शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकीबाट ४३ हजार विद्यार्थीले एसईई परीक्षा दिँदै

बुधबार, १८ चैत २०८२, २० : १६
बुधबार, १८ चैत २०८२

पोखरा । चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशबाट ४३ हजार भन्दा बढी विद्यार्थीले परीक्षा दिँदैछन् । प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक र ग्रेडबृद्धि गरी ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुन लागेको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले जानकारी दिएको छ ।

जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन् । त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङमा ४ हजार २ सय ३९ विद्यार्थी रहेका छन्। त्यस्तै गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी हुनेछन् । 

सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १ सय ८६ जना विद्यार्थीले परीक्षा दिन लागेका छन् । प्रदेशभर १ सय ८७ वटा परीक्षा केन्द्र तोकिएको छ भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको महाशाखाले जनाएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ । 

सामाजिक विकास मन्त्रालयले एसईई परीक्षालाई विद्यार्थीमैत्री, सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाहरूलाई समन्वय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । प्रदेशभर केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षाकर्मीहरूलाई परीक्षा वातावरण बालमैत्री बनाउन, अनावश्यक कडाइ वा त्रास नदेखाउन तथा परीक्षार्थीको गोपनीयता कायम गर्न निर्देशन दिइएको छ । परीक्षा केन्द्रमा स्वच्छ खानेपानी, शौचालय, सेनिटरी प्याड र प्राथमिक उपचारको व्यवस्था अनिवार्य गरिएको छ । 

नक्कल तथा नक्कली परीक्षार्थी नियन्त्रणमा सजग रहन र परीक्षा आचारसंहिता पूर्ण रूपमा पालना गराउन मन्त्रालयले जोड दिएको छ । सरोकारवाला सबै पक्षको सहकार्य, जिम्मेवारी र संवेदनशीलताबाट मात्रै एसईई परीक्षा सफल, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सकिने महाशाखाले जनाएको छ । यो वर्षको एसईई परीक्षा २०८२ चैत १९ गतेदेखि २९ गतेसम्म हुँदैछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप