भक्तपुरको दुवाकोटमा केएमसीको ‘सुपर स्पेसियालिटी’ सेवा सुरु
सारांश
- भक्तपुरको दुवाकोटमा काठमाडौँ मेडिकल कलेजले अत्याधुनिक उपचार सेवा सुरु गरेको छ।
- डा. शर्माका अनुसार, यस अस्पतालले मुटु, मिर्गौला र मस्तिष्क सम्बन्धी गम्भीर रोगको उपचार गर्नेछ।
- अस्पतालले ब्रेन स्ट्रोकको उपचारका लागि नवीनतम प्रविधि प्रयोग गर्नेछ, जसले छिटो उपचार सुनिश्चित गर्छ।
भक्तपुर । भक्तपुरको दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालले आफ्नो अत्याधुनिक उपचार सेवा आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालका सञ्चालक एवं प्रतिनिधि सभाका निवर्तमान सांसद डा. सुनील शर्माले एक विशेष समारोहका बिच अस्पतालको सेवा शुभारम्भ गरेका हुन्।
विशेष गरी हृदयघात र मस्तिष्कघात (ब्रेन स्ट्रोक) जस्ता जटिल अवस्थाका बिरामीलाई समयमै उपचार प्रदान गरी ज्यान बचाउने मुख्य उद्देश्यका साथ यो शाखा विस्तार गरिएको डा. शर्माले बताए। दुवाकोट र आसपासका क्षेत्रका बासिन्दाले अब जटिल उपचारका लागि काठमाडौँका सीमित अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
डा. शर्माका अनुसार यो सामान्य अस्पताल मात्र नभई ‘सुपर स्पेसियालिटी’ अस्पताल हो, जहाँ मुटु, मिर्गौला र मस्तिष्क सम्बन्धी गम्भीर रोगको उपचारका लागि विश्वस्तरीय प्रविधि भित्र्याइएको छ। भक्तपुरबाट काठमाडौँका ठुला अस्पताल पुग्न लाग्ने समय र ट्राफिक जामका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै १५ देखि २० मिनेटभित्रै आकस्मिक उपचार सम्भव तुल्याउन यो अस्पताल सञ्चालनमा ल्याइएको उनले दाबी गरे।
अस्पतालले प्रदान गर्ने सेवाहरू नेपालमा आगामी २० वर्षसम्म पनि सहजै उपलब्ध नहुने खालको उच्च प्रविधियुक्त रहेको जिकिर डा. शर्माले गरे। विशेष गरी ब्रेन स्ट्रोक भएर टाउकोको नसा फुट्दा वा ब्लक हुँदा टाउको नचिरीकन हात वा खुट्टाको नसाबाट तार र बेलुन पठाएर गरिने उपचार पद्धति यहाँ उपलब्ध छ। यस्तो प्रविधि काठमाडौँ उपत्यका बाहिरका थोरै स्थानमा मात्र सम्भव रहेको र दुवाकोटमा यसको सुरुवात हुनु गौरवको विषय भएको उनले उल्लेख गरे।
अस्पतालमा जटिल रोगको पहिचान र उपचारका लागि अत्याधुनिक मेसिनहरूको व्यवस्था गरिएको छ। स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने उद्देश्यले अति विपन्न वर्गका बिरामीका लागि निःशुल्क औषधि र उपचारको विशेष व्यवस्था समेत गरिएको अस्पताल प्रशासनले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण