बालेन सरकारः जोस र होसको समन्वय किन आवश्यक छ ?
नेपालको नवनिर्वाचित सरकारको नेतृत्व गर्ने अवसर ३५ वर्षीय युवा बालेन्द्र शाह (बालेन) ले पाएका छन् । बुढा नेताहरूले राजनीतिबाट अवकाश लिने परम्परा बिरलाकोटी भएको मुलुकमा युवा प्रधानमन्त्री हुनु महत्त्वपूर्ण परिवर्तनको संकेत हो । यस परिवर्तनले बुद्धिमत्ता र निर्णय क्षमता, वरिष्ठ नेताहरूको मात्र विशेषता हो भन्ने परम्परागत धारणालाई चुनौती दिन्छ ।
युवा नेताहरू ताजा दृष्टिकोण, ऊर्जा र नवप्रवर्तनशील विचारहरूसहित जटिल राष्ट्रिय मुद्दाहरू सम्हाल्न समान रूपमा सक्षम छन् भन्ने आधारमा बालेनले निर्वाचनमार्फत जनादेश पाएका हुन् । उमेरले मात्र अनुभव मापन गरिँदैन, यसलाई ज्ञान, दृष्टि र सिक्ने तथा अनुकूल हुने क्षमताले पनि आकार दिन्छ । आफ्नो सक्रियता र प्रतिबद्धतासहित नेपालको नयाँ पुस्ताका नेताहरूले रूपान्तरणकारी नीति ल्याउने र देशलाई प्रगतितर्फ मार्गदर्शन गर्ने सम्भावना राख्छन् ।
प्रभावकारी नेतृत्वका लागि जोखिम र संयमता अर्थात् जोस र होसको समन्वय किन आवश्यक छ रु यो प्रश्न यस आलेखको मुख्य विषयवस्तु हो । जोखिम र सावधानी रणनीतिक र लोकतान्त्रिक नेतृत्वका लागि सोच्नुपर्ने विषय हुन् ।
जोखिम र सावधानी
लोकतान्त्रिक समाजमा नेतृत्वलाई जटिल र विरोधाभाषी अपेक्षाबाट मापन गरिन्छ । त्यो हो– नेताले साहसपूर्वक जोखिम लिनु, तर अनावश्यक क्षति हुन नदिन पर्याप्त सावधानी पनि अपनाउनु । यो तनाव विशेषगरी युवा नेताहरू र अनुभवी नेताहरूबिचको तुलना गर्दा देखिन्छ । युवा नेताहरू प्रायः ऊर्जा, नवप्रवर्तनशीलता र विद्यमान व्यवस्थालाई चुनौती दिने इच्छाशक्तिका लागि चिनिन्छन् भने अनुभवी नेताहरू स्थिरता, सावधानी र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिन्छन् ।
यद्यपि यी दृष्टिकोणहरूलाई पूर्ण रूपमा विपरीत ध्रुवका रूपमा बुझ्नु सरलीकरण मात्र हो । न अनियन्त्रित जोखिम लिनु मात्र पर्याप्त हुन्छ, न त अत्यधिक सावधानी अपनाउनु । प्रभावकारी लोकतान्त्रिक नेतृत्व ती दुवैको सन्तुलनबाट उत्पन्न हुन्छ । लोकतन्त्रमा नीति परिवर्तनले जनविश्वासमा असर पार्न सक्छ, त्यसैले दृष्टिकोण महत्त्वपूर्ण हुन्छ ।
निर्णय लिँदा जोखिम आफैंमा राम्रो वा नराम्रो होइन । यो एउटा उपकरण हो । लोकतान्त्रिक प्रणालीमा नेताहरू जनताप्रति उत्तरदायी हुन्छन् । जोखिमको व्यवस्थापनले नीतिगत परिणाम मात्र होइन, जनविश्वास पनि निर्धारण गर्छ । युवा नेताहरू प्रायः जोखिम लिन तयार हुन्छन्, किनकि उनीहरू विगतका असफलता वा जड व्यवस्थाबाट कम प्रभावित हुन्छन् । उनीहरू पुराना नीतिहरूलाई चुनौती दिन, नयाँ प्रयोग गर्न र आकस्मिक समस्यामा छिटो प्रतिक्रिया दिन इच्छुक हुन्छन् । यस्तो प्रवृत्ति विशेषगरी संकट वा जडतामा फसेको अवस्थामा प्रगतिका लागि शक्तिशाली माध्यम बन्न सक्छ ।
फर्केर हेर्दा बीपीको तुलनामा अन्य कुनै पनि प्रधानमन्त्रीहरू योगदानका लागि अविस्मरणीय छैनन् । त्यसैले बीपीको जीवनकालमा आलोचना गर्नेहरू अहिले उनको कुनै न कुनै योगदानको प्रशंसा गरिरहेका हुन्छन् । बीपीले निर्णय लिँदा उनले गल्ती गरेनन् भन्ने होइन । जस्तैः पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गर्नुको सट्टा, भारतमा निर्वासन नगई पहिले राजा महेन्द्रसँग मेलमिलाप गर्न सक्थे ।
यो आलेखमा लोकतान्त्रिक नेतृत्वमा बढी जोड दिनु आवश्यक ठान्छु ।
लोकतान्त्रिक नेतृत्व
बीपी कोइराला नेपालका अग्रणी राजनीतिक नेता थिए र उनी ४४ वर्षको उमेरमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । बीपीपछि धेरै प्रधानमन्त्री बने तर उनीसँग तुलनायोग्य कोही पनि देखिँदैनन् । पक्कै पनि, गिरिजाप्रसाद कोइरालाले माओवादी सशस्त्र विद्रोह समाधान गर्न योगदान दिए भने प्रचण्डले नेपाललाई गणतन्त्रमा लैजान योगदान गरे, तर अन्य कुनै उल्लेख्य योगदान दिन सकेनन् ।
फर्केर हेर्दा बीपीको तुलनामा अन्य कुनै पनि प्रधानमन्त्रीहरू योगदानका लागि अविस्मरणीय छैनन् । त्यसैले बीपीको जीवनकालमा आलोचना गर्नेहरू अहिले उनको कुनै न कुनै योगदानको प्रशंसा गरिरहेका हुन्छन् । बीपीले निर्णय लिँदा उनले गल्ती गरेनन् भन्ने होइन । जस्तैः पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गर्नुको सट्टा, भारतमा निर्वासन नगई पहिले राजा महेन्द्रसँग मेलमिलाप गर्न सक्थे । यसमा राजा महेन्द्र पनि संसद् विघटन र निर्वाचित प्रधानमन्त्रीलाई आठ वर्ष कैद गरेका कारण उत्तिकै जिम्मेवार छन् ।
जहानियाँ राणा शासनको चंगुलबाट मुलुकलाई प्रजातान्त्रिक युगमा प्रवेश गराउने २००७ सालको क्रान्तिका नायक बीपीले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र जनताको अधिकारका लागि आफ्नो जीवन समर्पित गरे । उनी कठिन परिस्थितिहरूमा साहसिक निर्णय लिन र जोखिम बहन गर्न कहिल्यै पछि हटेनन्, जसले गर्दा उनले अनेक चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पनि मार्गदर्शन गर्न सके । बीपीलाई आज पनि लोकतन्त्र र जिम्मेवार नेतृत्वको प्रतीकका रूपमा सम्झिने गरिन्छ ।
लोकतान्त्रिक नेतृत्वबारे चर्चा गर्दा महात्मा गान्धी र जवाहरलाल नेहरूको नेतृत्व उदाहरणीय छन् । यद्यपि आज मोदीराजमा भारतमा गान्धी र नेहरूमाथि अनावश्यक आलोचना गर्ने गरिएको छ । युवा गान्धीले दक्षिण अफ्रिकामा नागरिक अधिकार आन्दोलन र सत्याग्रहको सिद्धान्त विकास गर्दै अहिंसात्मक नेतृत्वको आधार तयार गरे र भारत फर्केपछि स्वतन्त्रता आन्दोलनमा जनतालाई लामो समयसम्म संगठित गराइराखे ।
नेहरू राजनीतिक अनुभव प्राप्त गर्दै ५० वर्षको उमेरमा भारतको पहिलो प्रधानमन्त्री बने र आधुनिक भारतको संरचना, औद्योगिकीकरण, शिक्षा प्रणाली र विदेश नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनीहरूको सफलता तत्काल प्रभावका आधारमा होइन तर दीर्घकालीन सामाजिक, राजनीतिक र राष्ट्रिय परिवर्तनमा देखिन्छ, जसले के देखाउँछ भने नेताहरूको प्रभाव युवा अवस्था वा छिटो कदमबाट होइन, स्थायी दृष्टिकोण र नेतृत्व क्षमताबाट मापन गरिन्छ ।
जोन एफ। केनेडी ४३ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेका थिए । उनी उच्च जोखिमपूर्ण परिस्थितिहरूमा आश्चर्यजनक धैर्यता र रणनीतिक क्षमता प्रदर्शन गर्ने नेताका रूपमा चिनिएका छन् । उनमा युवा अनुभवको कमीको आशंका गरिए पनि निर्णायक र साहसीक निर्णय लिन सक्षम भए । विशेषगरी अक्टोबर १९६२ को क्यूबा मिसाइल संकटको समयमा अमेरिकालाई सोभियत संघसँग नाभिकीय संघर्षको सम्भावना रहेको कठिन परिस्थितिसँग जुध्नुपरेको थियो ।
केनेडीले सावधानीपूर्वक विभिन्न विशेषज्ञ र सल्लाहकारहरूसँग परामर्श गरे र कूटनीतिक संयम र दृढताको सन्तुलन राख्दै संकट व्यवस्थापन गरे । उनको युवा दृष्टिकोणले विकल्पहरू विचार गर्न सक्ने क्षमता प्रदान गर्यो । उनले तत्काल सैन्य आक्रमणको सट्टा क्यूबामा नौसैनिक नाकाबन्दी अपनाउने निर्णय लिए । केनेडीले देखाए– प्रभावकारी निर्णय लिनु उमेर मात्रमा निर्भर हुँदैन । यो ज्ञान, स्पष्टता, सोच्न सक्ने क्षमता र दबाबमा पनि विवेकपूर्ण निर्णय लिन सक्ने क्षमतामा निर्भर गर्छ ।
क्यूबा मिसाइल संकटमा केनेडीको नेतृत्व आज पनि जोखिमपूर्ण परिस्थितिमा युवाले पनि सक्षम नेतृत्व देखाउन सक्छ भन्ने उत्कृष्ट उदाहरणका रूपमा मानिन्छ । स्वीडेनका ओलोफ पाल्मेको नेतृत्वलाई लोकतान्त्रिक नेतृत्व र जोखिम लिने दृष्टिकोणको सन्दर्भमा हेर्ने हो भने उनी वास्तवमै प्रेरणादायी उदाहरण हुन् । उनी केवल स्वीडेनमा सामाजिक सुधार र समानता प्रबर्ध्दनमा सीमित थिएनन्, उनले विश्व राजनीतिको संवेदनशील मुद्दाहरूमा पनि साहसी र स्पष्ट दृष्टिकोण प्रस्तुत गरे ।
पाल्मेले दक्षिण अफ्रिकाको रंगभेद प्रणालीको विरोध, भियतनाम युद्धमा अमेरिकी हस्तक्षेपको आलोचना र विकासशील देशहरूमा न्यायपूर्ण आर्थिक नीतिको समर्थन गरेका थिए । यस्तो अन्तर्राष्ट्रिय विवादास्पद विषयमा स्पष्ट आवाज उठाउनु तत्काल लोकप्रियता र राजनीतिक सुरक्षा दुवैमा जोखिमपूर्ण कदम थियो । यद्यपि उनी दृढतापूर्वक आफ्नो मूल्य र दृष्टिकोणमा अडिग रहे । तर उनले निर्णयहरूलाई गणनात्मक जोखिमका रूपमा लिए ।
सत्य र न्यायको पक्षमा उभिने तर स्वीडेनको आन्तरिक स्थिरता र लोकतान्त्रिक प्रक्रियामा खतरा नपुर्याउने संयोजनले उनलाई एक साहसी तर विवेकी नेता बनायो । स्वीडेनमा उनले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र कामदार अधिकारमा सुधार ल्याए, जुन भविष्यका लागि दीर्घकालीन स्थिरता र समानता सुनिश्चित गर्ने रणनीतिक कदम थियो ।
पाल्मेको नेतृत्वले स्पष्ट रुपमा के देखाउँछ भने लोकतान्त्रिक समाजमा प्रभावकारी नेतृत्वका लागि साहस, दृष्टिकोण र जोखिम लिने क्षमतासँगै संयम, गणनात्मक निर्णय र दीर्घकालीन सोच आवश्यक हुन्छ । पाल्मेले सिकाए– अन्तर्राष्ट्रिय विवाद, सामाजिक असमानता र राजनीतिक चुनौतीहरूको सामना गर्न सोच विचारसहितको जोखिम लिनु नै दीर्घकालीन परिवर्तनका लागि प्रभावकारी उपाय हो । स्वीडेनको कल्याणकारी राज्य अवधारणाका प्रवर्तक पेर अल्बिन हान्सनले पाल्मेको सामाजिक लोकतन्त्र, समानता र सार्वभौमिक कल्याण नीतिप्रतिको दृष्टिकोणलाई प्रेरणा दिएका थिए । हान्सनका विचारहरूमा आधारित हुँदै पाल्मेले अझ सक्रिय वैदेशिक नीति र अन्तर्राष्ट्रिय एकतामा जोड दिएका थिए ।
ऐतिहासिक रूपमा दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा भएको परिवर्तन महत्त्वपूर्ण उदाहरण हो । लामो समयसम्म रहेको रंगभेद शासनपछि प्रजातान्त्रिक निर्वाचनमार्फत मण्डेला सत्तामा आए र देशको अन्तर्राष्ट्रिय छवि पूर्ण रूपमा परिवर्तन गरे । उनले मेलमिलाप, समानता र समावेशितालाई प्राथमिकता दिँदै विभाजित समाजलाई एकतामा बाँध्ने काम गरे । नयाँ नेतृत्वले व्यवस्थालाई प्रतिस्थापन गरेर देशको पहिचान र दिशा दुवै परिवर्तन गर्न सक्छ भन्ने यसले देखाउँछ ।
न्युजिल्याण्डकी जेसिन्डा आर्डर्न इतिहासमा सबैभन्दा सफल युवा नेत्री हुन्, जसले कम उमेरमै ठूलो परिवर्तन ल्याएर दीर्घकालीन प्रभाव छोड्न सफल भइन् । उनले ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेर कोभिड–१९ महामारीमा साहसी र निर्णायक कदम चालिन् । अपेक्षाकृत कम उमेरमा नेतृत्व सम्हालेकी आर्डर्नले सहानुभूति, समावेशिता र निर्णायक कार्यशैलीमा आधारित नयाँ दृष्टिकोण प्रस्तुत गरिन् । कोभिड–१९ महामारीको समयमा उनले प्रारम्भिक चरणमै कडा लकडाउन लागु गर्ने साहसीक निर्णय गरिन्, जसले आर्थिक असर पार्न सक्थ्यो ।
यो निर्णय जोखिमपूर्ण हुँदाहुँदै पनि महामारीको प्रारम्भिक प्रभाव नियन्त्रण गर्न सहयोगी बन्यो । यसले सोच विचारसहित लिइएको जोखिमले सकारात्मक परिणाम दिन सक्छ भन्ने देखाउँछ । सावधानीका पनि सीमाहरू हुन्छन् । अत्यधिक ढिलाइले अवसर गुमाउन सक्छ । उदाहरणका लागि, कोभिड–१९ को प्रारम्भिक चरणमा केही लोकतान्त्रिक देशहरूले कडा कदम चाल्न ढिलाइ गरे, जसले संक्रमणलाई फैलिन सहयोग गर्यो । यसले देखाउँछ– अनुभवले कहिले काहीँ नयाँ परिस्थितिमा आवश्यक पर्ने निर्णयलाई ढिला गराउन सक्छ ।
फ्रान्सका एम्मानुएल म्याक्रोनले ३९ वर्षमा राष्ट्रपति बनेर परम्परागत पार्टी प्रणालीलाई चुनौती दिए । म्याक्रोन पनि परम्परागत राजनीतिक संरचनालाई चुनौती दिँदै सुधारवादी एजेन्डासहित सत्तामा आएका थिए । उनले आर्थिक सुधारका लागि लिएका कदमहरू राजनीतिक जोखिमले भरिएका थिए । तर पर्याप्त जनसहभागिता र संवेदनशीलताबिना गरिएका तीव्र सुधारहरूले जनआक्रोश निम्त्याउन सक्छ भन्ने ‘येलो भेस्ट मुभमेन्ट’ले देखायो । यसले जोखिम लिँदा जनभावना, संवाद र समावेशिता अत्यन्त आवश्यक हुन्छ भन्ने पनि सिकायो ।
जर्मनीकी पूर्वचान्सलर एन्जेला मर्केल अनुभवी नेताको अर्को उदाहरण हुन् । उनको नेतृत्व शैली व्यावहारिक र विधिपूर्वक विश्लेषण गर्ने प्रकारको थियो । युरोजोन संकटका बेला उनले अपनाएको सावधानीपूर्ण आर्थिक नीति कतिपयले अत्यधिक सतर्क भएको भन्दै आलोचना गरे पनि यसले युरोपेली संघको स्थिरता कायम राख्न मद्दत गर्यो । उनको निर्णय प्रक्रियाले दीर्घकालीन सोच र अन्तरसम्बन्धको गहिरो बुझाइ झल्काउँछ ।
विश्वव्यापी आर्थिक संकट सन् २००८ पछि बाराक ओबामाको नेतृत्वमा अमेरिकाले बैंक उद्धार र आर्थिक प्रोत्साहनका ठूला कार्यक्रम लागू गर्यो । यी निर्णयहरू जोखिमपूर्ण थिए, किनकि यसले सरकारी ऋण बढाउने र राजनीतिक विवाद निम्त्याउने सम्भावना थियो । तर केही नगर्दा झन ठूलो आर्थिक पतन हुन सक्ने खतरा थियो । त्यसैले नेतृत्वले गणनात्मक जोखिम लिँदै साहसी कदम चाल्यो, जसले अन्ततः अर्थतन्त्रलाई स्थिर बनाउन मद्दत गर्यो र संकटका बेला सन्तुलित तर निर्णायक निर्णय आवश्यक हुन्छ भन्ने देखायो । अर्थनीतिमा पनि जोखिम र सावधानीबिचको द्वन्द्व स्पष्ट देखिन्छ । आर्थिक संकटमा अमेरिकाले ठूलो मात्रामा आर्थिक प्रोत्साहन प्याकेज ल्यायो । यसमा जोखिम थियो, तर यसले अर्थतन्त्रलाई स्थिर बनाउन मद्दत गर्यो । यसबाट के देखिन्छ भने कहिलेकाहीँ ठूलो संकट टार्न साहसीक निर्णय आवश्यक हुन्छ ।
मलेसियाका महाथिर मोहम्मद र अन्वर इब्राहिमको नेतृत्व परिवर्तन उल्लेखनीय छ । इब्राहिमले लामो समयदेखि जरा गाडेको भ्रष्ट राजनीतिक संरचनालाई चुनौती दिँदै सुधारको एजेन्डा अघि बढाएका छन् । नयाँ ऊर्जा र सुधारप्रति प्रतिबद्धतासहित उनले पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणमा जोड दिएका छन् । मलेसियाका हालका नेताहरूले भ्रष्टाचार चुनौतीहरूको सामना गरेका छन् ।
महाथिर मोहम्मदले भ्रष्टाचारविरुद्ध सुधारको पहल गरेका थिए । यद्यपि उनका केही सहकर्मी नजिब रजाक ठूलो काण्डको केन्द्रमा थिए, जसको परिणामस्वरूप उनले सत्ता दुरुपयोग र मनी लन्ड्रिङ्गको मुद्दामा सजाय भोग्नु परेको थियो । इब्राहिमले भ्रष्टाचारविरुद्धको एजेन्डा लिएर सत्ता सम्हालेका हुन्– पारदर्शिता, संस्थागत सुधार र जवाफदेहितामा केन्द्रित, यद्यपि आलोचकहरूले प्रगति क्रमिक रहेको बताउँछन् । वर्तमानमा, मलेसिया विगतका काण्डहरू समाधान गर्दै शासनमा पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न प्रयासरत छ ।
ली क्वान यू २० वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका थिए । सिंगापुरको पहिलो प्रधानमन्त्रीका रूपमा उनले ३५ वर्षको उमेरमा पदभार ग्रहण गरे । उनी सिंगापुरलाई सानो, संघर्षरत उपनिवेशबाट समृद्ध वैश्विक सिटी–स्टेटमा रूपान्तरण गर्ने व्यक्तिका रुपमा चर्चित छन् । उनी जोखिमपूर्ण र साहसी निर्णयहरू लिनका लागि प्रसिद्ध थिए । जस्तैस् कडा भ्रष्टाचार विरोधी उपायहरू लागू गर्न, बहुजातीय नीति अपनाउन र दीर्घकालीन स्थिरतालाई छोटो अवधिको लोकप्रियता भन्दा रणनीतिक आर्थिक सुधारमा ढाल्न उनी कहलिएका छन् ।
ली क्वान यूलेको नेतृत्वले शासनमा स्थायित्व र प्रभावकारिता ल्याएको भएपनि, राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा सीमा लगाइएका कारण लोकतान्त्रिक मानक अनुसार सिंगापुर पूर्ण लोकतान्त्रिक भन्दा बढी सत्तावादी थियो । तथापि, उनको व्यावहारिक नेतृत्वले सिंगापुर स्थिर, व्यवस्थित र विश्वभर सम्मानित राष्ट्र बनेको छ ।
रणनीतिक नेतृत्व
क्रान्तिकारी र रणनीतिक नेतृत्व अन्तरसम्बन्धित छन् । यस सन्दर्भमा हो ची मिन्ह उपयुक्त उदाहरण हुन् । उनी २९ वर्षको उमेरमा भियतनामको स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै राजनीतिमा संलग्न भएका थिए । उनले भियतनामको स्वतन्त्रता र एकता स्थापित गर्न निर्णायक भूमिका निर्वाह गरे । विदेशी साम्राज्यवादी शक्तिहरूसँगको लामो संघर्षमा साहसिक र जोखिमपूर्ण निर्णय लिन कहिल्यै पछि हटेनन् उनी ।
हो ची मिन्ह कठिन परिस्थितिहरूमा पनि रणनीतिक सोच, धैर्यता र दूरदर्शी दृष्टिकोणका साथ सही निर्णय गर्न सक्षम थिए । उनको निर्णय र नेतृत्वले भियतनामलाई फ्रान्स र पछि अमेरिकासँगको संघर्षमा स्वतन्त्रता दिलाउन कद्दत गर्यो । हो ची मिन्ह आज पनि जोखिम बहन गर्न सक्ने र विवेकपूर्ण निर्णय लिन सक्ने कुशल नेताका रूपमा चिरपरिचित छन् ।
माओत्सेतुङले २४ वर्षको उमेरमा विद्यार्थी आन्दोलन र प्रारम्भिक कम्युनिस्ट गतिविधिहरूमार्फत राजनीतिमा संलग्न भएका थिए । उनले साम्राज्यवाद विरुद्धको युद्धमा, विशेषगरी दोस्रो चीन–जापान युद्धको समयमा, महत्त्वपूर्ण योगदान दिएका थिए । माओले कम्युनिस्ट सेनाको नेतृत्व गर्दै ग्रामीण किसानहरूलाई संगठित गरे र आक्रमणकारी जापानी साम्राज्य विरुद्ध गुरिल्ला युद्ध अपनाए ।
माओको जटिल रणनीतिक निर्णय भनेको राष्ट्रवादी शक्तिसँग संयुक्त मोर्चा बनाउँदै, एकातिर जापानविरुद्ध लड्ने र अर्कोतिर आफ्नो राजनीतिक तथा सैनिक प्रभाव विस्तार गर्ने द्वैध नीति अपनाउनु थियो । यसले उनलाई युद्धसँगै आफ्नो शक्ति सुदृढ गर्न सक्षम बनायो ।
नेपाल सरकारले पनि युवा नेतृत्वमार्फत लोकतन्त्र र दिगो विकास सुनिश्चित गर्ने मार्ग रोज्नु पर्ने चुनौती सामना गर्दैछ । यी विश्वव्यापी उदाहरणका बल र कमजोरीबाट युवा प्रधानमन्त्री बालेनले सिक्न सक्छन् । युवा नेतृत्वले साहस र स्पष्ट दृष्टिकोणसहित काम गर्छ भने पुराना भ्रष्ट अभ्यासहरूलाई चुनौती दिँदै प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
निचोडमा आलेखमा उल्लेख गरिएका नेताहरूमध्ये दुई नेताहरू दोहोर्याउन लायक छन् । ती हुन्– ओलाफ पाल्मे र ली क्वान यू । यी दुवै आआफ्ना देशका रूपान्तरणकारी नेताको रूपमा प्रतिष्ठित थिए । पाल्मेले सामाजिक लोकतन्त्र, समानता र अन्तर्राष्ट्रिय एकतामा जोड दिएका थिए । राजनीतिक स्वतन्त्रता र सामाजिक विकास दुवैलाई महत्त्व दिएका थिए । अर्कोतर्फ, ली क्वान यूले साहसीक आर्थिक सुधार र कडा कानूनी प्रावधानमार्फत सिंगापुरलाई समृद्ध राष्ट्रमा रूपान्तरण गरेका थिए । उनको नेतृत्वलाई पश्चिमी मानकअनुसार पूर्ण लोकतान्त्रिक नभएको भन्न सकिन्छ । पाल्मे लोकतन्त्र र विकास सन्तुलनको प्रतीक बनेका छन् भने ली कुआन यूले विकासलाई पूर्ण लोकतन्त्रभन्दा प्राथमिकतामा राखेको देखिन्छ ।
नेपाल सरकारले पनि युवा नेतृत्वमार्फत लोकतन्त्र र दिगो विकास सुनिश्चित गर्ने मार्ग रोज्नु पर्ने चुनौती सामना गर्दैछ । यी विश्वव्यापी उदाहरणका बल र कमजोरीबाट युवा प्रधानमन्त्री बालेनले सिक्न सक्छन् । युवा नेतृत्वले साहस र स्पष्ट दृष्टिकोणसहित काम गर्छ भने पुराना भ्रष्ट अभ्यासहरूलाई चुनौती दिँदै प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । लोकतन्त्रमा नेतृत्व व्यक्तिगत मात्र हुँदैन, यसलाई संस्था, जनमत र विपक्षी शक्तिले प्रभावित पार्छ । त्यसैले जोखिम लिँदा जनताको धारणा र प्रतिक्रिया पनि विचार गर्नुपर्छ । पारदर्शिता र उत्तरदायित्व जोखिम व्यवस्थापनका महत्त्वपूर्ण पक्ष हुन् । सबैभन्दा प्रभावकारी नेता ती हुन्, जसले जोखिम र सावधानीलाई प्रतिस्पर्धी होइन, पूरक रूपमा बुझ्छन्, जहाँ निर्णय प्रमाणमा आधारित हुन्छ, मूल्यमा निर्देशित हुन्छ र आवश्यक परे संशोधन गर्न सकिन्छ ।
यसका लागि विनम्रता, अनुकूलनशीलता र सहकार्य आवश्यक हुन्छ । युवा वा वृद्ध कुनै पनि नेता पूर्ण हुँदैन । परिस्थिति अनुसार निर्णय परिवर्तन गर्न सक्नु र विभिन्न पक्षसँग संवादका गुणहरूले नेतृत्वलाई प्रभावकारी बनाउँछन् । अनुभव र नयाँ ऊर्जाको संयोजन विशेष रूपमा प्रभावकारी हुन्छ । अनुभवी नेताहरूले दीर्घकालीन दृष्टिकोण दिन्छन् भने युवा नेताहरूले नयाँ सोच र परिवर्तनको ऊर्जा ल्याउँछन् ।
दुवैको सहकार्यले सशक्त शासन सम्भव बनाउँछ । प्रश्न जोखिम लिने वा नलिने होइन, कसरी लिने भन्ने हो । लोकतन्त्रमा वैधता जनताको विश्वासमा आधारित हुन्छ, त्यसैले जोखिम व्यवस्थापन अझ महत्त्वपूर्ण हुन्छ । अत्यधिक जोखिमले असफलता निम्त्याउन सक्छ भने अत्यधिक सावधानीले अवसर गुमाउन सक्छ ।
लोकतान्त्रिक समाजलाई त्यस्ता नेताहरू चाहिन्छ, जो साहसीक छन् तर विवेक पनि उत्तिनै पुर्याउँछन् । प्रभावकारी नेतृत्व उमेर वा अनुभवले मात्र निर्धारण हुँदैन । यो साहस र बुद्धिमत्ताको संयोजन हो । लोकतान्त्रिक भविष्यका सम्भावना र सम्भावित जोखिमहरू नियन्त्रण गर्ने विवेकपूर्ण निर्णयहरू लिन सन्तुलित नेतृत्वमा निर्भर हुन आवश्यक हुन्छ ।
(प्राडा मल्ल स्वीडेनको उमिया युनिभर्सिटीका अवकाशप्राप्त प्रोफेसर हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण