई आफ्नै हजुरआमाले भन्दा बढी माया गर्नुहुन्थ्यो । उहाँलाई भेट्न म देवघाट गइराख्थेँ । त्यति बेला यसैमा लेख्छु भन्ने केही निधो थिएन । तर ती कुराहरू मेरो मनमा कतै गुम्सिरहेका थिए । उहाँ बितेपछि यसै विषयमा लेख्छु भन्ने सोच आयो । मलाई उहाँको जीवनका सबै उतारचढाव थाहा थिएन । उहाँको जीवन सङ्घर्ष थाहा पाउन पनि म देवघाट जानै पर्ने भयो । त्यहाँ गएर त्यो समुदायको मानसिक, सांस्कृतिक, सामाजिक वा मनोवैज्ञानिक सङ्घर्षलाई आत्मसात् गर्न थालेँ ।
_jSrUFg9KYl.jpg)
- तपाईँको उपन्यासमा उभिएका सशक्त महिला पात्रहरूलाई जानाजान बलियो बनाउनुभएको हो वा कथा लेख्दै जाँदा उनीहरू स्वतः बलिया बन्दै गएका हुन् ?
कहिलेकासो मलाई ‘महिलालाई कमजोर वा पुरुषलाई यति धेरै असल किन देखाएको?’ भनेर प्रश्न गरिन्छ । तर मलाई त समाजको यथार्थ देखाउनु मात्रै छ, उपदेश दिनु छैन । मलाई मेरो लेखनबाट समाज परिवर्तन गर्नु छैन । तर यसको अर्थ यो होइन कि चेतना दिनु छैन ।
तपाईँले पानीको मूल फुटेको देख्नुभएको होला । पानीको मूल कसैको तिर्खा मेटाउनका लागि फुटेको होइन । न त त्यसले बिरुवालाई सिँचित गरेर हराभरा गराउँछु भन्ने सपना बोकेको हुन्छ । लेखकका रूपमा मेरा पनि सीमा छन् । त्यसैले मलाई लाग्छ, जसरी मूल फुट्छ म पनि त्यसरी नै फुट्न सकूँ । यति भएपछि कसैलाई बलियो बनाऊँ वा कसैलाई कमजोर बनाऊँ भन्ने आग्रह बोकिराख्नु पर्दैन ।
- पछिल्लो समय कुन विधामा वा क्षेत्रमा लेखियोस् भन्ने लाग्छ ?
नेपालमा १२४ भाषा छन् । यसको अर्थ १२४ किसिमका सांस्कृतिक रहनसहन र परम्पराहरू छन् । राई भाषा मात्रै २६ प्रकारका छन् र प्रत्येकको आ–आफ्नै संस्कृति र जीवनशैली छ । हामीसँग त लेख्नका लागि अनेकन विषय छन् । लेखकको काम भनेको यिनै सांस्कृतिक कथाहरूमाथि लेख्नु हो । मानिस आदिम कालदेखि आजसम्म विकसित हुँदै आएको छ, तर बाघ, हात्ती, गैँडा उस्तै छन्, किनकि उनीहरूसँग भाषा र संस्कृति छैन । तर मानिस त आफ्नो सभ्यता र संस्कृतिसँग जोडिएको छ ।
नेपाल यही विविधतामा अत्यन्त समृद्ध छ, र यही नै लेखनको मुख्य विषय हो । एकपटक माइकल हर्टले मलाई भनेका थिए, ‘तपाईँको देशमा लेख्नका लागि यति धेरै विषय छन्, हाम्रोमा त त्यति छैन ।’ वास्तवमा, हामी जति विकसित हुँदै जान्छौँ, त्यति नै हाम्रा सांस्कृतिक पक्षहरू हराउँदै जान्छन् । यो सांस्कृतिक विरासत जोगाउन सक्यौँ भने ती झन् मूल्यवान् बन्छन् ।
_JMbEpDnjcE.jpg)
- तपाईँको सुरुवाती कृतिहरूमा ग्रामीण संवेदनाहरू झल्किन्छन् तर पछिल्लो लामो समयदेखि सहरमा बसिरहनुभएको छ । के यसले तपाईँको लेखनमा विरोधाभास जन्माएको छ ?
तपाईँले उठाएको प्रश्नले लेखनमा परिवर्तन त आउँछ । तर मेरा लागि गाउँ नै सबैभन्दा ठूलो विश्वविद्यालय हो । गाउँमा जीवन खुला हुन्छ । जहाँ म जन्मिएँ, हुर्किएँ, बढेँ, त्यहाँका प्रत्येक मानिसका कथा मलाई थाहा हुन्थ्यो । गाउँमा कसको घरमा के भइरहेको छ, कसको जीवन कस्तो छ—सबै कुरा खुला किताब जस्तै हुन्छ । तर सहरमा त्यस्तो हुँदैन । एउटै घरमा बस्ने छिमेकीसँग पनि बोलचाल हुन्न । म बबरमहलमा बस्दा छिमेकीसँग मुस्कान साट्नेबाहेक कहिल्यै संवाद भएन ।
त्यसैले उनीहरूको जीवनबारे केही थाहा पाइएन । गाउँमा जस्तो सामाजिक रूपमा बाँच्ने बानी सहरमा आएर हराउँदै गयो । सहरले मान्छेलाई बिस्तारै ‘निजी’ बनाउँछ । यहाँ प्राइभेसीको कुरा आउँछ—काम नभई कसैको घर किन जाने, कसैसँग किन बोल्ने भन्ने सोच हावी हुन्छ । देख्दा मुस्कुराइन्छ, तर त्यसभन्दा अगाडि सम्बन्ध बढ्दैन । यसरी सहरले मान्छेलाई केही हदसम्म एक्लो र सुस्त बनाउँछ । लेखनका सन्दर्भमा कुरा गर्ने हो भने गाउँ अझै पनि आकर्षक छ ।
- पठन संस्कृतिको कुरा गर्दा तपाईँलाई कस्तो पुस्तकले प्रभावित पार्दो रहेछ ?
साहित्यमा रुचि भएर मात्र साहित्य लेख्न सकिँदैन । रुचिलाई जगाइराख्न अनेक तत्त्व आवश्यक पर्छन् । तीमध्ये पठन पनि महत्त्वपूर्ण तत्त्व हो । राम्रा पुस्तकहरू पढ्दा मैले पनि यस्तै लेख्न पाए हुन्थ्यो भन्ने लाग्छ । सानैदेखि यस्तै लाग्थ्यो । त्यसैले पठनको भूमिका महत्त्वपूर्ण छ । विशेष गरी मलाई सांस्कृतिक, सामाजिक, आध्यात्मिक र मनोवैज्ञानिक विषयमा लेखिएका साहित्यले बढी प्रभाव पारेका छन् ।
_lcIFrbeVNh.jpg)
- तपाईँको नयाँ किताब जन्मिने प्रक्रिया कसरी सुरु हुन्छ ? त्यसबारे हाम्रा पाठकलाई केही बताइदिनुस् न ।
प्रत्येक पुस्तकको डिजाइन र रचना प्रक्रिया फरक–फरक छन् । पहिलो पुस्तकमा मैले जुन प्रक्रिया अपनाएँ, दोस्रोमा त्यो विधि अपनाइनँ । तेस्रो र चौथोका विधि फरक रहे । मानिस जस्तै प्रत्येक पुस्तक पनि फरक–फरक हुन्छन् । तिनको अनुहार र व्यवहार बेग्लै हुन्छन् । लेखकले त्यहीअनुसार काम गर्नुपर्छ ।
‘पानीको घाम’ को कुरा गर्ने हो भने सुरुवात र अन्त्य नेपालगन्ज जानुभन्दा पहिले नै लेखेको थिएँ । त्यो पुस्तकको सैद्धान्तिक धरातल, वैचारिक धागो र दर्शनको आधार तयार गरेर नेपालगन्ज गएको थिएँ । दुई महिना नेपालगन्ज बसेर त्यहाँको समाज र मानिसहरूको स्थलगत अध्ययन गर्दै त्यो पुस्तक लेख्दा लागिरह्यो— मैले डिजाइन गरेको घरका लागि गिटी, बालुवा, ढुङ्गा, माटो, रड, सिमेन्ट जम्मा गरिरहेको छु ।
_RUR1q5Qsao.jpg)
- अन्त्यमा पाठकबाट पाएको सबैभन्दा रोचक प्रतिक्रिया बताइदिनुस् न ।
धेरै छन् । सबै लेख्ने हो भने त किताबै बन्ला । एक दशकअघि गोरखाको हर्मीभन्ज्याङमा गएको थिएँ । महेन्द्रलीला माविको स्वर्णजयन्तीका अवसरमा साहित्यिक कार्यक्रम थियो । त्यहाँ आठ दशक कटेकी एक बूढीआमा लौरो टेक्दै मेरा सामु आउनुभयो र रोकिनुभयो । सिधा उभिन खोज्नुभयो तर उहाँको कुप्री परेको शरीरले साथ दिएन । शिर मात्र उठाएर दाहिने हातले मेरो देब्रे गालामा प्रेमपूर्वक छुनुभयो र भन्नुभयो, ‘तिम्रो किताब सेतो धरती हो भन्ने मैले सुनेकी छु ।’
उहाँलाई मैले ‘युट्युबमा सुन्नुभयो आमा?’ भनी सोधेँ । उहाँले भन्नुभयो, ‘दसैँमा घर आउँदा ठूली नातिनीले किताब ल्याएकी छे, पढिदे न सुन्छु भनेको मानिन तर सानी नातिनीलाई पढ्न लगाएर तिम्रो किताब स्वस्थानीझैँ सुनेँ । हाम्रो पालाको कुरा आफैँले देखेझैँ कसरी लेख्यौ बा!’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण