बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सलमान खानको नयाँ फिल्म घोषणा : दक्षिण भारतीय निर्देशक र निर्मातासँग पहिलो पटक सहकार्य

मङ्गलबार, १७ चैत २०८२, ०७ : ३८
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • सलमान खानले नयाँ फिल्मको घोषणा गरेका छन्, जसमा वामशी पेडिपल्ली र दिल राजुको सहकार्य रहनेछ।
  • यो फिल्म ठूलो बजेटको एक्सन ड्रामा हुनेछ र अप्रिल महिनादेखि मुम्बईमा छायांकन सुरु हुनेछ।
  • फिल्ममा बलिउड र दक्षिण भारतीय कलाकारहरूको मिश्रण रहनेछ, र सलमान खानलाई नयाँ अवतारमा प्रस्तुत गरिनेछ।

मुम्बई । बलिउड स्टार सलमान खानले आफ्नो नयाँ फिल्मको औपचारिक घोषणा गरेका छन्। यसपटक उनले दक्षिण भारतीय फिल्म उद्योगका चर्चित निर्देशक वामशी पेडिपल्ली र दिग्गज निर्माता दिल राजुसँग हात मिलाएका हुन्।

सोमबार सलमान खान र निर्माण कम्पनी श्री वेंकटेश्वर क्रिएशन्सले सामाजिक सञ्जालमार्फत यस प्रोजेक्टको बारेमा जानकारी दिएका हुन्। ‘एसभीसी ६३’ अस्थायी नाम दिइएको यो फिल्म एक ठुलो बजेटको हाई-अक्टेन एक्सन ड्रामा हुनेछ, जसको छायांकन आगामी अप्रिल महिनादेखि सुरु हुने तय भएको छ।

सलमान खानले निर्देशक वामशी पेडिपल्लीसँगको तस्बिर सेयर गर्दै अप्रिलदेखि काम सुरु गर्न लागेको उल्लेख गरेका छन्। यो एक्सन थ्रिलर फिल्ममा बलिउड र दक्षिण भारतीय फिल्म उद्योगका चलेका कलाकारहरूको समिश्रण रहनेछ।

निर्माण पक्षका अनुसार यस फिल्ममा सलमान खानलाई अहिलेसम्मकै भिन्न र शक्तिशाली अवतारमा प्रस्तुत गरिनेछ, जुन उनका फ्यानहरूका लागि सरप्राइज हुनेछ। फिल्मको सुटिङ भारतका विभिन्न स्थानमा हुने भए पनि अप्रिल १४ देखि मुम्बईमा खडा गरिएको विशेष सेटबाट यसको सुरुवात गरिनेछ।

फिल्मका निर्देशक वामशी पेडिपल्ली दक्षिण भारतीय सिनेमामा भावना र स्टारडमलाई पर्दामा उतार्न सिपालु मानिन्छन्। प्रभासको फिल्म ‘मुन्ना’ बाट करियर सुरु गरेका उनले येवादु र महार्षिजस्ता सुपरहिट फिल्महरू दिइसकेका छन्। उनले महार्षिका लागि प्रतिष्ठित राष्ट्रिय पुरस्कार समेत जितिसकेका छन्। थलापति विजयसँगको उनको पछिल्लो फिल्म वारिसुले पनि बक्स अफिसमा राम्रो सफलता पाएको थियो।

यस फिल्मको निर्माण ६० भन्दा बढी फिल्म बनाइसकेका चर्चित निर्माता दिल राजुले गर्दैछन्। उनले पनि महार्षि र शतमानम भवतिका लागि राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन्। वामशी र दिल राजुको जोडीले यसअघि पाँचवटा फिल्ममा सँगै काम गरिसकेका छन् र उनीहरूको बक्स अफिस रेकर्ड निकै बलियो रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप