फ्रान्सद्वारा ब्राजिल पराजित : जिरुको रेकर्ड नजिक पुगे एम्बाप्पे
सारांश
- म्यासाचुसेट्समा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ब्राजिललाई २-१ गोलले पराजित गर्यो।
- खेलमा केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका लागि गोल गरे, कीर्तिमानको नजिक पुगे।
- ब्राजिलका तर्फबाट ब्रेमरले एक गोल फर्काए पनि हार टार्न सकेन, फ्रान्सले जित्यो।
म्यासाचुसेट्स । अमेरिकाको म्यासाचुसेट्सस्थित जिलेट स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको छ। विश्व फुटबलका दुई महारथीबिचको यस रोमाञ्चक भिडन्तमा फ्रान्सेली स्टार केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो देशका लागि कीर्तिमानी गोलको नजिक पुगेका छन्।
खेलको ३२औँ मिनेटमा ओसमान डेम्बेलेले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले ब्राजिलका गोलरक्षक एडरसनको माथिबाट चिप गरेर जाली चुमाएका थिए। यो गोलसँगै २७ वर्षीय एम्बाप्पेले फ्रान्सका लागि ९५ खेलमा ५६ गोल पुरा गरेका छन्। उनी अब फ्रान्सका लागि सर्वाधिक गोल गर्ने ओलिभिए जिरुको कीर्तिमानभन्दा मात्र एक गोलले पछाडि छन्। जिरुले १३७ खेलमा ५७ गोल गरेका छन्।
केही समयदेखि घुँडाको चोटसँग जुधिरहेका एम्बाप्पे फेब्रुअरी २२ पछि पहिलोपटक सुरुवाती सेटमा मैदान उत्रिएका थिए। उनले रियल म्याड्रिडको मेडिकल टिमले आफ्नो गलत घुँडाको परीक्षण गरेको भन्ने हल्लालाई बुधबार मात्रै खण्डन गरेका थिए।
खेलको दोस्रो हाफमा फ्रान्स १० खेलाडीमा सीमित भएको थियो। डिफेन्डर दायोट उपामेकानोलाई ब्राजिलका वेस्लीलाई डिबक्स बाहिर फाउल गरेपछि रातो कार्ड दिइएको थियो। तर, एक खेलाडी कम भए पनि प्रशिक्षक डिडिएर डेसच्याम्पको टोलीले ६५औँ मिनेटमा अग्रता दोब्बर बनायो। ह्युगो एकिटिकेले सुन्दर प्रहार गर्दै टोलीलाई २-० को स्थितिमा पुर्याए। लगत्तै एम्बाप्पेको स्थानमा मार्कस थुराम मैदान प्रवेश गरेका थिए।
ब्राजिलका तर्फबाट ७८औँ मिनेटमा लुइज हेनरिकको लो क्रसलाई सदुपयोग गर्दै सेन्टर ब्याक ब्रेमरले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन। रियल म्याड्रिडका पूर्वप्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको ब्राजिलले खेलको अन्त्यतिर बराबरीका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन।
ब्राजिलका तर्फबाट इगोर थियागोले म्यान्चेस्टर युनाइटेडका म्याथुस कुन्हाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यू गरेका थिए। यो खेल भएको जिलेट स्टेडियम एनएफएल टोली न्यू इङ्गल्याण्ड पेट्रिओट्सको घरेलु मैदान हो। आगामी विश्वकपमा फ्रान्सले नर्वे विरुद्धको आफ्नो अन्तिम समूह चरणको खेल यही मैदानमा खेल्ने तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण