बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनपछि खस्किएको पर्यटन क्षेत्र सरकारी र निजी क्षेत्र मिलेर उकास्नुपर्छ : लाक्पा फुटी शेर्पा

सोमबार, ०९ चैत २०८२, १५ : २४
सोमबार, ०९ चैत २०८२

गत भदौ २३ को जेनजी विद्रोहपछि नेपालको पर्यटन क्षेत्रमा ठुलो क्षति पुग्यो । विदेशी पर्यटकले नेपाल घुम्नका लागि गरेका बुकिङ धमाधम रद्द गरे । कोभिड–१९ पछि लयमा फर्किंदै गरेको पर्यटन उद्योग पुनः मारमा पर्‍यो ।

जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारी तथ्याङ्क छ । सामाजिक सञ्जालमार्फत नेपालको जेनजी आन्दोलनका दृश्य, जेलबाट भागेका कैदी र लुटिएका हतियारबारेका प्रचारले नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्‍यो ।

जेनजी विद्रोहपछि नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसको समाधानका उपाय, नयाँ सरकारले चाल्नुपर्ने कदमबारे पर्यटन व्यवसायी तथा नेपाल माउण्टेन एकेडेमीकी संस्थापक लाक्पा फुटी शेर्पाले रातोपाटीसँग आफ्ना अनुभव बाँडेकी छन् । उनी नेपालको पहिलो माउन्टेन एकेडेमी स्थापना गर्ने प्रमुख संस्थापकमध्ये एक हुन् ।

प्रस्तुत छ, सन् १९९३ मा पासाङ ल्हामु शेर्पासँगै सगरमाथा आरोहण टोलीमा सामेल भई ऐतिहासिक सहकार्य गरेकी शेर्पासँगको कुराकानी:

नेपालमा जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले तत्कालै पर्यटनमन्त्री नियुक्त गरेन । त्यसले गर्दा नेपालले पर्यटन क्षेत्रमा के कस्ता समस्या आइलागे ?

नेपाल सरकारले कहिल्यै पनि पर्यटनलाई प्राथमिकतामा राखेन । अहिले पनि प्राथमिकतामा परेको छैन । जेनजी विद्रोहपछि नेपालको बारेमा नकारात्मक सन्देश फैलियो । आन्दोलन लगत्तै पर्यटनमन्त्री र परराष्ट्रमन्त्री तोकेर विभिन्न देशमा रहेका राजदूत बोलाएर नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सक्नु पर्थ्यो, तर त्यस्तो भएन ।

पर्यटनमन्त्रीको समन्वयमा नेपालको प्रचार प्रसार हुनुपर्थ्यो । जेनजी आन्दोलन पर्यटक र पर्यटनप्रति लक्षित थिएन । पर्यटकलाई जेनजीले सधैँ स्वागत नै गर्छन् । त्यो सकारात्मक सन्देश विश्वभरि गएन । होलिडेमा नेपाल घुम्न आउने पर्यटकहरू डरले गर्दा आउन सकेनन् । मेरो आफ्नै कम्पनीमा दुई–तीन वटा विदेशी पर्यटकको ग्रुपले बुकिङ क्यान्सिल गरे । अन्य धेरै कम्पनीमा बुकिङ क्यान्सिल भए ।

हामीले ‘नेपाल सुरक्षित छ’ भनेर जबाफ फर्काउँदा ‘तपाईंहरूले जिम्मा लिन सक्नुहुन्छ ?’ भनेर उल्टै सोध्छन् । ‘हामीलाई केही पर्‍यो भने तपाईंहरूले जिम्मा लिन सक्नुहुन्छ ? हाम्रो ज्यानको जिम्मा लिन सक्नुहुन्छ ?’ भनेर पर्यटकहरूले उल्टै सोध्नुहुन्छ ।

पर्यटकहरूलाई सुरक्षाको मुख्य चिन्ता छ । उनीहरू सुरक्षित भएर घुम्न, रमाइलो गर्न, हिमाल चढ्न, पदयात्रा गर्न चाहन्छन् । नेपाल सरकारले पर्यटकको सुरक्षाका लागि पहल गर्नै सकेन । तत्कालै पर्यटनमन्त्री नियुक्ति गरेको भए यी सबै समस्या समाधान हुन सक्थे । हाम्रो पर्यटन गत वर्षभन्दा ६० प्रतिशतले घटेको छ । हामीले कहिल्यै पनि देशको विषयमा नकारात्मक कुरा बोल्नु हुँदैन, सकारात्मक सन्देश दिनुपर्छ । पर्यटनको क्षेत्रको प्रवर्द्धनका लागि पर्यटनमन्त्री एकदमै महत्त्वपूर्ण हुन्छ ।

पर्यटनमन्त्री नहुँदा त्यो काम कर्मचारीमार्फत पनि गर्न सकिन्थ्यो होला नि ?

पर्यटनमन्त्री नियुक्त गर्नैपर्छ, त्यो पनि पर्यटन विज्ञ नियुक्त गर्नुपर्छ । अर्को कुरा, पर्यटन क्षेत्रका लागि हामी शेर्पा समुदायको पनि योगदान छ । विश्वभरि नेपाल र नेपालीले नाम र चर्चा कमाएको हामी शेर्पाको साथ सहयोग पाएर पनि हो । विश्वमा नेपाल भनेर कतिपयले चिन्दैनन्, तर शेर्पा भनेपछि चिन्छन् । शेर्पा भन्ने त विश्वमा ब्रान्ड हो नि । हामीले जानेको, बुझेको, सकेको राष्ट्रका लागि योगदान दिएका छौँ ।

तर नेपाल सरकारले कहिल्यै पनि शेर्पाहरूलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायमा नियुक्ति गरेन । नीति निर्माण तहमा, निर्णायक तहमा शेर्पालाई महत्त्व दिइएन, त्यसमा मलाई दुःख लाग्छ ।

जेनजी आन्दोलन लगत्तै पर्यटन विज्ञ, पर्यटन बुझेको मान्छे नियुक्ति गरेको भए विश्वभर नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्थ्यो, तर हामीलाई कहिल्यै पनि राज्यले प्राथमिकतामा राखेन । अरु बेला म जातको कुरा कहिल्यै गर्दिनँ, तर यो पर्यटन क्षेत्रको विषयमा मैले बाध्यताबस बोल्नैपर्ने स्थिति आयो ।

पर्यटनमन्त्री कस्तो हुनुपर्छ ? पर्यटनमन्त्रीमा के–के गुण, विज्ञता हुनुपर्छ ?

पर्यटन जानेको, बुझेको र व्यावहारिक हुनुपर्छ । पर्यटकले के चाहन्छ, कस्तो खालको सेवा दिनुपर्छ, कुन देशको पर्यटकलाई कस्तो व्यवहार गर्ने, आन्तरिक पर्यटकलाई कस्तो व्यवहार गर्ने, सबै जानेको बुझेको हुनुपर्छ । पर्यटन भनेको एकदमै संवेदनशील विषय हो।

घुम्नका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभरि फैलाउन सक्ने व्यक्ति अहिलेका लागि अपरिहार्य छ । हामी दुई ठुला छिमेकी देश भारत र चीनको बिचमा छौँ । छिमेकी देशमै समेत प्रचारप्रसार गर्न सकिएको छैन ।

अब बन्ने सरकारप्रति शेर्पा समुदायको कस्तो अपेक्षा छ ?

शेर्पा समुदायले पर्यटन क्षेत्रमा ठुलो योगदान पुर्‍याएका छन् । शेर्पा समुदायको राम्रो पक्ष के छ भने कुनै काम गर्छु भनेपछि गरेरै छोड्छ, काम जिम्मा लिन्छ । त्यही कारणले विश्वभरिका पर्यटकहरू शेर्पा भनेपछि विश्वास गर्छन् ।

नेपालीले पनि शेर्पालाई विश्वास गर्छन् । एड्मण्ड हिलारीले शेर्पाकै सहयोगमा सगरमाथा चढे । त्यो बेलादेखि नै शेर्पाको ब्रान्ड बनेको छ । तर किन नेपाल सरकारले चाहिँ बेवास्ता गरेको होला ? यसमा मलाई दुःख लाग्छ । शेर्पा समुदायको प्रतिनिधित्व सरकारमा हुनुपर्छ, त्यो पनि विशेषगरी पर्यटनमन्त्री हुनुपर्छ । पर्यटन क्षेत्रको नीति, निर्माण तहमा शेर्पा समुदायको प्रतिनिधित्व हुनुपर्छ ।

जेनजी आन्दोलनपछि नेपालको पर्यटन क्षेत्रमा निकै ठुलो धक्का लागेको छ । विदेशीहरूले बुकिङ क्यान्सिल गरे । नेपाल सुरक्षित छैन भन्ने सन्देश गएको छ । यो गलत सन्देश चिर्नका लागि अब बन्ने सरकारले गर्नुपर्ने काम के–के हुन् ?

नेपाल सरकारले नयाँ नीति नियम ल्याउनुपर्‍यो, पर्यटन सम्बन्धी नीति परिवर्तन गर्नुपर्‍यो । वान–डोर सिस्टम अपनाउनु पर्‍यो । नेपाल घुम्न आउने विदेशीलाई झन्झट नहोस्।

नेपालमा फिल्म टुरिजमको एकदमै सम्भावना छ । फिल्म बनाउन चाहनेहरूलाई सहज वातावरण हुनुपर्छ । एउटा फिल्म सुटिङ गर्न १० ठाउँमा अनुमति लिनुपर्ने झन्झटिलो कानुन छ । एउटा एक्सपिडिसन आयोजना गर्न १० ठाउँमा अनुमति लिन जानुपर्छ । हरेक काममा ढिलाई हुन्छ ।

दोस्रो कुरा, हाइजेनिक खानेकुरा र पर्यटकको रोजाइका परिकारमा ध्यान दिनुपर्छ । कुनै विदेशी पर्यटक घुम्न आउँदा उसले आफ्नै देशको खाना खोज्छ । त्यसका लागि जनशक्तिलाई आवश्यक तालिम प्रदान गर्नु पर्‍यो ।

खस्किएको पर्यटन बजार सरकारी र निजी क्षेत्र मिलेर संयुक्त पहलमा उकास्न लाग्नुपर्छ । र, विश्वभरि प्रमोसन गर्नुपर्छ । नेपालको जति सक्दो प्रचार गर्न सक्यो, भारत र चीनका पर्यटकमात्रै आइदिने हो भने हामीलाई काफी हुन्छ ।

धेरै वटा देशमा नेपाली दूतावास छन् । ती दूतावासले कस्तो भूमिका खेल्नुपर्छ ?

हरेक दूतावासमा पर्यटनका लागि बेग्लै अफिस राखेर काम गर्न सकिन्छ । पर्यटन बोर्डलाई सक्रिय बनाउन सकिन्छ । अमेरिका र युरोपियन मुलुकले प्रचार गरेको सुनिँदैन, तर हामी त्यहाँ जान मरिहत्ते गर्छौं । त्यसैगरी नेपालमा पर्यटकहरू आउने वातावरण सिर्जना गर्नुपर्‍यो।

नेपालमा बेलाबेला हुने बन्द, हड्ताल रोकिनु पर्छ । शान्ति, सुरक्षा, स्थिरता भयो भने धनी पर्यटकहरू आफ्नो परिवारको साथमा आउँछन् । पर्यटन पोलिसी पनि तत्काल परिमार्जन हुन जरुरी छ । ‘रिटायर्ड टुरिजम’ को अवधारणा अघि सार्नुपर्छ । रिटायर्डहरूलाई रेसिडेन्स भिसा दिनुपर्छ ।

‘रिटायर्ड टुरिजम’ कस्तो अवधारणा हो ?

‘रिटायर्ड टुरिजम’ भन्नाले विदेशमा ६५ वर्ष उमेर पुगेको व्यक्ति रिटायर्ड हुन्छ । उनीहरूले रिटायर्ड पेन्सन पाउँछन् । त्यो रिटायर्ड पेन्सनले उनीहरूकै देशमा बस्न अलि महँगो पर्छ, तर नेपालमा मासिक १ हजार ५ सय डलर भयो भने मजाले बस्न सक्छन् । त्यस्तो वर्गलाई समेट्न सक्नुपर्छ ।

विदेशीहरूले यहाँ बसेर धर्म प्रचार र राजनीति गर्नु भएन । नेपालको कानुन मानेर बस्नुपर्‍यो । एक जना रिटायर्ड टुरिस्ट नेपालमा बस्यो भने उहाँलाई भेट्न साथीभाइ, परिवारका सदस्य आउँछन् । अर्को कुरा, कति वटा देशमा वर्षमा तीन–चार महिना घामै लाग्दैन । उनीहरू भिटामिन ‘डी’ प्राप्त गर्न, घाम ताप्नकै लागि पनि नेपालमा आउँछन् ।

मैले चिनेका पर्यटक जर्मनी, क्यानाडाबाट घाम ताप्नका लागि नेपालमा आएको देखेको छु । औषधि खाँदाखाँदा वाक्कै भएर घाम तापेरै भिटामिन ‘डी’ लिन चाहनेहरूको ठुलो संख्या छ । कतिपयले प्राकृतिक रूपमा भिटामिन लिन चाहन्छन् ।

हामीले त्यो वर्गका पर्यटकको पहिचान गरेका छैनौँ । नेपालले रिटायर्ड भिसा दियो भने फर्स्ट क्लाइन्ट हामी नै हुन्छौँ भन्ने पर्यटक मेरो सम्पर्कमा छन् । जसले गर्दा बैंक, हस्पिटल, होटल, रेस्टुराँदेखि सबै व्यवसाय चल्छ नि ।

घाम ताप्नका लागि नेपाल आउने विदेशीहरू कति समय बस्छन् ?

रिटायर्ड भइसकेका पर्यटकहरू नेपालमा घाम ताप्न, हिमाल हेर्न, यहाँको प्राकृतिक वातावरणमा रमाउन चाहन्छन् । उनीहरू लामो समय नेपालमा बस्न चाहन्छन् । अर्को कुरा, ‘डेन्टल टुरिजम’ पनि नेपालमा फस्टाउन सक्छ । विदेशमा दाँतको उपचार महँगो हुन्छ । नेपालमा तुलनात्मक रूपमा सस्तो छ । विदेशीहरू नेपालमा पहिलो पटक हिमाल चढ्न आउँछन्, दोस्रो चोटी ट्रेकिङ गर्न आउँछन्, त्यसपछि नेपालीसँग पारिवारिक सम्बन्ध गाँसिन्छ । जुनसुकै देशका पर्यटक नेपाल भनेपछि हुरुक्कै भइदिन्छन् । भोलिको दिनमा विदेशीहरूले नेपालमा रोजगारी खोज्नुपर्ने वातावरण सिर्जना हुन्छ ।

नेपालमा स्की खेलको सम्भावना कस्तो छ ?

एकदमै ठुलो सम्भावना छ । ढोरपाटन, खप्तड एरियामा यसको धेरै सम्भावना छ । त्यसका लागि पूर्वाधारमा लगानी हुनुपर्छ । नेपालको पर्यटनमा स्कीले विन्टर ग्याप कभर गर्छ । स्की महँगो स्पोट्र्स पनि हो । युरोप, अमेरिकामा एकदमै खानदानी, हुने खानेले लगानी गरेर खेल्छन् । त्यो पनि पूरै परिवारका सदस्य यसमा लागिपरेका हुन्छन् । ५ वर्षदेखि १ सय वर्षसम्मका स्की खेल्न उत्साहित हुन्छन् । यो एकदमै महत्त्वपूर्ण हो ।

म नेपाल माउन्टेन एकेडेमीमा कार्यकारी निर्देशक हुँदाखेरि नेपाल नेशनल गाइड एसोसिएसनसँग मिलेर हामीले स्की ट्रेनिङहरू नै ल्यायौँ । हामीले विभिन्न ठाउँमा स्कीको आधारभूत तालिम दिएर स्विजरल्याण्डमा स्विसको सहयोगमा एड्भान्स तालिम गर्‍यौँ ।

इन्टरनेशनल गाइडको लाइसेन्सका लागि स्की प्रोफेसनल लाइसेन्स अनिवार्य हुन्छ । हाम्रो नेपालमा सुनाम शेर्पासँग स्की लाइसेन्स थियो । त्यसपछि धेरै जनाले स्की लाइसेन्स लिइसकेका छन् ।

मैले युरोपका हिमालहरूमा स्की खेलेको अनुभव लिएकी छु । फ्रान्स, स्विट्जरल्याण्ड, इटाली, अस्ट्रिया सबै हिमालमा मैले स्की खेलेँ । युरोपको चर्चित म्यागजिनमा ‘द फर्स्ट नेप्लिज हु स्की होल युरोपियन आल्प्स’ भनेर मेरो बारेमा छापिएको छ ।

स्की खेलका लागि पनि नेपालमा ठुलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ ?

एकदमै सम्भव छ । सुदूरपश्चिमको खप्तडमा स्कीको सम्भावना छ । काठमाडौँमा बसेर योजना बनाएर भएन । मुस्लिम बाहुल्य देशमा हाम्रै नेपालका इन्स्ट्रक्टरहरू स्की ट्रेनिङ दिन जान्छन् भने नेपालमा किन सम्भव छैन ? सम्भव छ नि । तर, काम गर्ने इच्छा शक्ति हुनुपर्‍यो ।

सरकारले लगानी गर्न सक्नुपर्‍यो । हाम्रो नेपालमा नचाहिने ठाउँमा लगानी एकदमै खेर गइरहेको छ, चाहिने ठाउँमा लगानी गर्न सकिएको छैन ।

नेपालमा अन्य के–के सम्भावना छन् ?

हामीले ब्याचलर्स इन् माउन्टेनियरिङ र मास्टर इन् माउन्टेनियरिङ टुरिजम सुरु गर्‍यौँ । त्यही खालको एकेडेमिक एजुकेसन स्थापित गर्न सक्यौँ भने भविष्य राम्रो छ । हिमाल चढ्न पर्यटकहरू दुई महिनाका लागि आउलान्, ट्रेकिङ र टुरका लागि दुई हप्ता छुट्ट्याउलान् । तर, नेपालमा पढ्नका लागि आए भने २ वर्ष, ६ वर्षसम्म बस्न सक्छन् । इन्टरनेशनल लेभलको युनिभर्सिटी, माउन्टेन टुरिजम युनिभर्सिटी नेपालमा स्थापित गर्न सकियो भने विज्ञहरू पनि अन्तर्राष्ट्रिय क्षेत्रबाटै आउने वातावरण बन्छ । नेपाल माउन्टेन एकेडेमीले विद्यार्थी उत्पादन गरेको छ । हिमाल र टुरिजम स्टडी गर्न नेपाल एकदमै उपयुक्त थलो हो।

अर्को कुरा, हामीले कहिल्यै पनि हवाई माध्यममात्रै ताक्नु हुँदैन । जस्तो नेपाल–चीनमा हिस्टोरिकल पाथहरू छन् । ती नाका खोल्नुपर्‍यो । बोर्डरहरू खोलेर एभरेस्ट बेस क्याम्पसम्म आउने टुरिस्टहरू तान्न सक्नुपर्छ । चीनको रोडबाट आउने पर्यटक तान्न सकियो भने नेपालमा एकदमै राम्रो सम्भावना छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप