इनिसा मृत्यु प्रकरण : शव अझै अस्पतालमा, अनुसन्धानमा ढिलाइ
सारांश
- सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्याको घटनाबारे अनुसन्धान लम्बिएको छ।
- घटना भएको १७ दिन बितिसक्दा पनि अनुसन्धान टुङ्गोमा नपुगेको भन्दै कर्णाली प्रदेश सभामा सांसदहरूले प्रश्न उठाएका छन्।
- प्रहरीले वैज्ञानिक विधिबाट अनुसन्धान गरिरहेको र पोस्टमार्टम रिपोर्ट तथा अन्य विज्ञ टोलीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकसम्बन्धी घटनाको अनुसन्धान लम्बिएको छ । घटना भएको १७ दिन बितिसक्दा पनि अनुसन्धान टुङ्गोमा पुग्न नसकेको भन्दै कर्णाली प्रदेश सभा बैठकमै सांसदहरूले प्रश्न उठाएका छन् ।
बिहीबारदेखि बसेको कर्णाली प्रदेश सभा बैठकमा बोलेका धेरैजसो सांसदहरूले इनिसा घटनाको अनुसन्धानमा ढिलाइ भएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए । ‘चाँडो निष्पक्ष छानबिन होस्, पीडित परिवारलाई न्याय मिलोस्,’ सांसद उर्मिला विश्वकर्माले भनिन्, ‘यस्ता घटनाहरू दिनहुँ जसो घटिरहेकाले बलात्कार सम्बन्धित कानुन परिमार्जन गरेर भए पनि मृत्युदण्डसम्म दिने कानुन ल्याउन आवश्यक छ ।’ सांसद रणसिंह परियार, कृष्णबहादुर जिसीदेखि मुख्यमन्त्री यामलाल कँडेलले समेत इनिसा विकको घटनामा संसदमा धारणा राखे ।
घटना घटेको १७ दिनसम्म इनिसाको शव प्रदेश अस्पतालको शव गृहमा छ । इनिसाका बुबा इन्द्रले न्याय नमिलेसम्म शव नबुझ्ने बताएका छन् । ‘मेरो छोरीमाथि जघन्य अपराध भएको छ, बलात्कारपछि हत्या भएको छ, न्याय मर्नु भएन,’ उनले भने, ‘निष्पक्ष तरिकाले अनुसन्धान हुनुपर्यो, न्याय नपाएसम्म शव उठाउँदैनौँ ।’
प्रहरीले आफूहरुलाई न्याय दिने आश्वासन दिएको र सोही आश्वासन कुरेर बसेको उनी बताउँछन् । उनको भनाइ छ, ‘बलात्कारीलाई आजीवन काराबास होस्, कि मृत्युदण्ड हुनुपर्छ, यस्तो नीति नलिए यस्ता घटना घटिरहन्छन् ।’
- अनुसन्धानमा किन ढिलाइ ?
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
फागनु २३ गते शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका छन् ।
इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीनको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ ग¥यो ।
उक्त घटना अहिले राष्ट्रिय विषय नै बनेको छ । तर, प्रहरीले उक्त घटनामो टुङ्गो हालसम्म लगाउन सकेको छैन । दुई हप्ता अघिदेखि प्रहरीले वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भन्दै केन्द्रबाट सीआईबी, नेपालगन्जबाट पोलिग्राफ, सीडीआर एनालिसिसहरू लगायतका विज्ञहरुको टोली सुर्खेत आएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीराज शाहीका अनुसार यी सबै टोलीहरूले अनुसन्धान गरेर फर्किसकेका छन् । उनीहरुले तयार पारेका रिपोर्टहरू आउन बाँकी छ ।
‘मृतकको मोबाइलको खुलेको छैन, त्यो खोल्नलाई फेरि हामीले माथि विभागमा पठाएका छौँ , त्यो परीक्षण भएर आउँछ, विधि विज्ञान प्रयोगशालाको रिपोर्टहरू आउन बाँकी छ,’ शाहीले रातोपाटीसँग भने, ‘ती रिपोर्टहरू हामीले कुरेका छौँ ।’
साथै, सीआईबीले यहाँ गरेको अनुसन्धानको रिपोर्ट बनाउँछ, उक्त रिपोर्ट समराइज गरेर पठाउँछ । त्यो आउन बाँकी छ ।
‘उहाँहरुले त्यहाँ सबै विश्लेषण गरेर रिपोर्ट पठाउनुहुन्छ, सायद अब १/२ दिनमै आउँछ कि,’ शाहीले थपे, ‘रिपोर्ट आएपछि हामीले अनि सबै रिपोर्ट जोडेर अनुसन्धान प्रतिवेदन बनाउँछौँ ।’
उनका अनुसार यहाँ जति विज्ञ टोलीहरू आएका थिए, ती सबैले घटनास्थल, अभियुक्तका बयानदेखि सबै डकुमेन्टहरू लिएर गएका छन् । विज्ञ टोलीहरूले ती डकुमेन्ट र आफूहरूले गरेको अनुसन्धानको विश्लेषण गरेर त्यसको निचोड सुर्खेत प्रहरीलाई दिन्छन् ।
त्यसपछि सुर्खेत प्रहरीले सम्पूर्ण विवरणको निचोड प्रतिवेदन बनाउने छ ।
- ‘अहिलेसम्मको अनुसन्धानले सामूहिक बलात्कार भएको देखिन्न’
हालसम्मको अनुसन्धानबाट सामूहिक बलात्कार भएको भने नदेखिएको प्रहरी प्रमुख शाही बताउँछन् । ‘अहिलेसम्म सामूहिक भनेर भन्न सकिने खालको चाहिँ भएन,’ उनले भने, ‘यद्यपि सबै रिपोर्ट आएपछि त्यसमा प्रस्ट भइहाल्छ ।’
तथापि परिवार, आफन्त तथा अधिकारकर्मीहरुले भने सामूहिक बलात्कार भएको बताउँदै अनुसन्धानमाथि नै प्रश्न पनि उठाइरहेका छन् ।
भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुन सक्ने कुरा उल्लेख छ ।
पोस्टमार्टम रिपोर्टमा सोही कारण हुनसक्ने भनिए पनि भिसेरा परीक्षणपछि यकिन गर्न सक्ने भनेको छ । उक्त रिपोर्ट पनि आउन बाँकी छ ।
रिपोर्टको व्याख्यामा चाहिँ जेनाइटल पार्टहरूमा चोटपटक लागेको भनिएको छ, त्यो भनेको यौनाङ्ग, भित्र हाइमनदेखि पाठेघरमा पनि चोट लागेको कारणले अत्यधिक रक्तश्राव भएको उक्त रिपोर्ट अध्ययन गरेका ती अनुसन्धान अधिकृतले रातोपाटीलाई बताए ।
इनिसामाथि अभियुक्त १६ वर्षीय नाबालक किशोरले जबरजस्ती करणी गरेर यौन सम्बन्ध स्थापित गरेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
ती युवाले इनिसा आफ्नो प्रेमिका भएको बयान दिएका छन् भने सहमतिमै यौन सम्बन्ध राखिएको भनेका छन् । घटनास्थलमा प्रहरीको अनुसन्धानबाट पनि इनिसाको शरीरका अन्य भागहरूमा चोटपटक नलागेको र यौनाङ्गबाट नै बगेको रगतले केही भाग भिजेको देखिएको छ । साथै जमिनमा पनि रगत बगेको छ ।
एक अनुसन्धान अधिकृतका अनुसार, यौन सम्बन्धका बेला जबरजस्ती गरेपछि अत्यधिक रगत बग्यो, केटी बेहोस भएपछि र रगत देखिसकेपछि केटा आफैमा ‘के गरौँ, कसो गरौं’ भनेर अत्तालिएको देखिन्छ । त्यसपछि उसले इनिसालाई तानेर लगभग साढे दुई मिटरजति पर लगेर समथर ठाउँमा राखेको देखिने उनको भनाइ छ ।
प्रहरीका अनुसार इनिसाको यौनाङ्गको रक्तश्रावबाहेक ढाडमा अलि कोतरिएको छ । त्यो तान्दा साल तथा अन्य बोटविरुवाहरुले अलि कोतरेको खालको छ । ‘त्यसबाहेक शरीरमा अरु चोटपटक छैन,’ उनी भन्छन् ।
मुख्य अभियुक्त भनिएका किशोरले बयानका क्रममा इनिसा बेहोस भएपछि अस्पताल लैजान अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बताएका छन् । उनीले सही वा झूट बोलेका हुन् भन्ने कुरा पोलिग्राफ रिपोर्टबाट थाहा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण