‘कलाकारका लागि थिएटर थेरापीजस्तै हो’
सारांश
- बेनिशा हमालले 'सेतो धरती' नाटकबाट थिएटरमा डेब्यु गर्दैछिन्, जसमा उनी ताराको मुख्य भूमिकामा छिन्।
- उनले थिएटरमा काम गर्ने इच्छा पहिलेदेखि नै रहेको र फिल्म अभिनयमा लामो समय बिताएपछि नाटकमा जोडिएको बताइन्।
- उनले नाटकमा दर्शकको कल्पनासँग आफ्नो अभिनयलाई मिलाउन सचेत रहेको र थिएटरलाई नयाँ अनुभवको रूपमा लिएको बताइन्।
काठमाडौँ । बेनिशा हमाल सन् २०१२ मा फिल्म ‘स्वर’बाट नेपाली फिल्म उद्योगमा प्रवेश गरिन् । सन् २०१४ को ‘मोक्ष’बाट उनले पछाडि फर्केन हेर्नु परेन । त्यसपछि लगातार फिल्म अभिनयमा रहेकी उनले अहिलेसम्म दर्जन बढी फिल्म अभिनय गरिसकेकी छन् । अभिनयमा भर्सटायल बेनिशा बौद्धिक लाग्छिन् ।
‘ब्लाइन्ड रक्स’को दृष्टिविहीन पात्रदेखि ‘प्रेमगञ्ज’की लभरगर्लसम्म उनलाई दर्शकले रुचाएका छन् । उनी पछिल्लो समय फिल्म ‘द ब्लु लाइट’मा देखिएकी थिइन् । बेनिशा अब भने उनी थिएटरमा देखिने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको ‘सेतो धरती’ नाटकबाट उनी थिएटर डेब्यु गर्न लागेकी हुन् । नाटकको मुख्य भूमिका ताराको पात्रमा देखिन लागेकी उनी अहिले नियमित रिहर्सलमा छिन् । नाटक अभिनयका लागि आफू उत्साहित रहेको उनी सुनाउँछिन् । अभिनेत्री बेनिशासँग फिल्म करिअरमा नाटकमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
- नाटकमा डेब्यु गर्दै हुनुहुन्छ, तयारी कस्तो चलिरहेको छ ?
अहिले धमाधम रिहर्सल भइरहेको छ । म अस्ट्रेलियाबाट फर्केको तीन–चार दिन भयो । फर्किने बित्तिकै रिहर्सलमा ज्वाइन भइहालेँ । अहिले मेरो पूरै समय अभ्यासमा बितिरहेको छ ।
- फिल्म अभिनयमा लामो समय बिताएपछि थिएटरमा काम गर्ने सोच किन आयो ?
मलाई थिएटर गर्ने इच्छा पहिलेदेखि नै थियो । केही फिल्ममा अभिनयपछि मैले सुनिल पोखरेल सर र वीरेन्द्र हमाल सरसँग थिएटर क्लास लिएकी थिएँ । बिचमा केही अफर आए पनि कहिले अन्य कमिटमेन्टले गर्दा नमिल्ने र कहिले आफूले भनेको जस्तो नहुने कारणले थिएटरमा काम गर्न पाइरहेकी थिइनँ । पछिल्लो समय गरेका केही फिल्मको काम पछि सरेर खाली भएको सयमा ‘सेतो धरती’को प्रस्ताव आयो । यो चर्चित पुस्तक पनि भयो र आफैँले गर्दा पनि कुन गरेको थियो भन्दा गर्व गर्ने खालको पनि भयो । त्यसैले नाटकमा जोडिए । कलाकारको रूपमा ढिलो–चाँडो एक पटक थिएटर गर्नैपर्छ र गर्छु भन्ने मेरो मनमा थियो ।
- ‘सेतो धरती’ चर्चित उपन्यास हो । तपाईंले यो पुस्तक पहिले नै पढ्नुभएको थियो ?
मैले पहिले नै पढेर पनि बिचमा छाडेकी थिएँ, पूरै पढ्न पाएको थिइनँ । अहिले नाटक गर्ने भएपछि चाहिँ फेरि पूरै पढेँ । एकदम इन्ट्रेस्टिङ लाग्यो । उपन्यास पढ्दा र त्यसलाई नाटकमा उतार्दा कुन पाटोलाई बढी केन्द्रित गर्ने भन्ने कुरा निकै रोचक हुँदो रहेछ ।
- उपन्यासको मुख्य पात्र ‘तारा’को भूमिकामा तपाईं हुनुहुन्छ, यो भूमिका कत्तिको चुनौतीपूर्ण छ ?
कलाकारको रुपमा विभिन्न भूमिका गर्दै आएकी छु र गर्न सक्छु भन्ने हो । कलाकारको रूपमा चुनौतीपूर्ण काममै मज्जा आउँछ । पहिले गरेको यो केही होइन भनेर हल्का रुपमा लियो भने बिग्रिन सक्छ । अहिले नाटकको रिहर्सल गरिरहँदा संवाद बोल्नु र त्यसलाई डेलिभर गर्नु भन्दा पनि त्यो पात्रको मनोविज्ञान बुझ्न मलाई गाह्रो भइरहेको छ । अहिले म उक्त पात्रको पोखरेली टोन, लवज र एसेन्टलाई ठ्याक्कै उतार्न मेहनत गरिरहेकी छु । मैले निर्देशकलाई मलाई पहिले मानसिक रूपमा तयार हुन समय दिनुस्, त्यसपछि तपाईंको कुरा राख्नुस् भनेर भनेर आग्रह गरेकी छु ।
- त्यो कथा आजको समयमा उभिएर आत्मसात् गर्दा कस्तो लागिरहेको छ ?
उपन्यास पढ्दै गर्दा हाम्रो अघिल्लो पुस्ताको महिलालाई हेर्ने दृष्टिकोण कस्तो थियो भन्ने सोचेरै डर लाग्यो । महिलालाई एउटा अब्जेक्ट जस्तो मात्र बनाइन्थ्यो, जसको आफ्नो कुनै अस्तित्व नै हुँदैन रहेछ भन्ने लाग्यो । यसको कथा हाम्रो समाजको एउटा तितो यथार्थ हो । यो विषय केही फिल्ममा उतारिएको पनि छ । तर जसरी पहिलाका महिलाहरुले भोग्नुपर्थ्यो, त्यसरी आएको छैन जस्तो लाग्छ । अहिलेको समय त्यो सान्दर्भिक नलागेपनि आज म कलाकारको रूपमा त्यो समय र पीडालाई महसुस गर्ने कोसिस गरिरहेकी छु ।
- फिल्म र थिएटर अभिनयमा धेरै भिन्न छ भन्ने गरिन्छ नि, तपाईंलाई कस्तो लाग्दैछ ?
यी दुई विधा पूर्ण रूपमा फरक छन् । थिएटरमा ‘रिटेक’ हुँदैन । अन्तिम लहरमा बसेका दर्शकले पनि मेरो आवाज प्रस्ट सुन्नुपर्छ र मेरो शारीरिक हाउभाउबाट म तारा नै हुँ भनेर विश्वास गर्नुपर्छ । फिल्ममा जस्तो यहाँ सजिलो छैन । यो महसुस गर्दै रिहर्सल गरिरहेकी छु । म निर्देशक र आफूसँगै नाटकमा देखिन लागेका अन्य अनुभवी थिएटर कलाकारहरूबाट पनि धेरै कुरा सिकिरहेकी छु ।
- नाटकमा लाइभ प्रस्तुति दिँदै हुनुहुन्छ, डर वा उत्साह के बढी छ ?
डरभन्दा बढी उत्साह छ । तर एउटा डर चाहिँ के छ भने ‘सेतो धरती’ धेरैले पढिसक्नुभएको छ र उहाँहरूको दिमागमा ताराको एउटा बिम्ब बनिसकेको छ । दर्शकको त्यो कल्पनासँग मेरो अभिनयलाई कसरी म्याच गराउने भन्ने कुरामा अलि सचेत छु ।
- नाटकमा देखिँदै गर्दा फिल्मका सहकर्मीको प्रतिक्रिया कस्तो छ ?
सबैजना एकदमै उत्साहित हुनुहुन्छ । तिमीलाई नाटकमा हेर्न आतुर छौँ भनिरहनुभएको छ । नाटकका सहकर्मी भने थिएटरमै पढिरहेका विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूले मलाई निकै सम्मान र ऊर्जा दिनुहुन्छ । मिडिया र शुभचिन्तकहरूबाट पनि निकै राम्रो प्रतिक्रिया र हौसला मिलिरहेको छ । त्यसले राम्रो गर्नुपर्छ भनेर बल मिलिरहेको छ ।
- थिएटरलाई एउटा पाठशाला पनि भनिन्छ, फिल्ममा काम गरिरहँदा केही अभाव महसुस भएर नाटकमा होमिनुभएको हो कि ?
त्यस्तो होइन, मेरो विचारमा सिकाइ कहिल्यै नसकिने प्रक्रिया हो । म सिक्न लाज पनि मान्दिनँ । यसलाई उमेरले छेक्छ जस्तो पनि लाग्दैन । म सिक्नका लागि आफू भन्दा सानो वा ठुलो केही भन्दिनँ । थिएटर धेरै कुरा सिक्ने ठाउँ हो र यहाँको वातावरणले मलाई नयाँ ऊर्जा दिइरहेको छ । फिल्ममा पनि मैले धेरै कुरा सिकेँ र थिएटरमा पनि नयाँ कुराको अनुभव लिन्छु ।
- तपाईंले अभिनय गर्न लागेको पात्र ‘तारा’को चरित्रले आजका महिलालाई के सन्देश दिन्छ ?
आजका महिला धेरै हदसम्म अगाडि छन् । त्यो समय ताराले जे भोग्यो आजको महिलाले भोग्नु नपर्ला । केही ठाउँ छोडेर भन्ने हो भने अझै पनि नेपालका कतिपय दुर्गम ठाउँमा ताराको जस्तै स्थिति छ भन्ने कुरा मैले घुमघामका क्रममा महसुस गरेकी छु । मिडियामा आइरहेको छ । ताराको पात्रले हामी कति भाग्यमानी छौँ र हामीले पाएको स्वतन्त्रताको सही प्रयोग कसरी गर्ने भन्ने कुरा महसुस गराउँछ ।
- यो नाटकपछि तपाईंलाई नियमित थिएटरमा देख्न पाइन्छ ?
यो नाटकलगत्तै मलाई अन्य दुईवटा प्लेहरूको पनि प्रस्ताव आएको छ । मलाई चाहिँ के लागेको छ भने वर्षमा कम्तीमा एउटा नाटक गर्नैपर्छ । यो एउटा थेरापी जस्तै हो, जसले कलाकारलाई आफ्नो कलामा निखार ल्याउन र नयाँपन दिन सहयोग गर्छ ।
- फिल्मको तुलनामा मेहनत बढी तर पारिश्रमिक कम हुन्छ नाटकमा भनिन्छ नि ?
सबै कुरा पैसासँग मात्र तुलना गर्न मिल्दैन । कलाकारका लागि दर्शकको अगाडि बसेर प्रत्यक्ष प्रतिक्रिया पाउनु र त्यो एक घण्टाको प्रस्तुतिमा जुन अनुभूति हुन्छ, त्यो अमूल्य छ । यो आत्मसन्तुष्टिको कुरा हो, जसलाई पैसाले किन्न सकिँदैन । यसले मेरो अभिनय करिअरमा धेरथोर ‘ग्रोथ’ गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण